२१७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०८ आइतबार, १४:२२ बजे

‘शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न सक्नुपर्छ’

Image

– नरेन्द्र जोशी (प्रधानाध्यापक)
बैजनाथ माध्यमिक विद्यालय
महेन्द्रनगर, कञ्चनपुर
नेपालको शिक्षा प्रणाली परम्परागत ढर्राबाट चलेको छ । केही विद्यालयले आफ्नै स्रोत र साधन प्रयोग गरेर आधुनिक ढंगबाट शिक्षण प्रणाली अबलम्बन गरेपनि बाँकी सामुदायिक विद्यालय निजी स्तरबाट सञ्चालित विद्यालयको तुलनामा कमजोर छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदो अवस्थामा रहेको देखिन्छ । सामुदायिक विद्यालयमा प्रायः न्यून आर्थिक स्तर भएका अभिभावकका छोराछोरी पढ्छन् ।


बालबालिकाको भविष्यका कर्णधार हुन् । तर, त्यही जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको गुणस्तर किन खस्कदो अवस्थामा रहेको छ ? शिक्षकले पढाउन नसकेका हुन् कि विद्यार्थीले पढाइ बुझ्न सकेका छैनन् ? आँखिर को छ दोेषी ? योसँगै महेन्द्रनगरमा रहेको बैजनाथ माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो छ ? यही विषयमा प्रधानाध्यापक नरेन्द्र जोशीसँग पत्रकार मदन गिरीले गरेको कुराकानीको सम्पादित अंश :


वैजनाथ माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?
– अहिले बैजनाथ माध्यमिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मूख छ । विगत २÷३ वर्ष अगाडिसम्म विद्यालयको शैक्षिक अवस्था निकै दयनीय रहेकोमा क्रमशः सुधारात्मक छ । गत जेठमा सार्वजनिक एसइइको नतिजामा पनि बैजनाथका ६० प्रतिशत विद्यार्थीले सहजै रुपले माथिल्लो तहमा पढ्न सक्ने गे्रट ल्याएका छन् ।

कस्तो किसिमको शिक्षण विधि अबलम्बन गर्नुभएको छ ?
– हामीले नेपाल सरकारको नीति अनुसार नै प्राविधिक र साधारण शिक्षा दुबै प्रकारको शिक्षण विधि अबलम्बन गरेका छौं । प्राविधिक शिक्षातर्फ ९ देखि १२ कक्षासम्ममा कृषि बाली विज्ञान रहेको छ । जसमा ९ र १० मा कृषि बाली विज्ञान पढेका विद्यार्थी टीएसईई अर्थात जेटीए सरहको जनशक्तिको रुपमा विकास हुन्छन् । प्राविधिकतर्फ डिप्लोमा तहमा सीटीइभीटीबाट मान्यता प्राप्त ३ वर्षे डिप्लोमा इन एजी (कृषि बाली विज्ञान) कार्यक्रम रहेको छ । जुन जेटीए अर्थात् नायव सुब्बा स्तरको जनशक्तिको रुपमा विकास हुन्छन् । साधारण शिक्षातर्फ मानविकी, वाणिज्य, विज्ञान र शिक्षाशास्त्र संकायको पढाइ भइरहेको छ । सामाजिक मनोभावनालाई बुझेर कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरेका छौं । यसलाई प्रत्येक वर्ष १÷१ कक्षा थप गर्दै लाग्ने योजना रहेको छ ।

प्रयोगात्मक शिक्षण उपकरणको उपलब्धता कस्तो छ ?
– मलाई लाग्छ, कञ्चनपुरमा विज्ञान संकायतर्फ सरकारी अनुदान रहेको विज्ञान प्रयोगशालामा विज्ञान क्याम्पसपछिको दोस्रो राम्रो विज्ञान प्रयोगशाला बैजनाथ माध्यमिक विद्यालयमा रहेको छ । हामीसँग विज्ञान संकायमा अलग–अलग प्रयोगशाला रहेका छन् । त्यसैगरी, कृषि विज्ञानको लागि हामीसँग पर्याप्त आवश्यक जमिन र उपकरण रहेका छन् ।

शैक्षिक गुणस्तरमा कमजोर हुनुको कारण ?
– शैक्षिक गुणस्तर कमजोर हुनुको पछाडि थुप्रै कारण रहेका छन् । सबैभन्दा पहिलो त हामी शिक्षकले नै विद्यार्थीको मनोविज्ञानसँगै इच्छा, आकांक्षा अनुसार पढाउन नसक्नु हो । प्रायः सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थी कमजोर पारिवारिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्था रहेका छन् ।
शिक्षण सिकाइका लागि यी सबै अवस्था मिलेको हुनुपर्छ । विपन्न वर्गका विद्यार्थी मात्र हामी कहाँ आउने गरेकाले पनि शैक्षिक गुणस्तर कायम गर्न नसकिएको अवस्था छ । त्यस्तै, पछिल्लो समयमा शिक्षक व्यवस्थापन पनि हुन सकेको छैन । पुराना शिक्षक अवकाश भइसकेपनि नयाँ शिक्षकको व्यवस्थापन गर्न सकेका छैनौं ।

शिक्षकले विद्यार्थीको इच्छा आकांक्षा अनुसार अध्ययन गराउन नसकेको किन ?
– सबैभन्दा पहिले त विद्यालयमा पढ्ने र पढाउने स्वस्थ्य वातावरण सिर्जना गरिनुपर्छ । शिक्षकले अपनत्व महसुस गर्न सक्ने किसिमको वातावरण हुनुपर्छ । योे मेरो विद्यालय हो, यसमा आएको राम्रा र नराम्रा दुबै पक्षको जिम्मेवारी बोध हुन्छ । बैजनाथ विद्यालयको सन्दर्भमा लामो समयदेखि भित्रि वातावरण समन्वयकारी नभएको, शिक्षकबीचको बेमेल अवस्था पनि मैले पाएको छु । पछिल्लो समयमा विस्तारै सुधार आइरहेको छ ।

शिक्षकलाई अपनत्व महसुस गर्ने वातावारण बनाउन बाह्य पक्षले कत्तिको प्रभाव पार्छ ?
– बैैजनाथ माध्यमिक विद्यालय कञ्चनपुरको पुरानो माध्यमिक विद्यालय हो । यस विद्यालयले जिल्लामा धेरैजसो सफल शैक्षिक व्यक्तित्व जन्माइसकेको छ । अहिलेको अवस्थामा आई पुग्नका लागि समाजमा रहेका शिक्षा, राजनीति, सामाजिक क्षेत्रका सरोकारवाला निकायले विद्यालयप्रति धेरै चासो र महत्व राखिदिनुभयो । जसले गर्दा विद्यालय प्राकृतिक वातावरण चल्न सक्ने अवस्था रहेन । अब सबै शिक्षक कर्मचारी र समुदायसँग समन्वय गरेर शैक्षिक वातावरणलाई सहज बनाउन प्रयासरत छौं ।

शैक्षिक क्षेत्रका मुख्य समस्या र चुनौति के हुन् ?
– नेपालमा प्रष्ट रुपमा २ (निजी र सरकारी) तहबाट सञ्चालित शिक्षण संस्था रहेका छन् । अहिले अभिभावकले निजी विद्यालय पढाउन सक्यो भने गर्व महसुस गर्ने परिपाटी बनिसकेको छ । तर, त्यो विद्यार्थीकोे जीवनयापनका लागि आवश्यक पर्ने आधारभूत विषयवस्तु हासिल गर्न सक्यो कि सकेन ? अन्त्यमा उसले प्रतिफल दिन सक्छ कि सक्दैन ? भन्ने कुरा समाजले विश्लेषण गर्न खोज्दैन । तत्कालीन रुपमा प्रचारप्रसार, देखासिकी र अन्य सतही विषयमा ध्यान दिने भएकाले निजी विद्यालयमा बालबालिकालाई पढाउने संस्कार बढेको हो ।

अहिले सामुदायिक विद्यालयको अस्तित्वलाई नै जोगाउन मुस्किल परिरहेको अवस्था छ । अर्कोतिर सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको मनोभावना पनि हामी कमजोर, विपन्न वर्गका विद्यार्थीलाई मात्रै पढाउने हो ? बनेको र शैक्षिक उत्थानका लागि योगदान हुनुपर्छ भन्ने भावना कम लिई दिने परिपाटी छ । त्यस्तै, सामुदायिक विद्यालयसँग जोडिएका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीले पनि विद्यालयप्रति खासै चासो दिएका छैनन् । जसले गर्दा शैक्षिक अवस्थामा अपेक्षाकृत सुधार हुन सकेको छैन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर न्यून हुनु नै निजीतर्फको आकर्षण होइन ?
– सामुदायिक विद्यालयको आधारशीला भनेको अभिभावक हुन् । अहिले के देखिएको छ भने जुन विद्यालयका अभिभावकले विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार्नमा चासो र सहयोग रहन्छ भने विद्यालय शैक्षिक अवस्था पनि राम्रो हुन्छ । जसले गर्दा विद्यालयमा पढाइको संस्कार बिग्रन पाउँदैन ।

सामुदायिक विद्यालयको उत्थानको लागि शिक्षक, अभिभवाक र विद्यार्थीले सक्रिय भएर विद्यालयमा भएका कमजोरीलाई उठान र समाधानका लागि पहल गरिदियो भने अवश्य पनि शैक्षिक अवस्थामा सुधार हुन्छ । अहिले समुदाय पनि विद्यालयप्रति जिम्मेवार देखिएको छैन । विद्यालयलाई एउटा प्रधानाध्यापक या विद्यालय व्यवस्थापन समितिको अध्यक्षले मात्रै चलाउने हो भन्ने धारणले पनि समस्या नित्याइरहेको छ ।

सामुदायिक विद्यालयका शिक्षकका समस्या के छन् ?
– सामुदायिक विद्यालयका शिक्षकका समस्या भनेको सरकारले तोकेको न्यूनतम तलबले मात्रै पुग्दैन भन्ने भावना रहेको छ । त्यसका लागि सानै भएपनि अतिरिक्त आम्दानीको लागि अन्य प्रयास गर्ने गरेको पाइन्छ भने तलबवाफत गर्नुपर्ने कामका लागि कम मेहनत गर्ने गरेको पाइन्छ ।

जस्तैः हामीले सामुदायिक विद्यालयमा ‘प्लस टू’का कक्षा पढाएवाफत थप भुक्तानी गर्ने गरिन्छ । तसर्थ, शिक्षकले पनि ‘प्लस टू’ कक्षालाई पूर्वतयारीका साथ मेहनत गरेर पढाएको पाइन्छ । तल्लो कक्षाको अध्यापनका लागि खासै मेहनत गरेको देखिँदैन । हुन त निजी विद्यालयमा धेरै कम तलबमा पनि राम्रो काम गरिरहेको पाइन्छ । त्यसको एउटै प्रमुख कारण जागिरको असुरक्षा नै हो । तर, सामुदायिक विद्यालयमा जागिरको असुरक्षाको कुरा त्यति देखिँदैन ।

विज्ञान विषय पढाउँदाका समस्या के छन् ?
– विज्ञान भनेको घोकाइले सिकिने विषय होइन । यद्यपि विगतमा हामीले जुन विषय भएपनि घोकेरै पढेका हौं । विज्ञान पढाउनका लागि प्रयोगशालाको व्यवस्था, सम्बन्धित पाठ्यांश पाठ्य सामग्री हुनुपर्ने र शिक्षकले पनि केही बढी समय दिनुपर्ने हुन्छ । विज्ञान विषयको पाठ्क्रम पनि त्यति धेरै मिलेको छैन । सैद्धान्तिक रुपले नै पढाउन पाठ्यक्रम बनाइएको छ । यद्यपी प्रयोगात्मक पनि गर्नेपर्ने र त्यसका लागि २५ अंक पनि छुट्याएको छ । तर, व्यवहारमा ती कुरा लागू हुन सकेको छैन ।

सैद्धान्तिक रुपमा ९ र १० को विज्ञान विषय पढाउन १ सय ५० देखि १ सय ८० दिनसम्मको कक्षा चाहिन्छ । तर, विविध कारणले विद्यालय खुल्ने दिन लगभग यो कमै हुन्छन् । जसका लागि प्रयोगात्मक कक्षा सञ्चालनको छुट्टै समय छैन । तैपनि अहिले प्रदर्शन विधिबाट प्रयोगात्मक कक्षा सञ्चालन गर्ने गरिरहेका छौं । अहिले सबभन्दा अनुत्तीर्ण हुने विषय भनेको विज्ञान हो । यसको प्रमुख कारण भनेको सैद्धान्तिक रुपमा नै विद्यार्थीलाई अध्यापन गराइनु हो ।

बैजनाथकोे भौतिक अवस्था कस्तोे छ ?
– वर्तमान अवस्थामा वैजनाथ माध्यमिक विद्यालयको भौतिक संरचना कमजोर रहेको छ । करिब ४ रेक्टर स्केलसम्मको भूकम्प आयो भने भवन भत्किने अवस्थामा रहेको अनुमान छ । यहाँका पूरै संरचनाको पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । विद्यालयमा करिब ६ सय ५० विद्यार्थी अध्ययनरत छन् । बैजनाथ विद्यालयले यस क्षेत्रको प्राविधिक शिक्षाको गुणस्तरीय शैक्षिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । भविष्यमा यसलाई कृषि क्याम्पसकै रुपमा विस्तार गर्ने योजना रहेको छ ।


About Author
-मदन गिरी