६११ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १३ , ०७:४१ बजे

कर्मचारीको पर्खाइमा जनप्रतिनिधि

Image

महेन्द्रनगर । स्थानीय तह निर्वाचनपछि वडा तहसम्म जनप्रतिनिधि निर्वाचित भएपनि वडा कार्यालय सञ्चालन गर्न कर्मचारी अभाव देखिएको छ ।

वडा कार्यालयमा कर्मचारी अभाव हुँदा नवनिर्वाचित जनप्रतिनिधि कर्मचारीको पर्खाइ गरिरहेका छन् ।कञ्चनपुरका स्थानीय तहले कर्मचारीको अभावमा सबै वडामा कार्यालय खोल्न सकेका छैनन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये ८ स्थानीय तहले संयुक्त वडा कार्यालयबाट कार्यसञ्चालन गरिरहेका छन् । लालझाडी गाउँपालिकाबाहेक भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका, महाकाली नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाँडी गाउँपालिकामा संयुक्त वडा कार्यालयबाट सेवाग्राहीलाई सेवा दिइरहेका छन् । स्थानीय तह कार्यान्वयनमा आएपछि हरेक वडामा छुट्टाछुट्टै वडा कार्यालय स्थापना भएर सेवा दिनुपर्ने हो । लालझाडीका सबै ६ वडामा भने वडा कार्यालय खुलिसकेका छन् ।

कञ्चनपुरका ९ वटै स्थानीय तहमा सचिव, प्रशासकीय सहायक (नासु÷खरिदार स्तर) र कार्यालय सहयोगी गरी २ सय १२ कर्मचारीको अभाव रहेका सम्बन्धित कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिकामा ३८ जना कर्मचारीको आवश्यकता छ । जसमा कार्यालय सहयोगी १९ र १९ जना प्रशासनिक सहायकको अभाव रहेको भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताए । ‘वडा सचिवको अभाव छैन,’ उनले भने, ‘भीमदत्त नगरपालिकाका सबै वडामा वडा कार्यालय खोल्ने कार्य भइरहेको छ ।’

कृष्णपुर नगरपालिकामा १५ जना कर्मचारीको अभाव रहेको छ । वडा सचिव ६ जना, प्रशासनिक सहायक ५ जना र कार्यालय सहयोगी ४ जनाको अभाव रहेको कृष्णपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरले बताए । आवश्यक कर्मचारी नहुँदा सबै वडामा वडा कार्यालय खोल्न नसकिएको उनले बताए । ‘अहिले संयुक्त वडा कार्यालयबाट काम भइरहेको छ । कर्मचारी नहुँदा वडा कार्यालय खोल्न पनि ढिलाइ भइरहेको छ,’ उनले भने, ‘जिल्ला कर्मचारी व्यवस्थापन समितिले १ जना कर्मचारी पठाएका छ । समितिले अरु २÷४ दिनमा पठाउँछौं भनेको छ ।’

शुक्लाफाँटा नगरपालिकामा २६ जना कर्मचारीको अभाव छ । शुक्लाफाँटा नगरपालिकामा ८ जना वडा सचिव, १० जना प्रशासन सहायक र ८ जना कार्यालय सहयोगीको अभाव रहेको शुक्लाफाँटा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए । उनका अनुसार कर्मचारीको अभावमा सबै वडामा वडा कार्यालय स्थापना गर्न सकिएको छैन । कर्मचारी व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको कर्मचारी व्यवस्थापन समितिसँग कर्मचारीको व्यवस्थापन गरिदिन माग गरेको उनले बताए ।

महाकाली नगरपालिकामा २६ जना कर्मचारीको आवश्यकता रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । महाकाली नगरपालिकामा प्रशासन सहायक १० जना, वडा सचिव ८ जना र कार्यालय सहयोगी ८ जनाको आवश्यकता रहेको महाकाली नगरपालिकाका सूचना अधिकारी रघुनाथ भट्टले बताए । पुनर्वास नगरपालिकामा २८ जना कर्मचारीको अभाव छ । जसमा ११ जना वडा सचिव, ११ जना प्रशासन सहायक र ९ जना कार्यालय सहयोगीको अभाव रहेको पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत अर्जुनबहादुर कार्कीले बताए । कर्मचारी नहुँदा संयुक्त वडा कार्यालय खोलेर नगरपालिका र सयुक्त वडा कार्यालयका कर्मचारीले सेवा दिनुपरेको उनले बताए ।

बेदकोट नगरपालिकामा २४ जना कर्मचारीको अभाव छ । जसमा वडा सचिव ९ जना, प्रशासन सहायक ७ जना र कार्यालय सहयोगी ८ जनाको आवश्यकता रहेको लालझाडी गाउँपालिकाका कार्यकारी अधिकृत प्रेमबहादुर सिंहले बताए । बेलौरी नगरपालिकामा ३० जना कर्मचारीको अभाव रहेको छ । नगरपालिकामा कार्यालय सहयोगी १०, वडा सचिव १० जना र १० जना प्रशासकीय सहायक नभएको नगरपालिकाका कर्यकारी अधिकृत नरबहादुर विकले बताए । ‘कर्मचारी नहुदा संयुक्त वडा कार्यालय सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘नगरपालिकामा कर्मचारी नहुँदा संयुक्त वडा कार्यालयबाट सेवा दिइरहेको छौं ।’ वडामा पनि नगरपालिकाका कर्मचारीले सेवा दिइरहेका उनले बताए । उनका अनुसार नगरपालिकाले १ वर्षसम्म कर्मचारी भर्ना गर्न नमिल्ने भएकाले पनि समस्या भएको छ ।

बेल्डाडी गाउँपालिकामा १५ जना कर्मचारीको आवश्यकता रहेको छ । ५ जना सचिव, ५ जना कार्यालय सहयोगी र ५ जना प्रशासन सहायक कर्मचारीको आवश्यकता परेको गाउँपालिकाका कार्यकारी अघिकृत धर्मराज जोशीले बताए । कर्मचारी नहुँदा वडा कार्यालय समेत खोल्न नसकिएको उनले बताए । ‘वडाबाट गर्नुपर्ने काम पनि गाउँपालिकाबाट गर्नुपर्नेे बाध्यता रहेको छ,’ उनले भने । स्थानीय तहमा कर्मचारी पठाउने काम भइरहेको जिल्ला कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । ‘छिट्टै सबै स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरिने छ,’ उनले भने ।