६५६ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०२ , ०८:१९ बजे

कैलालीमा १ अर्ब ३५ करोड बजेट फिर्ता

Image

धनगढी । कैलालीमा आर्थिक वर्ष २०७३/०७४ मा निकासा भएकोमध्ये १ अर्ब ३५ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता गएको छ ।

पूँजीगततर्फ ६ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५ अर्ब १३ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । उक्त खर्च बजेट ७९ दशमलव १३ प्रतिशत मात्रै हो । बाँकी २० दशमलव ८७ प्रतिशत बजेट फिर्ता भएको छ ।

चालूतर्फ ८५ दशमलव १ प्रतिशत बजेट मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मदनराज पाण्डेले कैलालीमा १ अर्ब ३५ करोड विकास बजेट फिर्ता भएको जानकारी दिए । २०७२÷७३ भन्दा २०७३/७४ मा बजेट कम खर्च भएको उनले बताए । निकासीमा हुने ढिलाइ र प्राविधिक कारणले बजेट फिर्ता हुने गरेको उनको भनाई छ । कैलालीमा सबैभन्दा बढी हुलाकी सडक कार्यालय, जल उत्पन्न कार्यालय, राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजनाको ९९ प्रतिशतभन्दा बढी रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत वर्ष कैलालीमा सबैभन्दा बढी सहरी तथा भवन डिभिजन कार्यालयको रकम फिर्ता भएको थियो । गत आर्थिक वर्षमा भवन डिभिजनको कुल बजेटको ३८ प्रतिशत मात्र खर्च भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनले जिल्ला समन्वय समितिको कुल बजेटमा ८७ प्रतिशत खर्च भएको बताए ।

कैलालीमा असार महिनामा सबैभन्दा बढी रकम खर्च भएको छ । पाण्डेले असारमा मात्रै कुल बजेटको ३२ प्रतिशत रकम खर्च भएको बताए ।

 

 


सम्बन्धित