७०७ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०८ , १४:०५ बजे

ऐतिहासिक मानसखण्ड संहिताको सारांश

Image

मानस–मन्थन
ऐतिहासिक मानसखण्ड संहिताको सारांश
मेरु, मन्दराञ्चल, पाताल, कैलास आदि क्षेत्रका सम्पूर्ण निवासी जनलाई मानस श्रवण गर्न आव्हानका साथ मानसखण्ड संहिताको प्रारम्भ गरिएको छ । विष्णु स्वरुप श्रीकृष्ण, ऋषि सहित ब्रह्माजी गौराले युक्त शिवको ध्यान गरेर विष्णु अर्थात् श्रीकृष्ण, ब्रह्मा एवम् शिवको पावन चरित्रलाई पाण्डवका नाति जनमेजयले सूतजीसँग गरिएको प्रसङ्गबाट मानसकथा अगाडि बढेको छ ।

कथामा निगुर्ण निराकार ईश्वर जसलाई ‘ब्रह्म’को संज्ञा दिइएको छ । संसार तिनै ब्रह्मको अण्डा भएकाले ब्रह्माण्ड कहलियो । त्यो अण्डा अनन्तकालसम्म पञ्चतत्वभन्दा पर कही, कतै, कसैको संरक्षणमा रह्यो । अन्तमा पञ्चतत्वको सहायताले पूर्व कल्पजस्तै पुनः पृथ्वीको रचना भयो । स्वेदज, उद्भिज, अण्डज र जरायुज आदिको सृष्टिका साथै राजा पृथुको चरित्र दिइएको छ ।

भगवानका अवतार राजा पृथुले सम्पूर्ण पृथ्वीको व्यवस्थापन गरेर आफ्नो नाम सार्थक गरेको छ । गाई रुप धारण गरेको पृथ्वीमाताद्वारा एकै आसनमा बसेका हरिहरको दर्शन गरेर दशावतार भगवानको अत्यन्तै सुन्दर स्तूति गरिएको छ । कैलास पर्वत शिव रुप, हिमाल पर्वत विष्णुस्वरुप र विन्ध्य पर्वत ब्रह्माको रुप हो भनेर वर्णन गरिएको छ ।

दक्ष प्रजापतिको यज्ञमा सतीदेवीको दाह पश्चात् बहुलाहाजस्ता भएका शिव आफ्नो निजी आवास कैलासलाई छोडेर पृथ्वीको भ्रमण गर्ने क्रममा दारुकानन पुगेको बेला ऋषिहरूको लागि समिधा (दाउरा) खोज्न गएका ८ ऋषि पत्नीमध्ये बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीबाहेक अन्य ऋषि पत्नी त्यही शिव ध्यानमा निमग्न रहन गएपछि ऋषिहरूले आफ्नी पत्नी एउटा दिगम्बर योगीको सामुन्ने ध्यानमा रहेको देख्यो । शिव स्वरुपलाई चिन्न नसकेका ती ऋषिहरूले ‘तिम्रो तेज पतन होस्’ भनेर श्राप दिएको प्रसङ्ग छ ।

ऋषि श्राप लाग्नाले शिवको तेज पतन भयो, पृथ्वीले थाम्न सकेन । अन्त्यमा जगतका पालक भगवान विष्णु एवं ब्रह्मादि देवताहरूले शिवको प्राथना गर्नाले त्यो तेज शान्त भयो र पृथ्वीका अनेक ठाउँमा ज्योतिस्वरुपमा देखियो, जो ज्योतिर्लिङ्ग नामले प्रसिद्ध हुन पुग्यो । भगवान विष्णुको सत्प्रयासले हिमालयका ४ खण्ड लगायत अन्य क्षेत्रका ५ खण्ड गरी जम्मा ९ खण्डमा शिवतेजलाई विभाजन गरियो ।

ती ९ खण्डमा पहिलो मानसखण्ड हो, जहाँ ब्रह्माद्वारा स्थापित ज्योतिर्लिङ्ग, दोस्रो कैलासखण्ड जहाँ देवराज इन्द्रद्वारा पुजित ज्योतिर्लिङ्ग छ, तेस्रो केदारखण्डमा पार्वतीद्वारा एवं चौथो वासुकीनाग–नागनीद्वारा वन्दित ज्योतिर्लिङ्ग पाताल खण्डमा छ ।

पाँचौ काशी खण्डमा विश्वनाथ नामक ज्योतिर्लिङ्ग, छैटौं नर्मदातट रेवाखण्डमा नर्मदेश्वर शिव ज्योतिर्लिङ्ग एवम् ब्रह्मोत्तर खण्डमा गोकर्ण वन्दित गोकर्णेश्वर ज्यातिर्लिङ्ग एवम् ब्रह्मोत्तर खण्डमा गोकर्णद्वारा वन्दित गोकर्णेश्वर ज्योतिर्लिङ्ग, त्यस्तै नगरखण्डका उन्नत पहाडमा ज्योतिर्लिङ्ग रहेको छ भने अन्तिम उज्जयिनी अवन्तिका खण्डमा आकाश, मत्र्य र पाताल गरी त्रिरुप महाकाल ज्योतिर्लिङ्ग रहेको छ । यसरी मानसखण्ड संहिताका अनुसार यी सबै खण्ड शवैक्षेत्र हुन् भनेर वर्णन गरिएको छ ।

शिववल्लभा सतीदेवीको अर्को जन्म हिमालयराज रुपनारायण एवम् मैना रानीको घरमा पार्वती गौरा पुत्रीका रुपमा भएको छ भने मैनाकको पुत्रका रुपमा दामोदर भएर जन्म भएको छ । श्यामातटको अनङ्गसरमा तपस्यारत शिवजीको तपस्या भङ्ग गर्न भनी देवताहरूको कार्य पूरा गर्न आएको कामदेव भस्म भएपछि ऋषि मुनिहरूको अनुनय विनयमा हिमालय पुगी गौरासँग विवाह गर्न कैलासपति शिव सहमत भएको कुरा वर्णन गरिएको छ । तारकासुरको विनाश गर्न शिवपार्वती विवाह हुनु जरुरी थियो ।

पार्वतीले तृतीयाका दिनदेखि शिवपति पाउँ भनी निराहार व्रत सुरु गर्‍यो, ब्रह्माजीलाई शिवजीले आफूले पूर्वकल्पमा सतीसँग विवाह गर्दा गणेशपूजा नगरेकाले विध्न भएको कुरा बनाउनुभयो । त्यसैले चतुर्थीका दिन विश्वकर्माद्वारा गणेश प्रतिमा निर्माण गर्न लगाई ‘वैनायिकी शान्ति’को व्यवस्था गर्ने ब्रह्माजीलाई जिम्मा दिइयो । गणेश प्रतिमाको प्राणप्रतिष्ठा गरेर गारुडी र गोमतीको सङ्गम वैद्यनाथ क्षेत्रमा सप्तमी तिथिका दिन विधिवत् शिवपार्वती विवाह सम्पन्न भयो । अष्टमीका दिन हिमालय राज रुपनारायणले पुत्र मैनाक तथा पत्नी मैनासहित शिवपार्वतीको परिक्रमा गरी बिदाइ गर्‍यो । वसिष्ठ आदि ऋषि ब्रह्मा जी सहित गौरामहेश्वरलाई प्रणाम गरी ब्रह्मलोक गए । शिवपार्वती नन्दिकेश्वरसहित केदारमण्डल गएको मानससंहितामा वर्णन गरिएको छ 
सह्मपर्वत निवासी दत्तात्रेय ऋषि एक दिन तीर्थयात्राको क्रममा हिमालयराजको घरमा पुगेका र राजाले ऋषिको स्वागत–सत्कार गरेको वर्णन गरिएको छ । रुपनारायणले ऋषि दत्तात्रेयलाई कैलास–मानसको मार्ग बताउनुका साथै मानसखण्डका अनेक तीर्थ, क्षेत्र, गुफा आदिको जानकारी दिनुभयो । सोही अनुसार ऋषि दत्तात्रेयले लोहावती–गण्डकीसंगममा स्नान गरी कूर्मशिलाको दर्शन गरेर श्यामाको तटैतटै मानस सरोवर पुगेर सुवर्णहंस स्वरुप शिवको स्तुति गर्‍ यो । कैलास मानस सरोवरको दर्शन गरी मानस चक्रपथमा पर्ने तीर्थहरूको दर्शन गर्दै सप्त कर्णालीको बगरै–बगरै बह्नी तीर्थ हुँदै ब्रह्मगिरीको बाटो भएर पुनः मुखारविन्दुमा गई यात्रा पूरा गरेर काशी गएको कुरा वर्णित छ ।

काशीका राजा धन्वन्तरीले मानस परिक्रमा गरेर आएका तपस्वी ऋषि दत्तात्रेयलाई दण्डवत प्रणाम गर्‍ यो, कुशल क्षेत्रको कुरा गर्दै सर्वोत्तम तीर्थयात्राको बारेमा जिज्ञासा राख्यो, उनको जिज्ञासा शान्त गर्दै हिमालयको साथै गङ्गा तथा मानसरोवर आदि अन्य तीर्थस्थलहरूको समेत माहात्म्य वर्णन गर्दै दत्तात्रेयले भन्नुभयो– हे राजन् कैलास पर्वत साक्षत् शिवको पार्थिव रुप हो, हिमालय क्षेत्र विष्णुको तथा विन्ध्यगिरी ब्रह्माजीको साक्षात् स्वरुप हो । हिमालमा अनेक तीर्थहरू छन् । तीमध्ये सबैभन्दा ठूलो तीर्थ मानस सरोवर हो ।

ऋषिहरूले मानस क्षेत्रमा जलापूर्तिका लागि पितामह ब्रह्माजीसँग निवेदन गर्नाले ब्रह्माद्वारा त्यस सरोवरको निर्माण भएको हो । मनबाट सृष्टि गरेको हुनाले यसलाई मानस सरोवर भनिन्छ । त्यो ऋषि, मुनि, यक्ष, गन्धर्व, किन्नर, नाग आदिको तपोभूमि हो । यहाँका गुफाहरूमा अनेक ऋषि मुनि तपस्यारत छ । मानससरोवर गङ्गा आदि उत्तर हिमालका सम्पूर्ण नदीको आदि स्रोत हो, यहाँ ४० हजार तीर्थ छ, यससँग संलग्न भूमिलाई मानसखण्ड भनिन्छ । मानस पर्वतभन्दा पर प्राणीको गति छैन । मानस–कैलास यात्रा अत्यन्तै फलदायी र महत्वपूर्ण मानिन्छ । यो यात्रा पिपिलिका मार्ग न्यायानुसार गरिने हुनाले अत्यन्तै कठिन तथा जोखिमपूर्ण रहेको छ ।

भूमण्डलमा आएको परिवर्तनका कारण ब्रह्माजीद्वारा निर्मित मानसरोवर लोप भइसकेको थियो । कैलास मानस पर्वतको यात्रा गर्ने प्रथम पर्वतारोही सूर्यवंशी राजा मान्धाताले पत्ता लगाएर पुनः मानसरोवरको निर्माण गरेका थिए । खोदाइको क्रममा सरोवरको जलमा स्वर्णहंसका रुपमा शिवदर्शन भएको थियो । साठ योजन चौडाई, दस योजन गहिराई एवम् सय योजन आयाम भएको जल कैलास हुँदै मानसरोवरमा जम्मा हुन्छ ।

गौरीकुण्को जल समेत यसमा मिल्ने हुनाले यसको महत्व अझ बढ्न गएको छ । मैले जुन मानसहंसको चर्चा गरें, त्यो साक्षात् ईश्वरको रुप हो । पूर्ण ब्रह्मको स्वरुप हो । महाकाली, महालक्ष्मी, महासरस्वती एवम् ब्रह्मा, विष्णु, महेशको एकीकृत रुप हो, त्यसैले सबै देवीदेवताहरू त्यस सुवर्ण हंसको दर्शन पूजा–अर्चना गर्न चाहन्छन् ।

लोक हितका लागि निर्माण गरिएको मानसरोवर तीर्थहरूको नायक हो । मानसको समान तीर्थ त के कुुनै लोकमा पनि छैन । काशी र कैलासमा कुनै फरक छैन । कैलास नित्य र शाश्वत शिवको सनातन धाम हो । काशी शिवजीले पछि सृष्टि गरेको हुन्छ । त्यसैले काशीको मूल कैलास हो । यसको अत्यधिका क्षेत्रभित्र रहेको मानसरोवरको जल ब्रह्मरस हो, त्यसैले यसलाई ब्रह्मसर पनि भनिन्छ । मानस क्षेत्र ज्येष्ठ र श्रेष्ठ भूमि हो । यसको दर्शन, परिक्रमा, आवासको ठूलो पौराणिक एवम् आध्यात्मिक महत्व रहेको छ । 


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।