३५५२ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०३ , ०८:३३ बजे

चोरीका सवारीसाधन खरिदबिक्रीमा ‘डीएसपी सम्म संलग्न’

Image

महेन्द्रनगर। चोरीका सवारीसाधन खरिदबिक्री गर्ने र नक्कली बिलबुक बनाउने कार्यमा सुरक्षा निकायका प्रहरी नायव उपरीक्षक (डीएसपी) सम्मको संलग्नता देखिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार चोरीका सवारीसाधन किनेर सुरक्षा निकायकै डीएसपीसम्मले प्रयोग गरिरहेको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीले किनेर प्रयोग गरिरहेका चोरीका सवारीसाधन समेत छानविनको अनुसन्धानको दायरामा आएका स्रोतले जनाएको छ । अनुसन्धान चलिरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गर्न मानेन ।

सरकारी कागज कीर्ते गरी सवारीसाधन बिक्री गर्ने समूहलाई कञ्चनपुर प्रहरीले गत असार २९ गते प्रक्राउ गरेपछि सवारीसाधन खरिद गर्नेहरू आफैं आएर प्रहरीमा सवारीसाधन बुझाउन थालेका छन् । सरकारी कागजात कीर्ते गरी भारतबाट चोरी गरेर ल्याएका सवारीसाधान बिक्री गर्ने २ जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेपछि ठगीमा परेकाले आफैं जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सवारीसाधन बुझाइरहेका हुन् ।

सोमबारसम्म २८ जनाले प्रहरीमा सवारीसाधन बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाश चन्दले जानकारी दिए । प्रहरी उपरीक्षक चन्दका अनुसार सोमबारसम्म १० कार र १८ मोटरसाइकल प्रहरीमा पुर्‍याइएको छ ।

से१च ५२५ नम्बरको जीपकार, से१च १८१० होन्डा जीपकार, म१च ५२३ नम्बरको होन्डा सिटी जीपकार, मे१च नम्बरको ५१४ कार, से१च १८०९ नम्बरको जीपकार, से१च ५०९ नम्बर, से१च १७८०, ध१च ६१३ नम्बरको जीपकार, एचआर ५१ बीए ९३२७ नम्बरको जीपकार र म१च ५१३ नम्बरको जीपकार खरिदकर्ताले नै प्रहरीमा बुझाएको एसपी चन्दले बताए ।

रोयल इनफिल्ड ब्राण्डको से६प ७६७७, म२प ६३५४, से५प ७५५१ र से५प ८२९९, सुपर स्पेलण्डर से५प ५५३४, म२प ६१४५, म२प ५८७७ तथा नम्बर नखुलेका ४ मोटरसाइकल पनि प्रहरी समक्ष बुझाइएको छ । आरटीआर अपाची म२प ६३२०, म२प ६३८८, बजाज पल्सर म२प ६३९०, बुलेट भे१प ७३, यामाहा आर फिप्टिन से५प ८१७९, आरटीआर सेतो से५प ८१८० पनि खरिदकर्ताले प्रहरी समक्ष बुझाएको एसपी चन्दले बताए ।

प्रहरीले प्रारम्भिक चरण असार २९ गतेसम्म ४ कार, १ जीप र ३ वटा मोटरसाइकल गरी ८ वटा सवारीसाधन बरामद गरेको थियो । त्यसपछि चोरीका सवारीसाधन खरिदकर्ताले आफैं प्रहरीमा आएर सवारीसाधन बुझाउन थालेका छन् ।

सोमबारसम्म २८ सवारीसाधन प्रहरी नियन्त्रणमा आएका छन् । प्रहरी स्रोतका अनुसार सवारीसाधन खरिद गर्नेमा सर्वसाधारणदेखि प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, यातायात व्यवस्था कार्यालय महाकालीका कर्मचारी, यातायात व्यवस्था कार्यालय सेतीका कर्मचारी, वनका कर्मचारी र व्यापारी रहेका छन् । सवारीसाधन खरिद गर्ने तथा ठगीमा परेका व्यक्तिले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेको प्रहरी उपरीक्षक चन्दले बताए ।

भारतबाट चोरी गरेर ल्याइएका सवारीसाधनलाई भन्सार लिलामी भएका भनेर छोटी भन्सार कार्यालय गुलरिया र पथलैया भन्सार कार्यालको नाममा नक्कली कागज कीर्ते गरी यातायात कार्यालयमा दर्ता गर्ने कैलालीको भजनी नगरपालिका–३ का गोकुलप्रसाद श्रेष्ठ र दार्चुलाको हिकिला घर भई हाल भीमदत्त नगरपालिका–४ बस्दै आएका हिमाल जोशीलाई प्रहरीले असार २९ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिविरुद्ध सरकारी कागजात कीर्ते दस्तखत मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चन्दले बताए । ‘यातायात व्यवस्था कार्यालय महाकाली र यातायात व्यवस्था कार्यालय सेतीका कर्मचारीसँगको मिलोमतोमा यातायात कार्यालयको अभिलेखमा दर्ता गरेर मंहगो मूल्यका सवारीसाधन सस्तोमा बिक्री गरेको पाइएको छ,’ प्रहरी उपरीक्षक चन्दले भने ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट १ लाख रुपैयाँ नगद, बैंक अफ काठमाडौंको १५ लाख रुपैयाँको चेक र सुस्मिता बमको नामको २ वटा चेक, २ वटा ल्याप्पटप, एउटा सुनको सिक्री, ९ वटा मोटरसाइकल, एउटा कार, २ वटा खाली बिलबुक, मोवाइल, चाँदीको बास्रलेट, ३ वटा चेकबुक, सरिका मल्टी ट्रेडर्सको बिल जफत गरेको थियो ।

प्रहरी उपरीक्षक चन्दका अनुसार श्रेष्ठले चारपांग्रे गाडी ८ लाख रुपैयाँसम्ममा भारतबाट ल्याएर नेपालमा १० देखि २५ लाख रुपैयाँसम्ममा बेचेको र मोटरसाइकल ७० हजारसम्ममा ल्याएर ३ लाख रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठले कीर्ते कागजातका आधारमा दर्ता गरी बिक्री गरेका ८ वटा सवारीसाधन बरामद गरेको छ । जसमध्ये ५ कार र ३ वटा मोटरसाइकल बरामद गरेका थियो ।

श्रेष्ठले भारतीय नागरिक आलोक श्रीवास्तव, सन्नी सरदार, जानी भाई लगायतका तस्करसँग मिलेर चोरीका सवारीसाधन कम मूल्यमा नेपालमा बिक्री गर्ने गरेका थिए । श्रेष्ठले टीकापुर नगरपालिका–१ मा सञ्चालन गरेको गोकुल रोयल मोटरसाइकल ग्यारेजबाट सवारीसाधनको नम्बर फेरबदल गर्ने तथा मर्मत गर्ने र आवश्यक कागजात तयार गरी बिक्री गर्ने गरेका थिए । सवारीसाधन खरिद गर्नेहरू कैलाली र कञ्चनपुरका रहेका छन् ।