६७५ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०४ , २१:४० बजे

२८ घण्टे हिरासतपछि पत्रकार भण्डारी र भट्ट रिहा

Image

महेन्द्रनगर । कञ्चनपुरबाट प्रकाशित हुने दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेशदत्त (जी) भट्ट २८ घण्टापछि रिहा भएका छन् ।

दैनिक मानसखण्डका सम्पादकभण्डारी  र कार्यकारी सम्पादक भट्टमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा परेकाले पक्राउ गरी अनुसन्धान गर्दा सार्वजनिक अपराध गरेको खुल्न नआएकाले ‘हाजिरी जमानत’मा छोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दाफाँटका सई वासुदेव अवस्थीले बताए । उनले भने, ‘अनुसन्धानबाट अपराध गरेको खुल्न आएमा फेरि बोलाइन्छ ।’

सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको रहोवरमा छोडिएको उनले बताए । दैनिक मानसखण्डका सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टले सार्वजनिक अपराध गरेको/नगरेको बुझ्दा उनीहरूले सार्वजनिक अपराध गरेको नपाइएकाले छोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दले बताए । उनले भने, ‘सम्पादक भण्डारी र कार्यकारी सम्पादकलाई थुनामा राखेर अनुसन्धान गर्दा र बाहिर राखेर अनुसन्धान गर्दा कुनै फरक नपर्ने भएकाले छोडेको छ ।’

प्रहरीको ज्यादतिविरुद्ध समाचार लेखेकै भरमा प्रतिशोध साँध्ने उद्देश्यका साथ कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दको आदेशमा भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो । प्रहरीले दैनिक मानसखण्डका सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई पक्राउ गरेपछि चर्काे आलोचना र विरोध भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि आईतबार धर्ना समेत दिएका थिए ।


About Author
-मानसखण्ड