४७०१ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०८ , ०८:२५ बजे

पत्रकार गिरफ्तारी प्रकरणमा नयाँ तथ्य खुल्दै

Image

महेन्द्रनगर । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई गैरकानुनी तरिकाले हिरासतमा लिइएकोबारे कञ्चनपुर प्रहरीभित्रै आरोप–प्रत्यारोप चलेको छ ।


स्रोतका अनुसार जिल्लाका प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्द आफूले सार्वजनिक कसुरमा कारबाही गर्न आदेश नदिएको बताइरहेका छन् । उनले आफू मातहतका डीएसपी भीम दाहालले पक्राउ गरी हिरासतमा राखेको बताइरहेका छन् । उनले जाहेरी आए पनि हिरासतमा नलिन डीएसपी दाहाललाई प्रष्ट आदेश दिएपनि आफू शनिबारको दिन आराम गर्न कार्यालय बाहिर रहेका बेला डीएसपीले हिरासतमा लिएको दावी गरिरहेका छन् । एसपी चन्दले खुलेआम यस्तो दावी गरेपनि उनले डीएसपी दाहालविरुद्ध कारबाही नथालेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

हिरासत गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ र अन्य क्षेत्रबाट रिहा गर्न दबाब आइरहँदा आइतबार पनि एसपी चन्दले खुलेआम आफ्नो आदेशमा गिरफ्तारी नभएको बताएका थिए । भण्डारी र भट्टको रिहाइका बेला उनको कार्यकक्षमा पुगेका २ दर्जन पत्रकारका माझ पनि उनले डीएसपी दाहालले नै आफूखुसी गिरफ्तार गरेको बताएका थिए ।


खेमराज नाथको जाहेरीमा डीएसपी दाहालले नै ‘कारबाही अगाडि बढाउने’ भन्दै तोक आदेश गरेका हुनाले एसपी चन्दको दावी सत्य हुन सक्ने देखिएको छ । भण्डारी र भट्टलाई प्रहरीले आतंक मच्चाउने गरी शनिबार हिरासतमा लिएको थियो । भण्डारीलाई ठूलो संख्यामा प्रहरीले घेरेर मानसखण्डकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो भने भट्टलाई स्थानीय स्मारक चोक नजिकबाट नाटकीय तरिकाले हिरासतमा लिइएको थियो ।


महेन्द्रनगरका २ होटल व्यवसायी युवती होटल बन्द गरी डेरातर्फ जाँदै गर्दा गत जेठ २७ गते साँझ प्रहरीले अपहरण शैलीमा गरेको गिरफ्तारीविरुद्ध मानसखण्डले समाचार प्रकाशन गरेको थियो । एसपी चन्दले खाजा खान दिएको निम्तो नमान्दा कञ्चन नाथ र पूजा नाथलाई हिरासतमा लिइएको उनीहरूका आफन्तले आरोप लगाएका थिए । पूजाका बुबा खेमराज नाथको किटानी जाहेरी भन्दै प्रहरीले भण्डारी र भट्टविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रयास गरेको थियो । जाहेरीमा नाथले आफ्नी छोरी र बहिनीको चरित्र हत्या गरेको र मानसखण्डको समाचारले बहिनी कञ्चनको बिहे नै रोकिएको आरोप लगाएका थिए ।


प्रहरीको गैरकानुनी गिरफ्तारपछि नेपाल पत्रकार महासंघ, देशभरिका पत्रकार, पत्रकार सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरू, राजनीतिक दल तथा नागरिक समाजले चर्को विरोध गरेपछि २८ घण्टाको हिरासतपछि ‘तत्काल प्रमाण नपाइएको’ भन्दै भण्डारी र भट्टलाई रिहा गरिएको थियो । सोमबार उच्च अदालत महेन्द्रनगर इजलासका न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले भण्डारी र भट्टको गिरफ्तारी कानूनसम्मत नभएको भन्दै आगामी दिनमा प्रचलित कानुनको दायरामा बसी विवेक प्रयोग गरेर काम गर्न प्रहरीलाई निर्देशनात्मक आदेश दिएको थियो ।


केही नयाँ तथ्य
सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टको गिरफ्तारी प्रकरणमा केही नयाँ तथ्य पनि खुल्न थालेका छन् । प्रहरी आफैंले जाहेरी तयार गरी खेमराज नाथलाई दबाब दिएर सहीछाप गर्न लगाएको आशंका बढेको छ । जाहेरी जिल्ला प्रहरी कार्यालयभित्रै टाइप गरिएको आशंका गरिएको छ । जाहेरीमा त्यो लेख्ने कानुन व्यवसायीको नाम र प्रमाणपत्र उल्लेख नभएकाले त्यस्तो आशंका गरिएको हो ।


जाहेरीकर्ता नाथलाई दबाबमा पारेर जाहेरीमा सहीछाप गराइएको शंका पनि उत्पन्न भएको छ । जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि उनले कञ्चनपुर छाडेका थिए । जाहेरीमा उल्लेखित कञ्चनको ‘मगनी’ टुटेको दावी पनि गलत भएको बताइएको छ । प्रहरीकै दबाबमा सो गलत तथ्य लेखिएको आशंका गरिएको छ ।


पूजा र कञ्चन नाथले मदिरा सेवन गरेको प्रहरी आरोप पनि गलत भएको दावी गरिएको छ । हिरासतमै रहेका बेला कञ्चन र पूजाले भण्डारी र भट्टलाई आफूहरूले मदिरा सेवन नगरेको बताएका थिए । उनीहरूको यो कथनलाई सँगै पक्राउ परेका अभिलेख खड्काले समेत सत्य भएको बताएका थिए ।


About Author
-मानसखण्ड