५३० पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०२ , १३:४५ बजे

‘भगवान’ बेचेर मासिक एक लाख कमाइ

Image

कञ्चनपुर । आफूलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो देखाउन अधिकांश व्यक्ति भगवानको शरणमा जाने गर्छन् ।

 

मन्दिरमा राखिएका मूर्ति र तस्बिरप्रति आस्था राख्दै आफ्ना चाहना धार्मिक स्थलमा व्यक्त गर्छन् । तर, झलारीका १ व्यक्तिले मन्दिरमा राखिने ‘भगवान’ बेचेर मासिक १ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।

 

शुक्लाफाँटा नगरपालिका–१० झलारीका दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका हुन् । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालन गरेको पसलबाट बिक्री गर्दै आएका छन् । उनले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्छन् । ‘एउटा मूर्ति निर्माण गरेर १० हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको छु,’ उनले भने ।

 

शिव, पार्वती, नन्दी, गणेश, श्रीकृष्ण, राम, सीता र मुसाको मूर्ति निर्माणका लागि कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लाबाट माग आउने गरेको विकको भनाइ छ । ‘बुबाको प्रेरणाबाट मूर्ति बनाउने कला सिकेको हुँ,’ उनले भने । मूर्ति निर्माणकै कमाइले झलारी बजारमा १० लाख रुपैयाँको जग्गा खरिद गरेको विकले बताए ।

 

दसैं, तिहार र नयाँवर्षका अवसरमा मूर्ति निर्माणका लागि बढीजसो माग हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा परेका विक अहिले मूर्ति बनाएरै मनग्य आम्दानी गर्न सफल भएका छन् । (राससको सहयोगमा)


About Author
-मानसखण्ड