८७० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ११ , १०:५२ बजे

‘सुदूरपश्चिममा पर्यटन व्यवसायका लागि उत्कृष्ट स्थान छन्’

Image

– माधवप्रसाद जोशी (सदस्य),
नेपाल उद्योग वाणिज्य महासंघ, ७ नम्बर प्रदेश
महेन्द्रनगरका माधवप्रसाद जोशी व्यापारी हुन् । महेन्द्रनगरमा उनको ट्रेडिङ र कपडाको व्यवसाय छ । जोशी कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् उद्योग वाणिज्य महासंघ ७ नम्बर प्रदेशका सदस्य पनि हुन् । उनले २०५६ सालबाट कपडाको व्यवसाय थालेका हुन् ।

पछिल्लो समयमा उनले पतंजलिले उत्पादन गरेका वस्तुको व्यापार पनि थालेका छन् । कञ्चनपुर, दार्चुला र बैतडीमा जोशीको पतंजलिको व्यापार छ । सुदूरपश्चिममा व्यवसायिक क्षेत्रको अवस्था र सम्भावनाबारे व्यापारी माधवप्रसाद जोशीसँग पत्रकार होम योगीले गरेको कुराकानीको सम्पादित अंश :

सुदूरपश्चिममा पतंजलिका वस्तुको व्यापारको सम्भावना कस्तो छ ?
– सुदूरपश्चिममा पतंजलिको व्यवसाय बढिरहेको छ । आयुर्वेदमा आधारित धेरै उत्पादन भएकाले उपभोक्ताले रुचाएका छन् । त्यसकारण सुदूरपश्चिममा पतंजलि व्यवसायको राम्रो सम्भावना छ । पतंजलिले नेपालमा वीरगञ्जबाट उत्पादन गरिरहेको छ । पतंजलिले प्रत्येक प्रदेशमा १–१ युनिट सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको छ । त्यसमा सुदूरपश्चिम प्राथमिकतामा पर्छ ।

पतंजलिका उत्पादनको व्यापारसँगै सुदूरपश्चिममै वस्तु उत्पादनको सम्भावना कत्तिको छ ?
– सुदूरपश्चिम जडीबुटीका हिसाबले अग्रस्थानमा रहेको छ । त्यसकारण सुदूरपश्चिममा पतंजलिको उद्योग सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । हाल वीरगञ्जमा उत्पादन हुन नसकेका वस्तु भारतको हरिद्वारबाट आयात गरिँदैछ । वीरगञ्जमा उत्पादन गरेजस्तै अन्य प्रदेश र सुदूरपश्चिममा पनि उद्योग खोल्न सल्लाह दिइरहेका छौं । जडीबुटीको धेरै सम्भावना भएको हुँदा जडीबुटीजन्य उत्पादन गर्ने युनिट सुदूरपश्चिममा खोल्न सल्लाह दिएका छौं ।

कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीका हितमा के काम गरिरहेको छ ?
– कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायिक हितका काम गर्दै आएको छ । व्यावसायिक हितका लागि नै हामी दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि लामो समयदेखि प्रयासरत थियौं । अहिले त्यसले मूर्तरुप लिइरहेको छ । त्यसले सम्पूर्ण कञ्चनपुरको मात्रै नभई सुदूरपश्चिमकै औद्योगिक क्षेत्रका रुपमा स्थापना हुनेछ । त्यसबाट सुदूरपश्चिमका व्यवसायीलाई राम्रै फाइदा हुनेछ ।

उद्योग वाणिज्य संघले स्थानीय व्यवसायीका समस्यालाई सम्बन्धित पक्षसँग सम्पर्क राखी समाधान गरिरहेको छ । सुरक्षा सम्बन्धी, कर, भन्सार, उद्योग दर्ता प्रक्रियाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले सहजीकरण गरिरहेको छ ।

तपाई नेतृत्वमा आउँदा कस्ता समस्या थिए र अहिले के प्रयास भइरहेको छ ?
– हामी उद्योग वाणिज्य संघमा निर्वाचित भएर आउँदा व्यवसायीका जुन समस्या थिए, ती समस्या अहिले पनि रहेका छन् । भौगोलिक वातावरणले गर्दा यी समस्या आइरहेका हुन्छन् । सीमामा समस्या आइरहेको हुन्छ । ती समस्या समाधानका लागि संघ पहल गर्न लागिरहेको छ ।

गत वर्ष मात्र व्यवसायिका धेरै समस्या थिए । यातायात व्यवसायीका २ वटा सवारीसाधन भारतको टनकपुरका एसडीएमले राखेको थियो । ती सवारीसाधन वैधरुपमा नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएर महेन्द्रनगरदेखि दिल्ली र दिल्लीदेखि महेन्द्रनगर सेवा सञ्चालन भइरहेको थियो । त्यसैक्रममा बिचौलियाले सरकारलाई गलत सूचना दिएपछि ती सवारीसाधनलाई उत्तराखण्डको टनकपुर एसडीएमले २ दिन राख्यो । त्यो समस्यालाई उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावल, म लगायत हाम्रो टीमले सहजरुपमा समाधान गरेर नियमित रुपमा सहजरुपमा सञ्चालन गर्ने व्यवस्था गरेको थियो ।

अहिले नियमित रुपमा सञ्चालन भइरहेको छ । त्यसले कञ्चनपुरको आर्थिक गतिविधिमा टेवा पुर्‍याएको छ । काठमाडौं, भैरहवा, रक्सौल, वीरगञ्ज भएर दिल्ली जाने मान्छे अहिले कञ्चनपुर भएर जाने गरेका छन् । जसले गर्दा कञ्चनपुरका होटेलमा बस्छन् । यहाँका पर्यटकीय क्षेत्र हेर्छन् घुम्छन् । यहाँ पर्यटकीय गतिविधि बढ्छन् ।

दैजीमा औद्योगिक क्षेत्र घोषणा भएदेखि अहिलेसम्म के कस्ता कार्यक्रम भए ?
– सरकारले पटक–पटक औैद्योगिक क्षेत्र घोषण गर्‍ यौ भन्यो । तर, त्यसलाई मूर्तरुप दिनका लागि खासै पहल हुन सकेको थिएन । कञ्चनपुर उद्योग वाणिज्य संघले २०५६ सालदेखि औद्योगिक क्षेत्रका लागि आवाज उठाउँदै आएको थियो । हामी २ वर्षयता अलि सफल भएका छौं । त्यसको झण्डै ३ सय विघा जमिनको पूर्जा तयार भइसकेको छ । अहिले औद्योगिक क्षेत्रले केही मूर्तरुप पाएको छ । अब सरकार स्थिर भयो र देशको परिस्थिति ठिक रह्यो भने साँचिक्कै औद्योगिक क्षेत्र स्थापना हुन्छ भन्ने आशा पलाएको छ । आशा सँगसँगै सरकारले औद्योगिक क्षेत्रलाई ओझेलमा पार्ने हो कि भन्ने चिन्ता पनि लागेको छ ।

सरकारले प्रत्येक प्रदेशमा १ औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर ७ नम्बरको कञ्चनपुरलाई छुट्यायो । तर, त्यहाँ हुनुपर्ने भौतिक पूर्वाधारका नभएको हुनाले जुन स्पीडमा त्यसले जानुपर्ने थियो, त्यो स्पीडमा जान सकेन । चाँडोभन्दा चाँडो औद्योगिक क्षेत्र स्थापना होस् भनेर पटक–पटक अर्थमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं ।

औद्योगिक क्षेत्र स्थापना भए विकासमा कस्तो टेवा पुग्छ ?
– सुदूरपश्चिमको विकासका लागि सबैखाले उद्योग स्थापना हुनुपर्छ । अन्तराष्ट्रियस्तरका उद्योगदेखि स–साना उद्योग स्थापना हुनुपर्छ । ठूला उद्योग स्थापना भए भने साना उद्योग पनि स्थापना हुन्छन् । ठूला उद्योगलाई चाहिने कच्चा पदार्थ तथा अन्य वस्तु उपलब्ध गराउन साना उद्योग स्थापना हुन्छन् । ठूला उद्योगले पनि आफूलाई चाहिने कच्चा पदार्थ प्राप्त गर्न सक्छ । कच्चा पदार्थ उत्पादनका लागि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको छ ।

महाकाली नदीमा पनि ४ लेनको पक्की पुल बन्ने प्रक्रियामा छ । पुल बनेपछि दैजीको औद्योगिक क्षेत्र देशकै उत्कृष्ट औद्योगिक क्षेत्र हुन सक्छ । साना उद्योगले उत्पादन गरेका वस्तु निकासी गर्न सक्छौं । किनभने, यहाँदेखि ८० किलोमिटरको दूरीमा भारतको रुद्रपुर छ । जहाँ ठूला उद्योग रहेका छन् । हामीले उत्पादन गरेका वस्तु सहजै रुपमा भारतमा निकासी गर्न सक्छौं ।

उद्योग स्थापना भएपछि बजारको अवस्था कस्तो रहन्छ ?
– सुदूरपश्चिमको बजारले मात्रै उद्योग स्थापित हुन सक्दैनन् । त्यसका लागि यहाँ उत्पादित वस्तुको बजार मुलुकभर नै हुनुपर्छ । त्यही अनुसार योजना बनाउन जरुरी छ । अब आउने प्रदेश सरकारले प्रदेशमा उत्पादित वस्तुलाई अन्य प्रदेशमा बिक्रीवितरण गर्न सक्ने सहज वातावरण बनाई दिनुपर्छ । सुदूरपश्चिममा अल्पविकसित तथा कम विकसित प्रदेशमा ७ नम्बर प्रदेश पर्छ । सरकारले ७ नम्बर प्रदेशमा उत्पादन गर्नका लागि १५ वर्षसम्म कर छुट तथा अनुदान दिनुपर्छ ।

करको छुट सँगसँगै विद्युत्मा पनि विशेष सहुलियत दिनुपर्छ । अन्य पूर्वाधार सरकारले सहज बनाइदिनुपर्छ । जसले यहाँ उद्योग स्थापना हुन सक्छन् । ती उद्योग स्थापना भयो भने देशको अरु स्थापित भएको र बाह्य देशबाट आउने आयातीत वस्तुलाई पनि प्रतिस्थापन गर्नका लागि यहाँको उद्योग प्रतिस्पर्धी रुपमा अगाडि बढ्न सक्छ । सरकारले यसमा पनि पहल गर्नुपर्छ ।

व्यवसायलाई प्रर्वद्धन गर्न स्थानीय सरकारले कस्तो नीति, कार्यक्रम र योजना ल्याउनुपर्ला ?
– स्थानीय तहले मात्र व्यवसाय प्रवद्र्धन गरेर मात्र पुग्दैन । राज्यले पनि प्रवद्र्धनका लागि वातावरण बनाइदिनुपर्छ । स्थानीयस्तरले मात्रै गरेर पुग्दैन । तर, स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आर्थिक विकासका लागि व्यवसायीसँग साझेदारी गर्नुपर्छ । अवश्य पनि निर्वाचित जनप्रतिनिधि व्यवसायिक संघसंस्थासँग साझेदारी गर्ने छन् ।

व्यवसायिक साझेदारीले नै आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । स्थानीय तह र व्यवसायीको साझेदारी भयो भने आर्थिक समृद्धिका लागि कोसेढुङ्गा सावित हुनेछ ।

अहिलेको व्यवसाय आयातीत वस्तु बिक्रीले नै धानेको छ, होइन र ?
– महेन्द्रनगरमा ७० प्रतिशत बढी व्यवसायी भारत वा चीनमा उत्पादित वस्तुको व्यापार गरिरहेका छन् । त्यो उहाँहरूको रहर होइन, बाध्यता हो । किनभने, यस क्षेत्रमा वस्तु उत्पादन नै भएका छैनन् । उत्पादित भएपनि उत्पादनको मागका कारण यस क्षेत्रको व्यवसाय आयातीत वस्तु बिक्रीमै सीमित छ ।

अझैं हाम्रा उद्योगले हामी नेपालीलाई सुहाउँदा वस्तुहरू उत्पादन गर्न सकिरहेका छै्रनन् । त्यसमा पनि राज्यको ध्यान जाओस् । आयातमा कमी आउने वातावरण बनाउनुपर्छ । यहाँ उत्पादन हुने वातावरण बन्यो भने बल्ल हाम्रो देश समृद्ध हुन सक्छ । जबसम्म हामी आफैं उत्पादन गर्छौ, जब हामी हाम्रो आवश्यकताको वस्तु आफैं उत्पादन गर्न सक्छौ, अनि मात्र हामी समृद्ध हुन सक्छौं ।

व्यवसायीले आफ्नो फाइदामा जोड दिने तर, उपभोक्ताको हितमा ध्यान दिँदैनन् भन्ने पनि गुनासा प्रसस्त सुन्नमा आउँछन् ।यसमा तपाई के भन्नुहुन्छ ?
– त्यस्तो मात्र होइन । व्यवसायीले आफ्नो मात्र फाइदा हेर्दैन । तर, अवश्य पनि नाफा कमाउनका लागि व्यवसाय गर्ने हो । तर, त्यो व्यवसायीको मूल्य, मान्यता हो, हामी कति नाफा खाने ? हुन सक्छ केही–केही अपवादका रुपमा त्यस्तो व्यवसाय होलान् । तर, कञ्चनपुर त्यस्ता व्यवसाय छैनन् । केही व्यवसायीले उपभोक्तालाई ठग्ने काम गरिरहेको गुनासो पनि आउने गर्छ । तर, ठगेको नभई आयात गर्दा वस्तुको मूल्य महंगो पर्न जान्छ । कुनै पनि वस्तुको कर तिरेपछि महंगो हुनु स्वभाविक हो ।

भारतबाट वस्तु खरिद गरेर ल्याएपछि कर तिर्नुपर्छ । तर, धेरैले कर तिर्दैनन् । त्यसोभन्दा सबैले कर तिर्दैनन् भन्ने होइन । कर तिरेरै व्यवसाय गर्दा केही महंगो देखिएको हो । यसरी अवैध रुपमा आयात हुने वस्तुलाई सरकारले नै नियन्त्रण गर्नुपर्छ । वैद्य रुपमा आउने वस्तुको भन्सार दस्तुरमा व्यवस्थापन गरिदिनुपर्छ ।

सीमावर्ति बजारबाट वस्तु आयात गर्दा कस्ता समस्या हुन्छन् ?
– सीमाको समस्या एकदमै छ । त्यो समस्या अहिले आएर झनै विकराल हुँदै गएको छ । विकराल समस्या किन भइरहेको छ भने अहिले भारतले जीएसटी कर लगाएको छ । करका कारण अब नेपालमा वस्तु आयातका निम्ति केही झन्झटिलो भएको हो । स्थानीयरुपमा पैठारी हुने वस्तुमा झन्झट हुन सक्छ । तर, ती वस्तुलाई वैधरुपमा आयात गर्‍यो भने भारतीय बजार र नेपाली बजारमा वस्तुको मूल्यमा एकरुपता आउन सक्छ ।

कुनै वस्तु वनवसा बजारमा १ सय रुपैयाँ पर्छ र जीएसटी १० प्रतिशत छ भने १ सय १० रुपैयाँ पर्न जान्छ । तर, त्यो वस्तु नेपालमा वैध रुपमा आयात भएमा जीएसटी कर तिर्नु पर्दैन । र, उसले जीएसटी छुट पाउँछ । तर, आयात वैध हुनुपर्‍यो । वैध रुपमा आयात गर्न सरकारले वातावरण सिर्जना गरिदिनुपर्‍ यो । त्यसो हुन सकेमा जीएसटीको १० प्रतिशत आमउपभोक्ताले त्यहाँ तिर्नुपथ्यो । आयात गर्ने व्यवसायीले तिर्नु परेर त्यसको सट्टा नेपालको कर मात्र तिर्नुपर्‍यो । अब यसले मूल्यमा समानता ल्याउँछ होला । यसले नेपाली उपभोक्ता चाडबाडको बेलामा भारतीय सीमा बजारमा हुलजार गर्ने गरेको छ । त्यो चाहिँ केही कम हुन्छ ।

जीएसटी कर लागू भइसकेपछि नेपालमा आयात हुने वस्तुमा सहुलियत हुन्छ । त्यसका लागि सरकारले भन्सार मूल्याङ्कन प्रणाली छ, त्यसलाई हेर्नुपर्छ । भन्सारको दर घटाएर मूल्याङ्कनमा वृद्धि गरिदिनुपर्छ । बजारमा अन्डर विलिङको ठूलो समस्या छ । सामानको उपभोक्ताले किन्दा कुनै सामानको बिल अर्कै किसिमको अर्थात् मंहगो हुनु । भन्सार दरबन्दीका कारण केही व्यवसायीका विचौलियाले बिलिङ गरेको देखिन्छ ।

समस्या समाधानका लागि संघले के गरिरहेको छ ?
– उद्योग वाणिज्य संघले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको छ । भन्सार विभाग, भन्सार कार्यालयलाई समस्या तथा समाधानका लागि सुझाव दिइरहेका छौं । १ महिना अगाडि भन्सार विभागको टोलीसँग अन्तक्र्रिया गरेका थियौं । उहाँहरूले विषयवस्तु हेर्नु भयो । हामीले समस्या राखेका थियौं । अब केही सहजता आउँछ भन्ने आशा लिएका छौं ।

अहिले कुन यवसायले राम्रो बजार पाएको छ ? व्यवसाय गर्न चाहनेलाई के भन्नुहुन्छ ?
– अहिलेको औद्योगिक युगमा सबै व्यवसायको राम्रो बजार छ । कुनै पनि व्यवसायको बजार नराम्रो छैन । समय र स्थान अनुसार फरक–फरक छ । सहरी क्षेत्रमा व्यवसाय गर्न प्राविधिले पनि सहयोग गरिहरहेको छ । ग्रामीण क्षेत्रमा कृषि उत्पादनमा राम्रो सम्भावना छ । ठूल्ठूला खेत बाँझै छन् । अब युवाले कृषिमा ध्यान दिनुपर्‍यो । उत्पादनमा लाग्नु पर्‍ यो । कृषिमा अगाडि बढ्यौ भने अन्यमा पनि सुधार हुन्छ । कृषि प्रधान देश भएपनि अर्बाैंको खाद्यान्न विदेशबाट आयात गरिरहेका छौं । यो विडम्बना हो । व्यवसाय गर्न चाहने नयाँ पुस्तालाई स्वागत गर्छु । नेपालमा पनि नयाँ प्रविधि भित्र्याएर युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नुपर्छ । अब युवा खाडीतिर होइन, मुलुकमै केही गर्नुपर्छ ।

कञ्चनपुरमा खाद्यान्नको आयात र निर्यातको अवस्था कस्तो छ ?
– कञ्चनपुरमा खाद्यान्नको आयात र निर्यात न्यून छ । तर, निर्यात हुने सम्भावना कञ्चनपुरमा सबैभन्दा बढी छ । तर, भारत जानका लागि पुलको अभाव, बाटोको अभावका कारण निर्यात कम हुने गरेको छ । भारतमा रुद्रपुरमा रहेको उद्योगलाई चाहिने जडीबुटी बझाङ, बैतडी र दार्चुलामा उत्पादन हुन्छ ।

उत्पादन जडिबुटी नेपालगञ्ज पुग्छ । नेपालगञ्जमा प्रशोधन भएर भारतको रुद्रपुर पुग्छ । अर्थात्, यहाँबाट ६ सय किलोमिटर घुमेर पुग्छ । तर, कञ्चनपुरबाट ८० किलोमिटर पार गर्दा पुग्नुपर्ने हो । यहाँ प्रशोधन उद्योग नहुँदाको समस्या हो । सुदूरपश्चिममै उद्योग भएको भए त्यसको फाइदा कृषकलाई हुन्थ्यो । तर, कृषकले पनि राम्रो फाइदा पाउन सकेका छैनन् । जुन भारत र नेपालबीचको सम्बन्ध थियो । त्यो पुल नहुँदा हुन सकेको छैन । कञ्चनपुरबाट जटीबुटी निर्यात हुन्छ । त्यसबाहेक केही मात्रामा कृषिका सामग्री निर्यात भइरहेका छन् ।

संघीयतामा सुदूरपश्चिमको आर्थिक सम्भावना कस्तो देख्नुहुन्छ ?
– मुलुक संघीय प्रणालीमा गइसकेपछि राजनीतिक दल पनि अब आर्थिक समृद्धिका लागि अगाडि बढ्ने अपेक्षा गरेका छौं । ७ नम्बर प्रदेशमा थुप्रै सम्भावना छन् । ७ नम्बर प्रदेशमा थुप्रै सम्भावना मात्र होइन, कच्चा पदार्थ पनि प्रशस्त छन् । सदुपयोगको खाँचो छ । उद्योग स्थापना गरेर कच्चा पदार्थको सदुपयोग मात्र गर्न सक्यौं भने पनि ७ नम्बर प्रदेश समृद्धि हुन्छ । तर, चुनौति पनि थुप्रै छन् । हामीसँग भौतिक पूर्वाधार न्यून छ । पूर्वाधार बनाइयो भने आर्थिक गतिविधि बढ्छ । आर्थिक गतिविधिका लागि कञ्चनपुर र कैलाली हब हुन् ।

पर्यटन व्यवसायकोे सम्भावना कस्तो छ ?
– सुदूरपश्चिममा पर्यटन व्यवसायका लागि उत्कृष्ट स्थान रहेका छन् । जसलाई हामीले पहिचान गराउन सकेका छैनौं । सुदूरपश्चिमका पर्यटकीय स्थललाई हामीले मात्र चिन्न सक्यौं । तर, पर्यटकलाई चिनाउन सकेका छैनौं । पर्यटकीय सम्भावनाका स्थल खप्तड ट्रेकिङका लागि उपयुक्त ठाउँ हो । बडीमालिका थुप्रै धार्मिकस्थल रहेका छन् । जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न सक्छन् । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई व्यवस्थित गर्न सके पर्यटक तान्न सकिन्छ । एसियाकै सबैभन्दा ठूलो बाह्रसिंगाको झुण्ड यहाँ पाइन्छ । तर, प्रचारप्रसारको खाँचो छ ।

कञ्चनपुरमा झिलमिला ताल चुरेको फेदमा छ । त्यसको भिन्नै महिमा छ । त्यसलाई विकास गर्न सक्यौं भने त्यहाँ पर्यटक पुर्‍ याउन सक्यौ भने पर्यटकलाई तान्न सकिन्छ । पर्यटक किन नैनीतालमा जान्छन् ? पर्यटनको सिजनमा त्यहाँ बस्नका लागि बास बस्न होटल पाइँदैन । किन हामी त्यहाँ जाने पर्यटकलाई झिलमिलासम्म ल्याउन सक्दैनौ ? त्यहाँका पर्यटकलाई ल्याउने वातावरण तयार पार्नुपर्छ ।

निजी क्षेत्रबाट प्रयासरत छौं । झिलमिला विकासका लागि कञ्चनपुर उद्योग वाणिज्य संघ २०५६ सालदेखि लागिरहेको छ । तालको चारैतिर कञ्चनपुर उद्योग वाणिज्य संघले टेट्रेकिङ रुट बनायो । विश्रामस्थल बनाइएको छ भने जीर्ण भएको बाटोलाई पुनः सञ्चालनका लागि उद्योग वाणिज्य संघ र बह्मदेवमा रहेको सिद्धनाथ बाबा मन्दिर व्यवस्थापन समिति मिलेर बाटो खोल्यौं ।

सडक कालोपत्रेका लागि टेन्डर समेत भएको छ । यस क्षेत्रका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुपर्छ । विशेषगरी मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । निजी क्षेत्रले यसको विकासका लागि सम्बन्धित निकायलाई घच्घच्याउनुपर्छ । पर्यटन व्यवसायीलाई सहयोग गर्नुपर्छ । यी कञ्चनपुरका पर्यटन क्षेत्रका विकासका लागि स्थानीय निकायले पनि निजी क्षेत्रसँग साझेदारी गरेर अगाडि बढ्नुपर्छ ।


सम्बन्धित