७२४ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ३० , ०९:५० बजे

चैनपुरमा दूधको अभाव

Image

बझाङ । बझाङ सदरमुकाम चैनपुरमा दूधको अभाव देखिएको छ ।

दूधको उत्पादन नै न्यून हुन थालेपनि धेरै पशुपालक किसानले डेरीमा दूध पुर्‍याउन छोडेका छन् । दुध उत्पादन सहकारी संस्थाद्वारा सञ्चालित शर्मा डेरी उद्योगमा दूध अभाव हुने गरेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाका कार्यक्रम संयोजक राजेन्द्र खड्काले बताए ।

विशेष गरेर कोटदेवल, रनाडा र सुबेडाका कृषक दूध बिक्री गर्ने गरेका थिए । ‘कोटदेवल र रनाडाका किसानले आफ्ना गाईभैसी लेकतर्फ लगेपछि बजारमा दूध आउन छोड्यो,’ खड्काले भने, ‘जसका कारण सदरमुकाम चैनपुरमा दूध अभाव भएको हो ।’

कृषकले डेरीमा दूध ल्याउन छोडेपछि दैनिक ८०/९० बढी ग्राहक दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम नपाएर फिर्ता जाने गरेको सुर्मा डेरी सञ्चालिका अनिता रोकाया सिंहले बताइन् । सुवेडाका केही कृषकले मात्र दूध ल्याउने गरेपनि अन्य क्षेत्रबाट दूध आउनै छोडेको उनले बताइन् ।

यूएमएन तथा महिला कल्याण वचत तथा ऋण सहकारी संस्थाले दूग्धजन्य पदार्थ उत्पादन गर्ने औजार अनुदानमा दिएपनि डेरी सञ्चालनमा आएको थियो । डेरीबाट अहिलेसम्म १२ लाख ३२ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको सहकारीले जनाएको छ । कर्मचारीलाई तलब भत्ता कटाई, कृषकको दूधको पैसा सबै फिर्ता गरी ढुवानी रकम कटाएर सहकारीलाई ८४ हजार ९० रुपैयाँ मुनाफा भएको जनाइएको छ ।