४६३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०८ , ०७:४९ बजे

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

Image

बझाङ । परम्परागत खेती गर्दा जीविकोपार्जन गर्न धौंधौं भएपछि बझाङका कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित बन्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय तथा कृषिको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित बन्न थालेका हुन् । जयपृथ्वी नगरपालिका–३ पुगरलेख घर भएका रमेशबहादुर ओली अहिले सदरमुकाम चैनपुर नजिकै डुङ्ग्रीमा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । १२ रोपनी जमिनको वार्षिक २ लाख रुपैयाँ भाडा दिने सम्झौता अनुसार ओलीले व्यावसायिक तरकारी सुरु गरेका हुन् ।

सुरुमा २ लाख रुपैयाँको लगानी गरेर २ जना मिलेर तरकारी खेती गर्न थालेका ओलीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाए । कहिले तरकारी खपत नहुने, कहीले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको उनले बताए । जमिन भाडामा लिएर शुद्ध अर्गानिक तरकारी खेती गरेको सुनेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक सहयोग गरेको ओलीले बताए ।

तरकारी व्यावसायलाई जिल्लाकै नमूना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको ओलीको भनाई छ । अहिले वार्षिक झण्डै ४/५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेका बताउँदै ओलीले मौसमले साथ दिएमा राम्रो आम्दानी हुने बताए । कृषकको हौसला बढाउन जिल्ला कृषि कार्यालयले पनि आधुनिक टनेल सहयोग गरेको कार्यालयका प्राविधिक मदनराज जोशीले बताए ।

थलारा गाउँपालिका पिखेतकी शिवजला थापा पनि तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको बताउँछिन् । गाउँमा पहिलो तरकारी व्यावसाय गरेकी उनले तरकारी बिक्री गरेर घर खर्च चलाई सानो खेत किनेको र एक तोला सुन पनि किनेको उनले सुनाइन् ।

‘सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेछ,’ थापाले भनिन् । तरकारी खेती गरिरहेका किसानलाई कृषि विकास कार्यालयबाट थप आर्थिक तथा प्राविधिक सहयोग हुन थालेपछि ३० बढी किसान परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।