१४१२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०६ , १४:५५ बजे

‘वडामा निर्वाचित सबै जनप्रतिनिधि एउटै परिवार हो’

Image

– डम्बरसिंह कार्की ‘डीके’ (वडाध्यक्ष)
भीमदत्त नगरपालिका–२ कञ्चनपुर
गत असार १४ गते स्थानीय तहको निर्वाचन हुनुअघि उम्मेदवारले विकास र समृद्धिका सपना बाँडेका थिए । सपना बाँड्ने मध्येबाटै जनप्रतिनिधि निर्वाचित भएका छन् । ती मध्येका १ हुन् भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्मरसिंह कार्की ‘डीके’ ।

अहिले उनले सपना पूरा गर्ने योजना कसरी अगाडि बढाइरहेका छन् ? जनतासँग गरेका वाचा साँचिक्कै पूरा हुन्छन् त ? यसै सन्दर्भमा पत्रकार मदन गिरीले वडाध्यक्ष डम्बरसिंह कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश:

जितलाई तपाईले कसरी लिनुभएको छ ?
– सर्वप्रथम त मलाई निर्वाचित गराउन अमूल्य मत दिनुहुने वडावासीलाई धन्यवाद दिन चाहन्छु । जितसँगै यस ठाउँको विकासका लागि ममाथि जिम्मेवारी थपिएको छ । सम्रगमा मेरा वडा र वडावासीको विकासका लागि जतिसक्दो पहल गर्नेछु ।

मतदाताले तपाईलाई किन विश्वास गरे होलान् जस्तो लाग्छ ?
– म विगत ५ वर्षदेखि जल उपभोक्ता समिति ‘ब्लक सी’को महासचिवको रुपमा रहेका काम गर्ने अवसर पाइरहेको छु । यो अवसरमा मैले यहाँका वडावासीको सेवा गरेको फलस्वरुप नै वडा अध्यक्षमा निर्वाचित महसुस गरेको छु ।

विकास र समृद्धिका लागि तपाईका योजना के छन् ?
– हामी पहिलो चरणमा छौं । जुन सिंहदबारको सेवा गाउँमा ल्याउने क्रममा वडा नम्बर २ मा निर्वाचित भएर वडा कार्यालयसम्म मात्र खोल्न सकेका छौं । सुरुवाती चरणमा हामीसँग थुप्रै समस्या तथा चुनौति छन् । अहिले हामीसँग अधिकार र बजेट पुगी नसकेको अवस्था छ ।

बजेट र अधिकार प्राप्त भयो भने सर्वप्रथम वडा नम्बर २ का सडकमा ग्राभेल बिछ्याइने छ । यहाँका थुप्रै समस्यालाई समाधान गर्ने सवालमा नै हाम्रा योजना हुने छन् । वडा नम्बर २ मा हिँड्नै नसकिने खालका सडक छन् । ती सडकमा पहिलो चरणमा ग्राभेल बिछ्याइने छ । र, खानेपानीको समस्यालाई २ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता गरेको छु ।

चुनावी वाचा पूरा होलान् ?
– हामीले अघि सारेका योजनाका लागि बजेट विनियोजन हुन सक्यो भने अबको ५ वर्षमा मैले चुनावी क्रममा गरेका वाचा पुूरा हुने छन् । त्यसका लागि म प्रतिवद्ध छु ।

भीमदत्त नगरपालिकाको जल्दोबल्दो समस्या छाडा पशुचौपायाको व्यवस्थापन हो । पशुचौपाया छाडा छोड्दा नगर क्षेत्र कुरुप बन्दै गएको छ । छाडा पशुचौपायाको दीगोे व्यवस्थापनका लागि हामी पहल गर्नेछौं ।

समग्र विकासका सडक, खानेपानी, विद्युत्, सिँचाइ लगायतका समस्या समाधानका लागि पहल गरिने छ । आथिक वर्ष २०७४/०७५ का लागि वडा नम्बर २ को विकासका लागि आवश्यक बजेट विनियोजनका लागि नगरपालिकामा माग गर्ने छौं ।

वडामा तपाई अल्पमतमा पनि हुनुहुन्छ । त्यसैले तपाईले चाहेकै विषय पूरा गर्न चुनौति होला नि ?
– जतिबेला चुनाव चलिरहेको थियो । हामी चुनावमा एउटा पार्टीको झण्डा बोकेर लड्यौं । अहिले कुनै अल्पमतको कुरै छैन । वडामा ५ जनप्रतिनिधि चुनिएका छौं । यो एउटा परिवार हो । निर्वाचित जनप्रतिनिधिको सरसल्लाह अनुसार अगाडि बढ्छौं ।

दलको कार्यकर्ता भएर काम गर्दा र जनप्रतिनिधि हुँदाको फरक कस्तो अनुभूति हुँदैछ ?
– राजनीतिक दलको कार्यकर्ता भनेको झण्डामुनिको कार्यकर्ता हो । अहिले हामी जिम्मेवारीका साथ निर्वाचित भएका छौं । म एउटा पार्टीको कार्यकर्ता नभएर वडावासीको अध्यक्ष हुँ । ती सबै जनताको नेता हुँ । हामी वडाको समग्र विकास लागि कुनै पार्टी विशेष कार्यकर्ता नभएर काम गर्ने छौं ।

जल उपभोक्ता संघको ‘ब्लक सी’को काम कसरी अगाडि बढिरहेको छ ?
– जल उपभोक्ता संघले अहिले सिँचाइका लागि पानी वितरण गरिरहेको छ । भाँसी बेरियलदेखि बागफाँटासम्म सिँचाइको व्यवस्था गरिएको छ । खेतमा सिँचाइ भइरहेको छ । यद्यपी, बागफाँटाको पुछारसम्ममा पानी नपुग्ने समस्या छ । त्यसको व्यवस्थापनमा लागिरहेका छौं ।

तपाईको राजनीतिक जीवनबारे बताइदिनुस् न !
– जनज्योति बहुमुखी क्याम्पसमा प्रविणता तह पढ्दादेखि नै राजनीतिक यात्रा सुरु भएको हो । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिको क्रममा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भए । हाल वाइसीएल क्षेत्र नम्बर ३ इन्चार्जका रुपमा काम गरिरहेको छु । यस क्रममा समाज सेवा गर्ने अवसर पाएँ । अहिले जल उपभोक्ता संघ ‘ब्लक सी’को महासचिवका रुपमा रहेको काम गर्दा मलाई जनतामाझ घुलमिल हुने मौका पाएको छु ।