८६० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १२ , १६:१३ बजे

भीमदत्त नगरपालिकाका २० प्रतिशत योजना अधुरै

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ मा ८० प्रतिशत विकास योजना मात्र सम्पन्न गरेको छ । बाँकी २० प्रतिशत योजना पूरा हुन नसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका सडक कालोपत्रे, भवन निर्माण लगायतका विकासे योजनाको ८० प्रतिशत काम सम्पन्न भएको हो । १ सय १० योजनामध्ये ८८ योजनाको काम सम्पन्न भएको इन्जिनियर ऐरले जानकारी दिए । ‘उपभोक्ता समिति र ठेक्कामार्फत् सञ्चालन गरिएका योजनामा अब २२ योजना आगामी वर्षका लागि म्याद थपको प्रक्रियामा रहेका छन्,’ उनले भने ।

कुल लागत १० करोड ५५ लाख ३५ हजार रहेका १ सय १० वटै योजनामध्ये ९ करोड २९ लाख रुपैयाँ बराबरको लागत रहेका ३५ योजना ठेक्कामार्फत् सञ्चालन भएका तथा १ करोड २६ लाख ३५ हजार लागत बराबरका ७५ योजना उपभोक्ता समितिबाट सञ्चालन गरिएको इन्जिनियर ऐरले बताए । जसमध्ये ठेक्का प्रक्रियामार्फत् सञ्चालनमा रहेका २४ योजनाको काम सम्पन्न भएको तथा ११ योजना अर्को आर्थिक वर्षको लागि सरेका छन् ।

उपभोक्ता समितिबाट सञ्चालित ६४ योजनाको काम सम्पन्न भएको तथा ११ योजना अर्को आर्थिक वर्षको लागि सरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा सम्झौता भएर ठेक्कामार्फत् सञ्चालन रहेका १६ योजनाको काम पनि सम्पन्न भएको भीमदत्त नगरपालिकाको योजना शाखाले जनाएको छ ।

नगर क्षेत्रमा ८ किलोमिटर सडक कालोपत्रे
गत आर्थिक वर्ष २०७३/७४ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाको ८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाले आफ्नै लागतमा नगर क्षेत्रको झन्डै ९ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य भएकोमा ८ किलोमिटर कालोपत्रे गरिएको भीमदत्त नगरपालिकाका इन्जिनियर ऐरले बताए ।

गत आर्थिक वर्षमा नगरपालिकाकै लागतमा नगर क्षेत्रको ७ दशमलव २ किलोमिटर सडक ग्राभेल गरिएको उनले बताए । नगरपालिकाले यसअघि कालोपत्रे भइसकेको २० हजार ९ सय ५८ वर्गमिटर सडक पनि मर्मत गरेको जनाइएको छ । इन्जिनियर ऐरका अनुसार सडक मर्मतमा १ करोड रुपैयाँ खर्च भएको छ ।

 


About Author
-मानसखण्ड