१४१२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १३ , ०७:०५ बजे

महाकाली अञ्चल अस्पतालमा सर्पदंशका बिरामी बढे

Image

महेन्द्रनगर । महाकाली अञ्चल अस्पतालमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको छ ।

असारदेखि हालसम्म अञ्चल अस्पतालमा ४४ जना शर्पदंशका बिरामी उपचारका लागि पुगेको अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले असारमा १८ जना शर्पदंशका बिरामी उपचारका लागि आएकोमा साउन महिनाको सुरुदेखि बिहीबारसम्म २६ जना बिरामी अस्पताल पुगेका बताए । ‘अस्पतालमा आएका ४४ जनामध्ये ५ जनालाई उपचारका लागि अन्यत्र पठाइएको र बाँकीको अञ्चल अस्पतालमै उपचार भएको छ,’ उनले भने ।

वर्षात्को समयमा घर वरिपरि सरसफाइको कमी तथा पानी जम्नु, असुरक्षित बसाइँ लगायतका कारण सर्पदशंका बिरामी बढेको हुन सक्ने सूचना अधिकारी अवस्थीले बताए । वर्षात्को समयमा झाडापखाला, भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्यामा पनि वृद्धि भएको अस्पतालले जनाएको छ । अहिले दैनिक रुपमा १ सय ५० देखि २ सयसम्म झाडापखला, भाइरल ज्वरो र टाइफाइडको संक्रमण भएका बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी अवस्थीले बताए ।

गत असार महिनामा २ हजार ५ सय ५२ र साउनमा २ हजार १ सय १ जनाले सामान्य चेकजाँच गराएको उनले बताए । अञ्चल अस्पतालले उपचार भएका बिरामीमध्ये अपाङ्गता भएका, असहाय, एकल महिला, घरबारविहीन र ज्येष्ठ नागरिकलाई मात्र निःशुल्क औषधि उपलब्ध गराउने गरेको अवस्थीले बताए ।