१४३२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १० , १९:०५ बजे

कञ्चनपुरको जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

Image

महेन्द्रनगर । कञ्चनपुरमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरको आयोजनामा मंगलबार महेन्द्रनगरमा भएको प्रथम जिल्ला सभाले ९ सदस्यीय समिति बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सिद्धराज पन्तले बताए । उनका अनुसार संविधानमा भएको व्यवस्था अनुसार ९ सदस्यीय समिति गठन गरिएको छ । संविधानमा जिल्ला सभामा कम्तिमा ६ र बढीमा ९ जना सदस्य हुनपर्ने प्रावधान रहेको छ ।

ज्येष्ठ सदस्यको आधारमा महाकाली नगरपालिका कार्यालयका प्रमुख वीरबहादुर सुनारको अध्यक्षतामा भएको सभामा कञ्चनपुरका ७ नगरपालिकाका प्रमुख र उपप्रमुख तथा २ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १८ जनाको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिको निर्वाचन निर्वाचन कार्यालयले तोके बमोजिम हुनेछ ।

जिल्लाभित्रका नगरपालिका र गाउँपालिकाबीच समन्वय गर्न जिल्ला सभाको आवश्यता पर्दछ । जिल्ला सभामा जिल्लाभित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने छन् । जिल्ला सभाले १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको छ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यसम्पादन गर्नेछ ।
सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुनेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ ।

जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने लगायत प्रदेश कानून बमोजिमका अन्य कार्य जिल्ला सभाले गर्नुपर्नेछ । जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने छन् ।


About Author
-मानसखण्ड