१०१४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०२ सोमबार, ०७:५१ बजे

कञ्चन बैंकको मुनाफा ११ करोड ५४ लाख

Image


महेन्द्रनगर । महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ मा ११ करोड ५४ लाख मुनाफा आर्जन गरेको छ ।

कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई स्थापना भएको क्षेत्रीय स्तरको विकास बैंक कञ्चनपुरले २०७३/०७४ मा २ अर्ब ८२ करोड ३३ लाख ७२ हजार निक्षेप संकलन गरेको छ । २ अर्ब ३० करोड ८६ लाख ४३ हजार रुपैयाँ बराबर कर्जा लगानी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत वीरुराम जैसीले विज्ञप्तिमार्फत् जनाएका छन् । कञ्चन बैंकका हाल ९३ हजारभन्दा बढी सेवाग्राही रहेको जनाइएको छ ।


सेवाग्राहीको मागलाई ध्यानमा राखी मोवाइल बैकिङ्ग सेवा, एटीएम सेवा, इसीसी सेवा, विभिन्न कम्पनीका रेमिट्यान्स भुक्तानी सेवाका साथै विपन्न वर्गलाई लक्षित गरी लघुवित्त कर्जा सुविधा सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत जैसीले बताए । बैंकले विभिन्न किसिमका मुद्दति खाता, २२ किसिमका बचत योजनाका साथै १५ किसिमका कर्जा योजनाका सुविधा सेवाग्राहीलाई प्रदान गरेको जनाइएको छ ।

आगामी दिनमा सेवाग्राहीलाई अझ बढी सुविधा दिने गरी योजना ल्याइने उनले प्रतिवद्धता जनाए । ‘नेपाल राष्ट्र बैंकमा पेश गरेको पूँजीवृद्धि योजना अनुसार नै चूक्ता पूँजी ५० करोड पुर्‍याउने लक्ष्य लिइएको छ,’ जैसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकको सञ्जाल कार्यक्षेत्रभित्र विस्तार गरी ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउनका लागि शाखा विस्तार योजनालाई व्यापक बनाइने छ ।’

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा केन्द्रीय कार्यालय रहेको कञ्चनका कञ्चनपुरमा ६ शाखा र १ एक्सटेन्सन काउण्टर, कैलालीमा ६ शाखा तथा डडेल्धुरामा १ गरी १३ शाखा र १ एक्सटेन्सन काउण्टर रहेका छन् ।


About Author
-मानसखण्ड