३६० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०३ , १०:२९ बजे

मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

Image

बैतडी । प्रदेश सभा सदस्य निर्वाचन हुने भएपछि निर्वाचन कार्यालयले पनि तयारी सुरु गरेको छ ।

फोटोसहित मतदाता परिचयपत्र बनाउन साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली र अद्यावधिक गर्न थालेको छ । सोमबार जिल्लास्थित राजनीतिक दल सञ्चारकर्मीको बैठकमा यसअघि नाम दर्ता छुट भएका र योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश नभएका र नाम, ठेगाना गलत भएका धेरै मतदाताले मताधिकार प्रयोग गर्न नपाएको गुनासो स्थानीयले गरेका थिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरे पनि नामावलीमा नाम छुटेर धेरै मतदाता मताधिकारबाट वञ्चित भएको गुनासो समाधानको लागि आयोगले नाम दर्ता र अद्यावधिक कार्यक्रम गर्न थालेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुयालले बताए । जिल्लास्थित राजनीतिक दलले मतदाता नामावली संकलन गर्ने समय छोटो र प्रत्येक गाउँपालिकामा टोली पठाउनुपर्ने बताएका छन् । समय छोटो भएकाले मतदाता नामावली संकलनको समय छोटो राख्नुपर्ने बाध्यता भएको निर्वाचन कार्यालयले राखेको छ ।

जनशक्ति अभाव आर्थिक र प्राविधिक कारणले जिल्ला निर्वाचन कार्यालयमा मात्र नाम दर्ता र अद्यावधिक गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।