२३१२ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०५ , २२:२३ बजे

कञ्चनपुरमा पत्रकार पक्राउ प्रकरण :  प्रहरीलाई विवेकसम्मत तरिकाले काम गर्न उच्च अदालतको आदेश

Image

महेन्द्रनगर। दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेशदत्त (जी) भट्टलाई पक्राउ गरिएको घटनामा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

अदालतका न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले ‘प्रचलित कानुनको औचित्य समाप्त नहुने गरी विवेकसम्मत तरिकाले कानुनद्वारा प्रदत्त अपराध अनुसन्धानको जाहेरी लिने र मौका तहकिकात गर्ने काम कारवाही गर्नु, गराउनु’ भनेर निर्देशनात्मक आदेश दिएको अधिवक्ता विनोदकुमार भट्टले बताए ।

‘विपक्षीहरूमध्येका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कार्यालयका प्रमुख एसपी प्रकाश चन्दलाई आदेशको प्रतिलिपि पठाई ध्यानाकर्षण गराउने आदेश गरिएको छ,’ उनले भने । पत्रकार खेम भण्डारी तथा गणेश भट्टको हकमा पत्रकार महासंघका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारीले दायर गरेको ‘उत्प्रेषणयुक्त निषेधाज्ञा’ रिट निवेदकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेत जना ४ जनालाई विपक्षी बनाइएको थियो । रिट निवेदकका तर्फबाट कानुन व्यवसायी अधिवक्ता विनोदकुमार भट्टले बहस गरेका थिए ।

प्रहरीको ज्यादतीविरुद्ध निरन्तर समाचार प्रकाशन गर्दा दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी गणेश भट्टलाई केही सार्वजनिक अपराधमा अनुसन्धानको सिलसिलमा पक्राउ गर्नुपर्ने भन्दै कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्दको निर्देशनमा शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले पत्रकार द्वय भण्डारी र भट्टलाई पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रहरीले दमन गरेको भन्दै चौतर्फी आलोचना र दबाबका माझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राख्ने ठोस आधार नभेटिएको भन्दै २८ घण्टापछि आईतबार साँझ रिहा गरेको थियो ।

पत्रकार पक्राउ परेपछि शनिबार नै कञ्चनपुरसहित नेपालभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकार, पत्रकारका पेशागत संघ/संगठनले पत्रकारलाई तत्काल रिहाई गर्न माग गरेका थिए । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकार, तथा पेशागत संघ/संगठनमा आवद्ध पत्रकारले रिहाईको माग गर्दै आईतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना समेत दिएका थिए ।


जेठ २८ गतेको दैनिक मानसखण्डमा प्रकाशित ‘कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप’ शीर्षकको समाचार प्रकाशित भएको थियो । युवतीहरू प्रहरी हिरासतमै रहेका बेला युवतीका बाबु खेमराज नाथलाई सार्वजनिक अपराध मुद्दा दर्ता गर्न लगाई पत्रकार भण्डारी र भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दैनिक मानसखण्डमा यसअघि पनि पटक–पटक कञ्चनपुर प्रहरीको ज्यादतीविरुद्ध समाचार प्रकाशन भएका छन् ।


About Author
-मानसखण्ड