४९० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०८ , १०:३१ बजे

अझै बनेन सुखडको रिपिटर टावर

Image

सुखड । कैलालीको सुखड क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा बिग्रेको महिनौं बित्दा समेत मर्मत नभएपछि उपभोक्ताले समस्या भोगिरहेका छन् ।

सुखडमा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार समस्या आइरहेपनि मर्मत गर्नतर्फ कार्यालयले ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् । नेपाल टेलिकम धनगढी कार्यालयका कर्मचारीको वेवास्ताको कारण टेलिफोन सेवामा समस्या भोग्नुपरेको सुखडका स्थानीय यज्ञराज तिवारीले बताए । करिब २ वर्षदेखि सुखड, साँडेपानी, पहलमानपुर, जोशीपुर, बौनिया, खैलाड लगायतका क्षेत्रका लागि सुखडमा राखिएको रिपिटर टावरमा समस्या आइरहेको हो ।

टेलिकमको नेटवर्कले काम नगर्ने र एनसेलको नेटर्वले मात्र काम गर्ने भएपछि उपभोक्ता बाध्य भएर एनसेलको सिमकार्ड लिन थालेको उनले बताए । नेटवर्कले काम गर्न छोडेपछि नेपाल टेलिकमका ल्यान्डलाइन, नमस्ते प्रिपेड, पोस्टपेड, सीडीएम, एडीएसएल लगायत सेवा प्रभावित भएको सुखडका व्यापारी सीताराम चौधरीले बताए । टेलिकमको एडीएसएल सेवाबाट आफूले इन्टरनेट जडान गरेको भएतापनि इन्टरनेटले काम नगर्दा हैरानी व्यहोर्नुपरेको उनले गुनासो पोखे ।

समस्याबारे नेपाल टेलिकम धनगढी कार्यालयका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठसँग जानकारी लिने प्रयास गरेपनि उनको फोन उठेन ।