३९४ पटक हेरिएको
प्रकाशित: २०७४ श्रावण ०१ , ०८:२५ बजे

जुड्डी खोलाबाट २ सय किलोवाट विद्युत् उत्पादन

Image

बाजुरा। बाजुराको जुड्डी खोला लघु जलविद्युत् आयोजनाबाट २ सय किलोवाट विद्युत् उत्पादन भएको छ ।


विद्युत् उत्पादनले २४ सय परिवार लाभाम्वित भएका छन् । जनश्रमदानसहित १२ करोड रुपैंयाँको लागतमा निर्माण भएको आयोजनाले बिहीबारबाट विद्युत् उत्पादन सुरु गरेको हो । यो आयोजनाले साविकका ४ गाविस गोत्री, जगन्नाथ वाई र जुकोटलाई विद्युत् सेवा उपलब्ध गराउने आयोजना प्रमुख मनलाल खत्रीले बताए ।

उनका अनुसार वैकल्पिक उर्जाबाट ५ करोड १० लाख, साविकका ४ गाविसको अनुदान सहयोग, सांसद विकास कोष, तत्कालीन जिल्ला विकास समिति र स्थानीय जनश्रमदानमा जलविद्युत् आयोजनाको निर्माण गरिएको हो ।

झरो, दियालो र टुक्कीको भरमा रात काट्दै आएका बाजुरावासीले गोत्रीमा रहेको जुड्डीखोला पावरहाउसबाट २ सय किलोवाट विद्युत् उत्पादन भएपछि अब उज्यालो पाउने आश गरेका छन् । जुड्डीखोला आयोजनाका सचिव जगत ण्डारीले केही दिनमा गाउँगाउँमा विद्युत् लाइन वितरण गर्ने जानकारी दिए । विद्युत् महसुल पनि उपभोक्तासँग सल्लाह गरेर निर्धाण गरिने उनले बताए ।

विद्युत् उत्पादन भएसँगै ग्रामीण भेगकासासाना कुटिर उद्योग, कुखुरा फर्म, जडीबुटी प्रशोधन, मसला उद्योग लगायतका उद्योग सञ्चालन गरी स्थानीयको आयआर्जनमा पनि बृद्धि ल्याउन सकिने जिल्ला उर्जा तथा वातावरण शाखाका प्रमुख इन्जिनियर तालवहादुर रावतले बताए । हालसम्म बाजुरामा करिब १४ सय किलोवाट विद्युत्ले १५ हजार घरधुरी उज्यालोमा थिए । जुड्डी खोलाबाट २ सय किलोवाट थप हुँदा १७ हजार परिवार लाभान्वित हुने छन् ।

बाजुरामा अझैं ७ हजार घरधुरी उज्यालोबाट वञ्चित छन् । बाजुराका सबै गाउँमा विद्युत् पुर्‍याउन ३ मेगावाट विद्युत्को आवश्यकता छ ।