१५६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १३ शुक्रबार, ०८:०५ बजे

‘विद्यार्थी संगठन दबाब सिर्जना गर्ने समूह मात्र हो’

Image

– कैलाशचन्द्र गिरी (उपाध्यक्ष)
अखिल क्रान्तिकारी कञ्चनपुर
विद्यालय सुधारका लागि सरकारले थुप्रै ऐन, नियम, निमावली बनाएको छ । सरकारी नियम अन्तर्गत नै विद्यालय सञ्चालन भइरहेका छन् । तरपनि नेपालको शिक्षा प्रणालीलाई सरकारले नियम अन्तर्गत बाध्न सकेको छैन । निजी विद्यालय त परै जाओस्, सामुदायिक विद्यालयमै मनपरीको खबर बेलाबेला सार्वजनिक भइरहन्छन् ।

विद्यालय शिक्षाको गुणस्तर त खस्कँदो अवस्थामा छँदैछ । मनोमानी पनि बढेको छ । सरकारले प्रदान गर्ने छात्रवृत्ति समेत विद्यार्थी पाउँदैनन् । विद्यालयमा राजनीति व्याप्त छ । यी गतिविधि नियन्त्रणका लागि विद्यार्थी संघसंगठनको भूमिका समेत महत्वपूर्ण हुन्छ । उनीहरू विद्यार्थीका प्रतिनिधि हुन् । त्यसैले कञ्चनपुरमा विद्यार्थी राजनीतिको सवालमा केन्द्रीत रहेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीसँग पत्रकार प्रमोद लुहारले गरेको कुराकानीको सम्पादित अशं :

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ?
– विद्यार्थी नेता भएको हैसियतले शैक्षिक विकृति र विसंगति अन्त्यका लागि लागिपरेका छौं । साथै, बेलाबेलामा आन्दोलन, पढाइ र सामाजिक कार्यमा व्यस्त छु ।

विद्यार्थी राजनीतिको आवश्यकता किन ?
– नेपालको इतिहासमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको छ । राजनीतिक परिवर्तन सामाजिक, शैक्षिक, आन्दोलन रहेका छन् । कञ्चनपुरको हकमा हरेक सवालमा आवाज उठाएका छौं । शैक्षिक मुद्दा, विकृति विसंगति, मूल्य वृद्धिका आन्दोलन, सीमा सम्बन्धी, सरकारी कार्यालयले जनताको जनभावना विपरित काम गरेको छ भने त्यसको खबरदारी गर्ने काम पनि विद्यार्थी संगठनले गरेका छन् । विशेषगरी शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगति कसरी आमूल परिवर्तन गर्न सकिन्छ भन्ने विद्यार्थी संगठन त्यतातिर लागेको छ ।

विद्यार्थी राजनीति आवश्यकता अनुसार नै अगाडि बढिरहेको छ र ?
– हामी नीति निर्माण गर्ने तहमा छैनौं । विद्यार्थी संगठन भनेको दबाब दिने समूह हो । हामी सम्बन्धित निकायलाई दबाब दिन लागिरहेका छौं । हरेक क्षेत्रमा विकृति र विसंगति छ । हामी खबरदारी गरिरहेका छौं । त्यसविरुद्ध आवाज उठाउँदै आएका छौं । जहाँ समस्या देखेका छौं, गलत छ । ती समस्यासँग सम्बन्धित आवाज उठाएर झक्झक्याउने काम विद्यार्थी संगठनले गर्ने गरेको छ ।

कञ्चनपुरमा शैक्षिक समस्या कस्ता छन् ?
– कञ्चनपुर जिल्ला मात्रै होइन, देशभर नै शैक्षिक क्षेत्रमा देखापरेको समस्या भनेको शिक्षामा विभेद हो । निजी शिक्षा र सरकारी शिक्षा भन्ने जुन विभेद गरिएको छ, निजी शिक्षालाई पूर्णरुपमा बन्द गरिनुपर्छ भन्ने हाम्रो माग हो । एउटै शिक्षामा एउटा राम्रो कलेजमा पढिरहेका छन्, अर्काे व्यक्ति साधारण स्कूलमा समेत पढ्न नपाउने स्थिति रहेको छ । त्यसकारण मुलुकमा एउटै शिक्षा प्रणाली लागू हुनुपर्ने हाम्रो माग हो । यसविरुद्धमा पनि अखिल क्रान्तिकारीले आवाज उठाउँदै आएको छ ।

कञ्चनपुरको शैक्षिक समस्या अवैधानिक रुपमा सञ्चालन गरेका बोर्डिङ स्कूल रहेका छन् । ती स्कूललाई नियन्त्रण गरेका छौं । छात्रवृत्ति र भवन निर्माणका क्षेत्रमा पनि समस्या रहेका छन् । विद्यालयबाट पाइने सुविधा विद्यार्थीले पाएका छैनन् । ती सुविधा नपाएको त्यसकाविरुद्ध जिल्ला शिक्षा कार्यालयलाई पनि खबरदारी गरेका छौं । जुन हुनेखाने परिवारको मात्र शिक्षा क्षेत्रमा पहुँच हुने स्थिति देखिएको छ, शिक्षा भनेको सबैको मौलिक हक हो, सबैको नजरमा शिक्षा समान हनुपर्छ, शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्ने हाम्रो माग हो ।

निजी विद्यालयले मनोमानी शुल्क लिन छोडेनन् है ? कसरी समाधान हुन्छ समस्या ?
– निजी विद्यालय वर्गीकरण गर्ने व्यवस्था छ । तर, कञ्चनपुरमा लागू भएको छैन । विद्यालयलाई भवन, सेवासुविधाको आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा वर्गीकरण गर्ने व्यवस्था भएपनि कञ्चनपुरमा मनोमानी भएको छ ।
सेवासुविधा अनुसार वर्गीकरण हुन नआउने तर, शुल्क मनोमानी ढंगबाट लिने गलत प्रवृत्ति रहेको छ । त्यसका लागि जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्‍यो भने सुधार हुन्छ । यसमा पनि विद्यार्थी संगठनले धेरै पटक आन्दोलन गर्दै आएको छ । तर, समस्याको समाधान हुन सकेको छैन । समस्या समाधानका लागि जिल्ला शिक्षा कार्यालयले पनि निजी शैक्षिक संस्थालाई वर्गीकरण गर्नु जरुरी छ । शैक्षिक शुल्कको हिसाबमा जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्नुपर्छ । विद्यालयको अनुगमन गर्न आवश्यक छ ।

निजी विद्यालयले गत वर्षसम्म लिइरहेको शुल्क मात्र लिनुपर्छ भन्ने पहिला सहमति भएको थियो । जिल्ला शिक्षा कार्यालयले असार मसान्तसम्ममा अनुगमन गरेर निजी विद्यालयलाई वर्गीकरण गरिसक्ने र त्यसपछि शुल्क निर्धारण समिति गठन गरेर वर्गीकरणका आधारमा शुल्क निर्धारण गरिनुपर्ने सम्झौता भएको थियो । यसमा अभिभावकको पनि कमजोरी रहेको छ । विद्यालयले जति शुल्क तोके पनि तिर्न तयार भइरहेका छन् । यसमा अभिभावकले पनि चनाखो हुनु जरुरी छ । निजी शैक्षिक संस्थाले मनोमानी गरिरहेका छन् । टाई, डे«स, बेल्ट कपीसम्म स्कूलबाट बेच्ने प्रवृति छ ।

अब संयुक्त अनुगमन कहिले हुन्छ ?
– २०७१ सालतिर संयुक्त अनुगमन गरेका थियौं । अनुगमन गरिसकेपछि जिल्ला शिक्षा कार्यालयलाई त्यसको प्रतिवेदन पनि बुझाएका छौं । केन्द्रमा संवाद समिति, संयुक्त विद्यार्थी संगठन, शिक्षा मन्त्रालय र प्याब्सन, एनप्याब्सन समावेश भएको समन्वय समिति गठन गरेर अनुगमन गर्ने र रिपोर्टमा छलफल गर्ने भनेका थियौं । विद्यार्थी संगठनले पनि अनुगमन गरेको छ । यसमा जिल्ला शिक्षा जिम्मेवार भइदिए समस्याको समाधान हुन सक्छ जस्तो लाग्छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बेलाबेला किन विवाद आउँछ ?
– सुदूरपश्चिमेली जनताको लामो संघर्ष, बलिदान, त्याग र तपस्याबाट विश्वविद्यालय स्थापना भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि अखिल क्रान्तिकारीले थुपै्र संघर्ष गरेको थियो । पछिल्लो समय विश्वविद्यालयलाई कोही जागिर खाने र कोही जागिर बचाउन उपयोग गर्दै आएका छन् । यसविरुद्ध अखिल क्रान्तिकारी निरन्तर आन्दोलन गर्दै आएको छ ।

भिसी र रजिस्ट्रारलाई डेलिकेसन बुझाएका छौं । सबैभन्दा बढी जिम्मेवार भिसी र रजिस्ट्रार हुनुपर्ने हो । उनीहरू आयातीत रुपमा महिनामा २८ दिन काठमाडौं बस्छन्, २ दिन मात्र कञ्चनपुरमा बस्ने प्रवृति छ । यसले गर्दा विश्वविद्यालय धरासायी भएको छ । उनीहरू सुप विश्वविद्यालय बनाउनका लागि होइन, जागिर खान मात्र आएका छन् । माथिल्लो तहकोे नेतृत्वले पनि ध्यान दिएको छैन ।

विश्वविद्यालय पदाधिकारीविहीन भएको वर्षाै भइसकेको छ । भर्खरै मात्र डीन नियुक्ति भएका छन् । त्यसमा पनि विवाद सिर्जना भएको छ । विश्वविद्यालयको वृद्धि र विकासमा सहयोग गर्ने मान्छे डीन नियुक्त गर्नुपर्छ । क्षमता, योग्यताको आधारमा डीन नियुक्ति गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो संगठनले राजनीतिक भागबण्डा गर्नु हुन्न भन्ने माग राख्दै आएको छ । विश्वविद्यालयमा समायोजनका लागि कसैले ध्यान दिएको छैन । बरु समायोजनको विरोधमा रहेकालाई नै डीन नियुक्त गरिएको छ । त्यस्ता व्यक्तिले कसरी विश्वविद्यालयलाई अगाडि बढाउन सक्छन् ?

विश्वविद्यालयको अबको निकास के हो ?
– विश्वविद्यालयको अबको निकास भनेको सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्छ । रजिस्ट्रार र भिसीले विश्वविद्यालयलाई मनोमानी ढंगले होइन, नियम अनुसार सञ्चालन गर्नुपर्छ । रजिस्ट्रार र भिसी जिम्मेवार भइदिनुपर्‍यो । विश्वविद्यालयको वृद्धि र विकास योग्यतावान, क्षमतावान भएको व्यक्तिलाई नियुक्ति गरेर अगाडि बढनुपर्छ । तब मात्र विश्वविद्यालयले प्रगति गर्न सक्छ । सही मान्छेलाई सही ठाउँमा राख्यांै भने र सबैले आ–आफ्नो ठाउँबाट विश्वविद्यालय सुधारमा लाग्नुपर्छ । प्राध्यापकले नियमित रुपमा पढाउनु पर्‍यो ।

विद्यार्थी नेताले पनि त स्वार्थपूर्तिका काम गरिरहेको आरोप लाग्दै आएको छ नि ?
– ती सबै कुरा हल्ला मात्र हुन् । विद्यार्थी नेता कुनै नीति निर्माणको तहमा बसेका छैनन् । विद्यार्थी संगठन भनेको दबाब सिर्जना गर्ने समूह मात्र हो । खबरदारी गरिरहेका छौं । कसैले आफ्नो स्वार्थपूर्तिका लागि काम गर्‍यो भन्ने कुरा सरासर गलत हुन् । हाम्रो संगठनका कोही साथीले गलत काम गर्नुभएको छ भने प्रमाण ल्याउनुहोस् । हामी जनतामाझ उभिन तयार छु । हामी त शैक्षिक समस्यालाई समाधान गर्न आवाज उठाइरहेका छौं । हाम्रो मिसन भनेको समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ । यस्ता कार्यमा लाग्दा–लाग्दै पनि काम गर्दागर्दै पनि विद्यार्थी संगठनलाई २–४ आरोप लाग्नु पनि स्वभाविक पक्ष हो ।

शैक्षिक बाहेक अन्य समस्या पनि त छँदैछन् नि है ?

– विद्यार्थी संगठनले जहाँ गलत, अन्याय, अत्याचार, विकृति भइरहेको छ, त्यहाँ हाम्रो विद्यार्थी संगठनले आवाज उठाउँदै आएको छ । महाकाली अञ्चल अस्पतालको अवस्था विजोग रहेको छ । अस्पतालको सुधारका लागि हामी पटक–पटक माग गर्दै आएका छौं । अञ्चल अस्पतालमा डाक्टर कसरी टिक्न सक्छन् ? दरबन्दी कसरी ल्याउन सकिन्छ ? त्यसतर्फ पहल गर्न आवश्यक छ । महाकाली अस्पताललाई ‘रिफरल’ सेन्टरको रुपमा स्थापना गर्न आवश्यक छ । विद्यार्थी नेता भनेको दबाब सिर्जना गर्ने समूह हो, जहाँ गलत भइरहेको त्यहाँ खबरदारीको काम गरिहरेका छौं ।


About Author
-प्रमोद लुहार

सम्बन्धित