७५२ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २२ , ०८:१३ बजे

बझाङमा फोन सेवा अवरुद्ध

Image

बझाङ । बझाङ जिल्लामा मंगलबार रातिदेखि टेलीफोन सेवा अवरुद्ध भएको छ ।

केही समय अघिदेखि जिल्लामा लगातार पानी परिरहेको र आकाशमा बादल देखिएपछि केदारमा रहेको टेलिकमको टावरमा राखिएका सोलारका ब्याट्रीमा चार्ज नहुँदा बझाङमा टेलिफोन सेवा नै अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय बझाङले जनाएको छ । स्काई र नमस्तेका टावर नहुँदा बझाङको सम्पूर्ण सञ्चार सेवा अवरुद्ध भएको छ ।

मंगलबार राति ११ बजेदेखि प्रिपेड र पोस्टपेडका मोवाइलमा समस्या देखिएको छ । मोवाइलमा समस्या देखिएपछि सेवाग्राही टेलिफोन गर्न नपाउँदा समस्यामा परेका छन् । ‘श्रीमानले विदेशबाट पैसा पठाउने भनेकाले चैनपुर पुगेकी थिए, फोन सम्पर्क भएन । मोवाइलमा टावर आउँछ कि भनेर बसिराखेकी छु,’ चैनपुरमा भेटिएकी सरिता उपाध्यायले भनिन्, ‘६ घण्टा टावरको पर्खाइमा बसे, भइहाल्यो अब घर फर्कन्छु कुनै काम नै भएन ।’

टेलिफोन सेवा अवरुद्ध हुँदा धेरैजसो स्थानीयको महत्वपूर्ण काम गर्न समस्या भएको छ भने एकआपसमा कुराकानी तथा सञ्चार आदानप्रदान अवरुद्ध भएको छ । घाम नलागेसम्म टेलिफोन सेवा सुचारु नहुने दूरसञ्चार कार्यालय बझाङले जनाएको छ ।