३६४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १२ , १७:४४ बजे

‘छाडा पशुचौपाया व्यवस्थापन सबैभन्दा ठूलो समस्या’

Image

– प्रमानन्द जोशी (वडाध्यक्ष)
भीमदत्त नगरपालिका–१० कञ्चनपुर
स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाएपछि सर्वसाधारणमा आशा र अपेक्षा बढेका छन् । जनप्रतिनिधिसँग स्थानीय तहको विकास र समृद्धिका एजेण्डा र चुनावी अभियानका क्रममा गरेको वाचा पूरा गर्ने योजना के छ ? यसै सन्दर्भमा पत्रकार भवानीदत्त भट्टले भीमदत्त नगरपालिकाको १० नम्बर वडाका वडाध्यक्ष प्रमानन्द जोशीसँग गरेको कुराकानीको सम्पादित अंश:

जितलाई कसरी लिनुभएको छ ?
– यो जितलाई हामीले जनताको जितसँगै परिवर्तन र विकास चाहने जनताको विजयको रुपमा लिएका छौं । निर्वाचनका बेला विकास गर्ने उद्घोष गरेका थियौं । अबको ५ वर्षभित्र एजेण्डा पूरा गर्न हामी लागिरहने छौं ।

मतदाताले किन र कसरी विश्वास गरे भन्ने ठान्नुहुन्छ ?
– विगत लामो समयदेखि एमालेको वडा तहदेखि नै काम गर्दे आएको छु । समाजमा जनताका थुप्रै समस्या उठान गर्ने काम पनि मैले गरेको छु । समाजमा हुने हरेक काममा मेरो संलग्नता र प्रतिवद्धता हुन्थ्यो । त्यही भएर मतदाताले मलाई विश्वास गर्नुभएको हो । मतदाताले मलाई इमान्दार र सक्षम कार्यकर्ताको रुपमा चिनेकाले अहिलेको परिणाम देखापरेको हो ।

अबका विकास योजना ?
– भीमदत्त नगरपालिका–१० धेरै विकट छ । यहाँ थुप्रै समस्या रहेका छन् । बाढी पहिरोको समस्या एकातिर छ भने धेरै ठाउँमा सडक पुगेको छैन । सिँचाइको समस्या छ । घाडीघाचदेखि लिएर राजमार्गसम्म छुने वडा हो । स–साना बजार पनि बस्दैछन् । तर, बजार पनि अव्यवस्थित रुपमा बनिरहेका छन् । घाडीघाचमा सिँचाइ र खानेपानीको समस्या रहेको छ ।

सडक नै नभएपछि जनतालाई सास्ती भइरहेको छ । त्यसैले सबैभन्दा पहिले प्रत्येक घरसम्म सडक पुर्‍याउन पहल गर्ने छौं । खानेपानीको समस्या भएको ठाउँ र असिञ्चित भूमिमा भूमिगत सिँचाइ योजना लागू गरिने छ । कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिकरण गर्न हाम्रो पहलकदमी रहने छ । हामीले भीमदत्तलाई समृद्ध बनाउन चाहेका छौं । जनता समृद्ध हुन कृषिमा आधुनिकीकरण गरिनुपर्छ । कृषिलाई व्यवसायिकरण गरिनुपर्छ । भीमदत्तमा छाडा पशुको समस्या रहेको छ । त्यसका लागि पशुपालनमा आधुनिकीकरण गरिनुपर्छ । कृषिका लागि पकेट क्षेत्र स्थापना आवश्यक छ ।

चुनावी वाचा पूरा गर्ने आधार के छन् ?
– हामी प्रयत्न गर्ने छौं । जनताले साथ दिएमा हामी ५ वर्षमा सबै समस्याको समाधान गर्न सक्छौं । जनताले धेरै ठूलो कुरा खाजेकै छैनन् । जनताले खोजेको नगरपालिकाका सडक व्यवस्थित हुनुपर्‍यो । खानेपानीसँगै विद्युत् हुनुपर्‍यो अनि सिँचाइ सुविधा हुनुपर्‍यो भन्ने हो । यी पूर्वाधार पूरा गर्न हामी प्रतिवद्ध छौं ।

तपाईको राजनीति यात्राबारे बताइदिनुस् न !
– म सानै उमेरदेखि राजनीतिमा चासो दिन्थे । स्कूले जीवनदेखि नै म राजनीतिमा लागे । पहाडमा बस्दा हामी बहुदलवादी भएर राजनीतिमा होमिएका थियौं । २०४६ सालको आन्दोलनको अगुवाई गर्ने केही नेताहरू हुनुहुन्थ्यो, उहाँहरूलाई सहयोग गरेर आन्दोलनमा लागेका थियौं । २०४९ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरे, त्यति बेलादेखि नै म एमालेको इमान्दार कार्यकर्ताको रुपमा कार्य गर्दै आए । अहिले म वडा कमिटीदेखि नगर कमिटी, क्षेत्रीय कमिटी, इलाका कमिटी हुँदै जिल्ला कमिटीमा पुगेको छु । राजनीतिमा परिर्वतन आवश्यक छ । जनताले परिवर्तन खोजेका छन् । म पनि परिर्वतन हुनुपर्छ भन्ने सोचका साथ राजनीतिमा लागेको हुँ ।

राजनीतिक दलमा आवद्ध भएर काम गर्दा र जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो हुँदैछ ?
– राजनीतिक दलको कार्यकर्ता भएर काम गर्दा एउटा राजनीतिक पार्टीमा मात्रै केन्द्रित भएर लागेको थिए । अहिले जनप्रतिनिधिको रुपमा काम गर्दा म एमाले मात्रै रहेन, सम्पूर्ण जनताको प्रतिनिधि भएको छु । पार्टी होइन, जनताप्रति उत्तरदायी भएको छु । जनताको भावनालाई समेटेर अगाडि बढ्नुपर्छ । सबैलाई समेटेर अगाडि बढ्ने वाचा गर्छु ।

तपाईको वडा भारतसँग सीमा जोडिएको क्षेत्र छ । अन्तर्राष्ट्रिय सीमा सम्बन्धलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– हो, भीमदत्त नगरपालिका–१० सँग अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । सुरक्षादेखि हरेक दृष्टिले सीमा क्षेत्र संवेदनशील मानिन्छ, भूमि दशगजामा जोडिएको छ । गड्डाचौकीदेखि ब्रम्मदेवसम्मको सडकमा दशगजा क्षेत्र रहेकाले कालोपत्रे हुन सकेको छैन । अन्य ठाउँमा भने कालोपत्रे भइसकेको छ । भारतले दशगजा क्षेत्रमा कालोपत्रे गरिनुहुन्न भनेपछि त्यसै छोडिएको छ । अहिले दशगजा क्षेत्रमा सडक बनाउन पनि समस्या हुन सक्ने अवस्था रहेको छ ।

गड्डाचौकीदेखि जिमुवासम्म जोड्ने ठाउँमा पनि दशगजा क्षेत्रमा थुप्रै लाइन लिएर बसेका छन् । त्यहाँ सडक नै छैन । त्यहाँका जनता दशगजा क्षेत्रको भारतको सडक भएर हिँड्न बाध्य छन् । यसका लागि पहल गर्ने छौं । दशगजामा कसरी सडक छुट्याउने भनेर पहल गर्ने र्छौं । अन्तर्राष्ट्रिय सवालको विषय भएकाले यो समस्या स्थानीय स्तरभन्दा पनि केन्द्रबाट कुटनीतिक ढंगबाट समाधान गरिनुपर्छ ।

वडाबाट कस्ता योजना जाँदैछन् नगर सभामा ?
– छाडा पशुचौपाया व्यवस्थापन १० नम्बर वडामा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । यो कञ्चनपुरकै समस्या हो । तर, हाम्रो वडामा झनै समस्याको रुपमा रहेको छ । यसैगरी सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइका योजनालाई प्राथमिकता दिने छौं ।