२४२६ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २६ , १०:५३ बजे

सुदूरका ३/३ जिल्लामा एमाले र कांग्रेसको एकलौटी नेतृत्व

Image

महेन्द्रनगर । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनका लागि कसरतमा लागेका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाको मतपरिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ३/३ जिल्लामा एकलौटी जिल्ला समन्वय समिति गठन गर्न सक्ने देखिएको छ । संविधान अनुसार जिल्लाभित्रका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष रहेको जिल्ला सभा बन्नेछ, जसले जिल्ला समन्वय समितिको गठन गर्नेछ । जिल्ला समन्वय समिति गठनका लागि जिल्ला सभाका सदस्यले मतदान गर्ने छन् ।

संविधानतः बन्ने जिल्ला सभामा नेकपा एमालेले कञ्चनपुर, डोटी र बझाङमा बहुमत पाएको छ । कञ्चनपुरमा ९ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी एमालेले १२, कांग्रेसले ३ र माओवादी केन्द्रले ३ पदमा जितेको छ । कञ्चनपुरमा जिल्ला समन्वय समिति गठनमा बहुमत पुर्‍याउन १० जिल्ला सभा सदस्य चाहिने भएपनि एमालेले १२ सदस्य जितेको छ । डोटीमा ९ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी एमालेले ११, कांग्रेसले ६ र माओवादी केन्द्रले १ पदमा जितेको छ । बझाङमा १२ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी एमालेले १७ र कांग्रेसले ७ पदमा जितेको छ ।

नेपाली कांग्रेसले डडेल्धुरा, बाजुरा र अछाममा एकलौटी जिल्ला समन्वय समिति गठन गर्न बहुमत पाएको छ । डडेल्धुरामा ७ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी कांग्रेसले ९, एमालेले ३ र माओवादी केन्द्रले २ पदमा जितेको छ । डडेल्धुराको जिल्ला सभामा बहुमतका लागि ८ सदस्य चाहिने भएपनि कांग्रेसले ९ जितेर बहुमत सुनिश्चित गरेको छ ।

बाजुरामा ९ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी कांग्रेसले ११ र एमालेले ७ पदमा जितेको छ । अछाममा १० स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी कांग्रेसले ११, एमालेले ५ र माओवादी केन्द्रले ४ पदमा जितेको छ ।

कैलाली, दार्चुला र बैतडीको जिल्ला सभामा कुनै पद दलको स्पष्ट बहुमत देखिएको छैन । दार्चुला र बैतडीमा कांग्रेस र कैलालीको जिल्ला सभामा एमालेको बढी संख्या भएपनि बहुमत पुग्न १ सदस्यको कमी परेको छ । जिल्ला सभाको नेतृत्व आफ्नो पक्षमा पार्न जिल्ला सभामा बढी संख्या भएका दलले अन्य दलसँग गठबन्धन गरेर जिल्ला समन्वय समिति आफ्नो पक्षमा पार्न कसरत गर्न सक्ने छन् ।

कैलालीमा १३ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी एमालेले १३, कांग्रेसले ६, माओवादी केन्द्रले ५ र लोकतान्त्रिक फोरमले २ पदमा जितेको छ । दार्चुलामा ९ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी कांग्रेसले ९, एमालेले ७ र माओवादी केन्द्रले २ पदमा जितेको छ । बैतडीमा १० स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी कांग्रेसले १०, एमालेले ८ र माओवादी केन्द्रले २ पदमा जितेको छ । 

संविधानको धारा २२० को उपधारा (२) मा लेखिएको छ, ‘जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने छन् ।

गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्नेछ ।’ उपदफा (३) अनुसार ‘जिल्ला सभाले १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ।

जिल्ला समन्वय समितिले जिल्लासभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ ।’ ‘सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ ।

जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुनेछ,’ उपधारा (४) मा लेखिएको छ । संविधान अनुसार जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ ।


उपधारा (७) मा जिल्ला सभाको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ । जसमा लेखिएको छ, ‘(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, (ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, (ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, (घ) प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने ।’ उपधारा (८) अनुसार जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।

सुदूरपश्चिममा एमाले बन्यो पहिलो पार्टी
सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ३९ स्थानीय तहमा नेतृत्व लिँदै एमाले पहिलो पार्टी बनेको छ । कांग्रेसले सुदूरका ३८ स्थानीय तहको नेतृत्वमा जितेको छ । नेकपा माओवादी केन्द्रले १० र लोकतान्त्रिक फोरमले १ स्थानीय तह जितेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुख पदमा जित्दै नेकपा एमाले पहिलो पार्टी बनेको हो । यसअघि, एमाले र कांग्रेसले बराबर ३८/३८ स्थानीय तहको नेतृत्व जितेका थिए ।