१०३९ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०६ , ०७:५५ बजे

मानस सभ्यताको सुरुवात र मानसखण्ड क्षेत्र

Image

नन्दपर्वतमारभ्य यावत काकागिरिसमौ !
ताबद्धै मानसखण्ड ख्यायतै नृपसत्तमः !!
(स्कन्दपुराण)
नेपालको पश्चिमी सीमा महाकाली नदी अर्थात् कालीकुमाउँदेखि सप्तकर्णाली लगायत कैलाली–कञ्चनपुरसहितको सम्पूर्ण भू–भागलाई ऐतिहासिक तथा पौराणिक ग्रन्थहरूमा ‘मानसखण्ड’ भनिएको छ । अर्थात्, नेपालको संविधान २०७२ मा उल्लेख गरिएको प्रदेश नम्बर ७ को पौराणिक नाम मानसखण्ड हो । मानसखण्ड भनेको काली–कर्णाली जलाधार क्षेत्र हो, जसको सम्बन्ध प्राचीन इतिहाससँग रहेको छ । वेद, पुराण तथा इतिहासमा मानसखण्डको वर्णन पाइन्छ ।

पुराणहरूमध्ये सबैभन्दा ठूलो स्कन्दपुराणले हिमालयलाई ५ खण्डमा विभाजन गरेको छ । जसअनुसार ‘अग्रेमानस प्रस्तावे तथा नेपालके मुनी’ भनेर सबैभन्दा पहिले मेरु कैलाशलाई महाहिमाल भनिएको छ । यसैलाई आधार मानेर मानसखण्डलाई पहिलो खण्ड मानिएको छ । दोस्रो खण्डको रुपमा नेपाल खण्डलाई लिइएको छ । जसको विस्तृत वर्णन हिमावत खण्डमा पाइन्छ । गण्डकी, कौशिकी, त्रिशुली नदी तथा पशुपति, मुक्तिनाथ, गुहेश्वरीदेवी मूल देवताका रुपमा लिइएको छ ।

तेस्रो खण्डका रुपमा कश्मिर खण्डलाई लिइएको छ । निलमत पुराणमा यसको व्यापक वर्णन पाइन्छ । वैष्णवदेवी, अमरनाथ यहाँका मुख्य देवता रहेका छन् । चौथो खण्डका रुपमा जालन्धरखण्डका रुपमा लिइएको छ । यसको वर्णन देवी भागवत आदि पुराणमा पाइन्छ । ज्वाला, नैनादेवी, हिगंला भगवति यहाँका आराध्यदेव रहेका छन् भने हाल भारतका पञ्जाव र हिमाञ्चल राज्य यस अन्तर्गत पर्दछन् ।

पाँचौ तथा अन्तिम खण्डका रुपमा केदारखण्ड अर्थात् बद्रिनाथ, केदारनाथलाई लिइएको छ । निलकण्ठ यहाँका प्रमुख देवताका रुपमा लिइन्छन् । यसको व्यापक वर्णन स्कन्द पुराणमा पाइन्छ । यी पाँचै खण्ड आ–आफ्नो क्षेत्रमा गरिमा र महिमाले युक्त छन् । यी क्षेत्र देवभूमिका रुपमा रहेका छन् । यिनीहरूमध्ये पनि मानसखण्डलाई स्कन्दपुराणले अतिधेरै महत्व दिएको पाइन्छ । यसको कारण हो– यो मानस क्षेत्र देवभूमि मात्र नभइ मानस अर्थात् मानिसको उत्पत्तिको थलो हो, राक्षसहरूको तपस्थली पनि हो । यसको उदाहरणका रुपमा मानससरोवर मानिसको उत्पत्तिको थलो हो भने लंका सरोवर राक्षसहरूको तपस्थली अर्थात् उद्गम स्थल हो ।

यस आधारमा मानस सरोवर क्षेत्रको जल नै पूर्वमा ब्रह्मपुत्र, पश्चिममा सिन्धु, उत्तरमा सतलज र दक्षिणमा मानसी कर्णाली नदीका रुपमा प्रवाहित हुन्छन् । पश्चिम नेपाल तथा उत्तर भारतका सम्पूर्ण गंगा, जमुना, सुरयू, सरस्वती, काली, सेती, भेरी, अलखनन्दा, मन्दाकिनी, गौरी–धौली, गंगा लगायतका सम्पूर्ण नदीहरूको मूलस्रोत मानसरोवर नै हो । त्यसैले यी नदीहरू अति पवित्र मानिनुका साथै मानसपुत्रीका रुपमा लिइन्छन् । पूर्वतिर बग्ने ब्रह्मपुत्रलाई पुरुष नदीका रुपमा लिइन्छ भने बाँकी सम्पूर्ण नदीहरूलाई स्त्रीका रुपमा मानससरोवरबाट निस्केको मानिन्छ ।

सृष्टिकर्ताले मानसखण्ड क्षेत्रमा नै सर्वप्रथम मानिसको सृष्टि गरेको हुनाले यसलाई मानस भूमि भनिएको हो । वेदमा कसैलाई दुःख नदिऔं भन्ने अर्थमा मानस शब्द प्रयोग भएको पाइन्छ । मानस शब्दले हृदयको पवित्रतालाई जनाउँछ । ऋषि मनको शुद्धता, पवित्रता, मानवता, मानसका जलमा तरङ्गित भएको पाइन्छ । त्यसैले मानसबाट निस्कने हिमनदीको जलपान गर्दा शान्ति र पवित्रता पाइन्छ ।

वाल्मिकी रामायणका अनुसार ब्रह्माजीले मेरु कैलाश नजिक पहिलो पटक एउटा सरोवरको निर्माण गरे, जसलाई मनबाट प्रकट गरेको हुनाले मानस सरोवर भन्न थालियो । लघु सागरका रुपमा त्यो नन्दागिरीदेखि काकान्द्री हिमाल तथा कैलाश हिमालदेखि ब्रह्मगिरीसम्म फैलिएको थियो । पछि राजा मान्धाताले त्यस सरोवरको निकास गरी बस्न लायक बनाएका थिए । यिनै राजाको राजधानी आज पनि मान्धाता पर्वतका रुपमा कैलाश मानसरोवर जाने बाटोमा पर्दछ ।

कुनै समय सागरका रुपमा रहेको मानस सरोवर नै यस क्षेत्रका ठूला–साना नदी, ताल, सरोवर तथा कुण्डहरूको मूल स्रोत हो । अवशेषका रुपमा रहेका हालको मानसरोवर, लंकादह, गौरीकुण्ड, रामसर अर्थात् रारा ताल, संज्ञातीर्थ अर्थात् घोडाघोडी, बुलबुल ताल, तिलिचो ताल, सुरमा, झिलमिला ताल, रानीताल, आलिताल आदि रहेका छन् । मालिकार्जुन (दार्चुला), बैजनाथ (अछाम), नागेश (कुमाउँ), केदार (पहाड), सोमनाथ (बैतडी स्वराड) तथा त्रिपुरासुन्दरी, उग्रतारा, शैलेश्वरी, नन्दादेवी, मालिकादेवी, सुर्मेश्वरी, परशुराम, भागेश्वर पाताल, भुवनेश्वर, गोदावरी, ज्वालादेवी, घटाल, कार्तिकेय, छायानाथ आदि तीर्थस्थलहरूले मानसखण्डको पौराणिकता दर्शाउँछ ।

कैलाली जिल्लामा पर्ने घोडाघोडी क्षेत्रमा सुर्यपत्नी संज्ञाले तपस्या गरेको र त्यहीँ घोडी (आश्विनी) रुप धारण गरेकी थिइन् भने सुर्यले घोडा (अश्व) रुप धारण गरेका थिए । घोडाघोडी रुपमै अश्विनीकुमार जन्मिएका थिए । पछि यिनै अश्विनीकुमार च्यवन ऋषिका कारणले देववैद्य बन्न पुगेका थिए । यसरी मानसखण्ड क्षेत्रमा ४० हजार तीर्थ रहेको कुरा स्कन्दपुराणले प्रमाणित गर्छ ।

मानसखण्ड नै मानिसको आदिम थलो हो । यसलाई अब कसैले पनि नकार्न सक्दैनन् । आजसम्मका कतिपय विद्वानहरूले वैदिक हिन्दूहरू पश्चिमबाट वेद लिएर पूर्व आएका भनि कपोलकल्पिक कुरा लेखिदिएका हुन् । वास्तवमा सृष्टिको इतिहासलाई पुनः मूल्याङ्कन गर्ने हो भने वेद हिमालको काखमा लेखियो । मानिस मानसको तटमा जन्मियो । यो तथ्य प्रमाणित छ ।

मेरु हिमालमा लेखिएका वेद र मानसबाट जन्मिएका मानिस मरुस्थलमा प्रकाशमा आएका हुन सक्छन् । वास्तवमा मानस सभ्यताको नेतृत्व कुरु–कौशल, जुम्ला–सिंजा राज्यले गरेको इतिहास ज्यूदै छ । जसलाई आज पनि सिंजा सभ्यताका नामले पुकारिन्छ । मानसखण्डलाई श्रीखण्ड/श्रीक्षेत्र पनि भनिन्छ । यहाँको मुख्य देवता श्रीरहेको छ । जसलाई मानसी गौरा पनि भनिन्छ । गौराको उत्पत्ति गौरीकुण्डबाट भएको हो । गौराको अर्थात् श्रीको भूमि भएको हुनाले यहाँ स्त्रि (महिला) लाई पनि जनै लगाउने र वेद पढ्ने अधिकार दिइएको छ । आर्य नारीहरूले सनातन परम्परा बहन गर्दै वेद पढेको र जनै लगाएको एक मात्र उदाहरण मानसखण्डका नारी समुदायमा देख्न सकिन्छ । यो विशेषता अन्यत्र कही पनि छैन, यो नै मानसखण्डको प्रमुख विशेषता पनि हो ।

वैदिक हिन्दू र अवैदिक हिन्दू दुबैका लागि मानसखण्ड क्षेत्र तपस्या, साधना, संस्कार, संस्कृति र भाषा साहित्यका दृष्टिले अति उर्बर भूमि रहेको छ । गौतम बुद्ध, ऋषभदेव, महावीर, जैन, आद्य गुरु शंकराचार्य, गुरु नानकदेव, चन्दननाथ, महात्मा केवलानन्द, खप्तड स्वामी, स्वामी विवेकानन्द, दलाई लामा, स्वामी पूर्णवानन्द आदि महापुरुषले यसै मानस भूमिबाट उर्जा आएको इतिहास छ । कुनै समयमा सुवर्णभूमिका नामले प्रसिद्ध यो क्षेत्र अत्यन्तै समृद्धशाली, वैभवशाली थियो । यहाँका पहाडहरू सुन र नूनका थिए ।

नदीमा सुन बग्ने गथ्र्याे भन्ने प्रमाण कर्णालीको किनारमा वालुवा चालेर सुन खोज्ने एक श्रमिकबाट प्रमाणित हुन्छ । यो क्षेत्र प्राचीनकालदेखि नै देव जाति, जाति, जनजाति, सूचितजाति, अनुसूचितजाति सबैको साझा थलो थियो भन्ने कुरा व्यासी, मुगाली, राउटे आदिबाट प्रष्ट हुन्छ । हिन्दू, बौद्ध, सिख, जैन, किरात, सम्प्रदायका लागि मानसखण्ड तीर्थस्थल हो भन्ने कुरा पहिले नै पुष्टि भइसकेको छ ।

सत्ययुगदेखि कलियुगसम्म पनि मानसको महत्वमा कुनै कमी आएको छैन । आजसम्म पनि रामपातल, रामकी वरायल, सिताकी वरायल, रामसिला, रामारोशन, रामसर (रारा ताल), पाण्डवगुफा, भीमचुला, पाण्डव नदी, परशुराम, गोपीवन जस्ता पौराणिक देवीदेवताको नाममा नामाकरण भएका ठाउँहरू रहेको यो क्षेत्र प्राचीन हो भनिरहनु नपर्ला ।

मानसखण्ड आफैंमा पूर्ण र परिपूर्ण राज्य हो । भाषा, साहित्य, कला संस्कृतिका दृष्टिले अत्यन्तै धनी छ । पर्यटनको क्षेत्रमा यसमा पनि धार्मिक पर्यटनमा त नेपालको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । नेपाली भाषाको प्रथम अक्षर ‘ॐ मणिपद्मे’ मानसभूमिकै उपज हो । यस राज्यको मूल भाषा संस्कृत रहेपनि हाल सिंजाली, खस, नेपाली, मानसी भाषाका अनेक भाषिकाहरू प्रयोगमा आएका छन् । नेपाली, व्यासी, डगौरा, राना, मुगाली, चुरेटी, कठरिया जस्ता भाषा भाषिका पनि रहेका छन् । आज पनि औपचारिक पत्रहरूमा लिखितम्, अथश्री, इतिश्री भनेर संस्कृति भाषालाई नै सम्मान तथा अघिल्लो पंक्तिमा राखेको पाइन्छ । शिवभूमि भएको हुनाले शिवडमरुलाई परिमार्जित गरी बनाइएको हुड्को मानसखण्डको राष्ट्रिय बाजा हो । यसको माध्यमले लोकसाहित्य र लोकसंस्कृतिका बान्कीहरू अभिव्यञ्जित हुने गर्दछन् ।

कैलाश पर्वत् यस खण्डको शिरको टोपी हो । मानस सरोवर तथा लंका सरोवर २ आँखा हुन् भने गौरीकुण्ड निधारको श्रीबिन्दु हो । जो आज पनि मानिसको टाउकोमा चम्किरहेको छ । कैलाश मानससरोवरको दर्शन तथा परिक्रमा गर्दा पहिले महाकाली तटका तीर्थस्थलको दर्शन र स्नान गरेपछि मात्र मानससरोवर स्नान र कैलाश दर्शन गरिन्छ ।

त्यसपछि परिक्रमा गरेर कर्णाली तटका तीर्थस्थलहरूको दर्शनपछि ज्वालातीर्थमा पूर्णाहुतीको मेधा दर्शन गरी ब्रह्मकुण्ड महाकाली नदीमा अवभृत स्नान गरिन्छ र कैलाश–मानस सरोवर यात्रा पूरा हुन्छ । मानसखण्ड क्षेत्रको परिक्रमा बिना यो यात्रा अपूरो हुन्छ । यो परिक्रमा गर्दा ४० हजार तीर्थको परिक्रमा हुने गर्दछ ।


मानसखण्डको विस्तारको कुरा गर्दा कैलाश पर्वत्, मानस सरोवर, लंकादह, गौरीकुण्डलाई अन्तिम उत्तरी सीमा मानिन्छ भने पश्चिममा नन्दागिरी, लोहाघाट, देश चम्पावत् अर्थात् महाकाली पश्चिम तटीय क्षेत्र एवम् पूर्वमा कर्णालीको पूर्वी तटीय इलाका र दक्षिणमा संज्ञातीर्थ, ब्रह्मगिरी लगायत वर्तमानको कैलाली कञ्चनपुर जिल्लाको सम्पूर्ण भूभाग रहेको संकेत पाइन्छ ।


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।