१९४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ११ बुधबार, ०९:३८ बजे

भीमदत्त नगरपालिका राजश्व संकलनमा कमजोर

Image

महेन्द्रनगर, १० साउन । भीमदत्त नगरपालिका आन्तरिक राजश्व संकलनमा कमजोर देखिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यको ७६ प्रतिशत मात्र राजश्व संकलन गरेकोे छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा ५ करोड २४ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ करोड ९७ लाख ८ सय २ रुपैयाँ मात्र संकलन गर्न सकेको हो । जुन लक्ष्यको २४ प्रतिशत अर्थात् १ करोड २७ लाख ७८ हजार १ सय ९८ रुपैयाँ कम हो । करको दायरा व्यवस्थित नहुनु र ठूला करदाताले कर नबुझाउनुले लक्ष्य पूरा हुन नसकेको भीमदत्त नगरपालिकाका शाखा अधिकृत नरबहादुर शाहले बताए । अनुमानित कर निर्धारण वैज्ञानिक तरिकाले नभएको उनको जिकिर छ ।

नगरपालिकाले सम्पति करमा सबैभन्दा बढी ७१ लाख ४ हजार ८ सय ६ रुपैयाँ संकलन गरेको छ । व्यवसाय करतर्फ ४५ लाख ३५ हजार ३ सय ५०, नक्सा पासमा ११ लाख २६ हजार १ सय ४३, सवारी पार्किङमा ३२ लाख ५ हजार १ सय ७६ रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिकाले कोठा भाडावाफत ६८ लाख ९८ हजार, सरसफाई शुल्क ३ लाख ३० हजार ३ सय ११ र सवारी कर ४ लाख १९ हजार, बहाल कर ४ लाख ४७ हजार ३ सय ४३ रुपैयाँ कर संकलन गरेको छ । ठेला व्यवसायीबाट उठाइने बिचौटी कर ९५ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।

दण्ड जरिवानावाफत ५ लाख ७० हजार ७४ र जिल्ला समन्वय समितिबाट ५६ हजार ५ सय ७० रुपैयाँ रोयल्टी संकलन भएको नगरपालिकाका शाखा अधिकृत शाहले बताए । नगरपालिकाले विभिन्न ९५ वटा शीर्षकमा कर संकलन गर्दै आएको छ । भीमदत्तमा अहिले १५ हजार ७ सय ४० करदाता रहेका छन् । नगरपालिकाले गत आर्थिक वर्षसम्ममा १० लाख ५५ हजार २ सय ९० रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा नगरपालिकाले ३ करोड २६ लाख ४८ हजार ३ सय ४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 


About Author
-मदन गिरी