३४३ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०२ , १०:५८ बजे

महाकालीमा १२ प्रतिशत बढी आन्तरिक राजश्व संकलन

Image

महेन्द्रनगर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा लक्ष्यको १२ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गरेको छ ।

महाकाली अञ्चलभरि कार्यक्षेत्र रहेको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा ८७ करोड ६ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा ९७ करोड ४७ लाख ९१ हजार कर संकलन गरेको छ । जुन लक्ष्यभन्दा १० करोड ४१ लाख ६ हजार रुपैयाँ अर्थात् १२ प्रतिशतले बढी हो । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका कर अधिकृत भरतकुमार जोशीले करदाता शिक्षाको प्रभावकारिता, अनुगमन तथा कर नतिर्नेलाई कारवाही गरेकाले कर लक्ष्यभन्दा बढी संकलन भएको बताए ।

‘समयमा कर नबुझाउने करदाताको बैकं खाता, जग्गा जमिनको कारोवार रोक्का समेत गरिएको छ,’ कर अधिकृत जोशीले भने । गत आर्थिक वर्षमा आयकरतर्फ ३६ करोड ८२ लाख २६ हजार रुपैयाँ कर संकलन गर्ने लक्ष्य रहेकोमा ५ प्रतिशत बढी ३८ करोड ६१ लाख ८० हजार रुपैयाँ कर संकलन गरिएको छ । मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ५३ लाख ४१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा ३३ करोड ४२ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरिएको जोशीले बताए ।

अन्तशुल्कतर्फ १३ करोड ४१ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले १९ करोड ६२ लाख १६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले स्वास्थ्य सेवा कर ५५ लाख ९५ हजार रुपैयाँ र शिक्षा सेवा कर ५४ लाख ५६ हजार रुपैयाँ संकलन गरेको छ । घर बहाल कर ३ करोड ३६ लाख २५ हजार रुपैयाँ संकलन गरेको जोशीले बताए ।

व्याज करमार्फत् १ करोड ८३ लाख ९८ हजार रुपैयाँ राजश्व उठाएको छ । कार्यालयले गत आर्थिक वर्षमा ४ करोड ९३ लाख १६ हजार रुपैयाँ बक्यौता संकलन गरेको र थप २ करोड ८६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको कर अधिकृत जोशीले बताए । ‘बक्यौता संकलनका क्रममा कार्यालयले ३८ करदातामाथि कारवाही गरेको छ,’ उनले भने ।

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा २३ हजार ४ सय ४८ करदाता रहेका छन् । कार्यालयले बजार अनुगन गरी २६ सय २७ व्यावसायीलाई करको दायरमा ल्याएको र ७७ करदातालाई भ्याटमा दर्ता गरिएको कर अधिकृत जोशीले बताए । कार्यालयले ३ सय ४ घरमा अनुगमन गरी १६ लाख १९ हजार रुपैयाँ घरबहाल कर संकलन गरेको छ ।

गत आर्थिक वर्षमा कार्यालयले करदाता शिक्षा सम्बन्धी २९ वटा कार्यक्रम गरेको थियो । ‘निजी कम्पनी तथा संघसंस्थाले नाफाको २५ प्रतिशत कर तिर्नुपर्ने र व्यक्तिगत फर्मले ४ लाख रुपैयाँभन्दा बढी नाफामा १५ प्रतिशत, २५ लाख नाफामा २५ प्रतिशत र सोभन्दा माथि नाफामा ३५ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ,’ कर अधिकृत जोशीले भने ।

आर्थिक वर्ष २०७२/७३ मा कार्यालयले लक्ष्यको ५ प्रतिशत बढी ७४ करोड ३३ लाख १७ हजार राजश्व संकलन गरेको थियो । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले महाकालीका ४ वटै जिल्लाको राजश्व संकलन गर्दै आएको छ भने विगतका केही महिनादेखि दार्चुला, बैतडी र डडेल्धुराका करदाताले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा राजश्व बुझाउन सकिने व्यवस्था पनि गरिएको कर अधिकृत जोशीले बताए ।

 


सम्बन्धित