३९३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०९ सोमबार, १०:१६ बजे

डडेल्धुरामा श्रृंगारिक सामानको व्यापार वृद्धि

Image

डडेल्धुरा । साउन महिना महिलाका लागि महत्वपूर्ण मानिन्छ । साउनमा प्रत्येक सोमबार ब्रत बस्ने तथा हरियो लुगासँगै श्रृंगारका सामान पनि हरियो नै प्रयोग गरिने गरिन्छ ।

हाल सुदूरपश्चिमका विभिन्न व्यापारिक केन्द्रमा हरियो र पहेलो रङका सामग्री देखिन थालेका छन् । डडेल्धुरा सदरमुकामस्थित अधिकांश पसल अहिले हरियो र पहेलो रङका सामग्रीले सजिएका छन् । बजारमा हरियो र पहेंलो रङका चुरा, टीका, पोते, मेहन्दी, रातोमा हरियो फुर्का भएको धागो, हरियो रङको ब्लाउजमा राख्ने घण्टी लगायतका सामग्रीको माग बढेको व्यापारीले बताएका छन् ।

साउन महिना सुरुवात भएसँगै बजारमा सामान किन्नेको चहलपहल निकै बढ्ेको स्थानीय राज भण्डारीले बताए । साउन महिनामा हरियो–पहेलो सामग्री दान गरेमा राम्रो हुन्छ भनेर नयाँ पुस्तामा बाँड्ने चलन समेत उत्तिकै रहेको छ ।

हिन्दूधर्म शास्त्रअनुसार साउन महिना नारायण अथवा पुरुषोत्तम भगवानलाई आराधना गर्ने भएकाले पुरुषोत्तम भगवानलाई हरियो र पहेंलो मन पर्ने आधारमा दान गर्ने र लगाउने परम्परा बसेको पण्डित रामचन्द्र भट्टले बताए ।

 


About Author
-ध्रुव विष्ट