१८६३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०९ , १०:०४ बजे

प्रहरी कार्यालयबाट वैध हतियार गाउँगाउँ लगिँदै 

Image

डोटी । स्थानीय तह निर्वाचनको समयमा जिल्ला प्रहरी कार्यालय डोटीमा संकलन गरिएका वैध हतियार फिर्ता भएर गाउँगाउँ लैजान सुरु गरिएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार संकलन गरिएका करिब १ दर्जन वैध हतियार पुनः सर्वसाधारणलाई फिर्ता गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिल्लीराज विष्टले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जिल्ला प्रहरी कार्यालयबाट ३ थान बारबोर हतियार स्थानीयले फिर्ता लिइसकेका छन् । निर्वाचनको बेला हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले जिल्लाभरिका हतियार संकलन गरिएको थियो । संकलन गरिएका हतियारमा बारबोर तथा टुएल्बोर रहेका छन् ।

जिल्लाका ग्रामीण प्रहरी चौकीमा संकलन गरिएका हतियार पनि फिर्ता गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीस्थित हतियार खरखजना शाखाले जनाएको छ । स्थानीय तहको निर्वाचन सकिएको कारण हतियार राख्ने इजाजत पत्र भएकालाई हतियार फिर्ता गरिएको प्रहरी प्रमुख विष्टले बताए ।

जिल्लाभरि वैधबाहेक अवैध हातहतियार के कति छ भन्ने जानकारी नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लामा संकलन गरिएका अवैध हतियार अर्थात् भरुवा बन्दुकको बारेमा भने हालसम्म निर्देशन केही नआएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


सम्बन्धित