७०० पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०१ आइतबार, १०:१० बजे

कञ्चनपुरमा ९० प्रतिशत धान रोपाइँ

Image

महेन्द्रनगर । कञ्चनपुरमा ९० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

यस वर्ष मनसुन असार १५ गतेपछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएकाले धान खेती हुने भूमिको ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ । कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नवराज जोशीले दोस्रो चरणको स्थानीय तहको चुनावले गर्दा असारमै सकिने रोपाइँ साउनसम्म पुगेको बताए । अन्य क्षेत्रमा पनि रोपाइँ चलिरहेकाले २/३ दिनभित्र शतप्रतिशत रोपाइँ सम्पन्न हुने उनको भनाई छ ।

गत वर्ष यो समयमा जिल्लामा रोपाइँ सम्पन्न भइसकेको थियो । कुल भूमिमध्ये ४८ हजार ३ सय ९६ हेक्टर जग्गामा यस वर्ष रोपाइँ हुने उनले बताए । धानखेती हुने जग्गाको ८० प्रतिशत क्षेत्रफलमा सिचाइँ सुविधा रहेको भएपनि बाँकी २० प्रतिशत क्षेत्रमा आकाशे पानी, बोेरिङमार्फत् रोपाइँ हुने गरेको बाली संरक्षण अधिकृत जोशीले जानकारी दिए ।

गत वर्ष जिल्लाको ४८ हजार ७ सय ९६ हेक्टर जग्गामा धानखेती गरिएकोमा यस वर्ष ४८ हजार ३ सय ९६ हेक्टर अर्थात् ३ सय हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको उनले बताए । उनका अनुसार यस वर्ष उखुखेती, तरकारी तथा केराखेती गर्ने कृषकको संख्यामा बृद्धि भएकाले धानखेती हुने जमिन घटेको हो ।

 


About Author
-भवानीदत्त भट्ट