२७७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण १० , ०७:३६ बजे

चौरपाटीमा एमाले उम्मेदवारका पक्षमा फैसला

Image

अछाम । उच्च अदालत दिपायलले अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हर्कबहादुर साउँदलाई विजयी घोषणा गरेको छ ।

चौरपाटी गाउँपालिका–२ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भीमबहादुर साउँदले गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा दायर गरेको मुद्दाको फैसला गर्दै उच्च अदालतले एमाले उम्मेदवार साउँदलाई विजयी घोषणा गरेको हो । गत असार २३ गते रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत दिपायलले एमाले उम्मेदवार हर्कबहादुर साउँदलाई अध्यक्षको हैसियतले काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश द्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त इजलासले रिट निवेदकको दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको छ । अदालतको निर्णयसँगै अछाम चौरपाटीमा एमाले नेता साउँद नै अध्यक्ष हुने भएका छन् । आईतबारको बहसमा रिट निवेदकको तर्फबाट पूर्वमहान्याधिवक्ता बाबुराम कुँवर र विपक्षीका तर्फबाट अधिवक्ताहरू टिकाराम भट्टराई, प्रबल शर्मा समेतले बहस गरेका थिए ।निर्वाचन आयोगको तर्फबाट सहन्यायाधीवक्ता टेकबहादुर घिमिरे र उपन्यायाधीवक्ता दमनसिंह विष्टले बहस गरेका थिए ।

चौरपाटी गाउँपालिकाको मतगणनामा एमालेका उम्मेदवार साउँदले ३ हजार १ सय ३८ मत प्राप्त गरेका थिए । उनलाई निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार भीमबहादुर साउँदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार हर्कबहादुर १ मतले विजयी भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका भीमबहादुर साउँदले मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप लगाई पुनः मतगणनाको आदेश गरी पाउन उच्च अदालतमा रिट निवेदन दिएका थिए ।