२१२३ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०१ , ०९:२१ बजे

‘महाकाली पारीको नेपाललाई नमुना बनाइन्छ’

Image

ईन्द्रबहादुर रावत (मेयर पदका उम्मेदवार)
महाकाली नगरपालिका, नेकपा माओवादी केन्द्र


स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहेका बेला राजनीतिक दल उम्मेदवार चयन गरेर प्रचारप्रसारमा छन् । नेकपा माओवादी केन्द्रले पनि कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको छ । माओवादी केन्द्रले महाकाली नगरपालिकाको मेयरको उम्मेदवारमा ईन्द्रबहादुर रावतलाई अघि सारेको छ । माओवादीले महाकालीमा निर्वाचनको प्रचारप्रसार कसरी गरिरहेको छ र एजेण्डा के हुन् ? यिनै विषयमा केन्द्रित रहेर उम्मेदवार ईन्द्रबहादुर रावतसँग पत्रकार मदन गिरीले गरेको कुराकानीको सम्पादित अंश :


महाकालीमा निर्वाचनको तयारी कस्तो छ ?
– चुनावी तयारी एकदम राम्रो छ । हरेक वडामा वडा कमिटी, प्रचारप्रसार कमिटी गठन गरेका छौं । हरेक वडाका उम्मेदवार पूूर्ण तयारीका साथ सभ्य तरिकाले चुनावको तयारीमा छन् ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– घरदैलो अभियानको क्रममा मतदाताको घरमा पुग्दा आमूल परिवर्तनको खाँचो रहेको पाइयो । त्यसका लागि माओवादी केन्द्रको एजेण्डा उत्तम छ भन्ने मतदातालाई लागेको छ । यो पटक माओवादीलाई हेर्नुपर्छ भन्ने जनमत पाएको छु ।


महाकाली नगरको विकासका एजेण्डा के–के छन् ?
– महाकाली नगरको विकासका निम्ति शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सरसफाई र पर्यटकीय क्षेत्रको सुधार लगायत विषय रहेका छन् । पहिलो एजेण्डा भनेको बाढी रोकथाम हो । त्यसका लागि तटबन्ध निर्माण, वृक्षारोपणका साथै दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने हुन्छ । जुन हाम्रो एजेण्डा हो । यहाँका जनतालाई प्राकृतिक प्रकोपबाट सुरक्षित राख्नेमा मेरोे जोड हुनेछ । त्यस्तै, आर्थिक समृद्धिका लागि हाटबजारलाई व्यवस्थित गर्ने र पर्यटकीय क्षेत्रको विकास गर्ने, शिक्षाको गुणस्तरमा वृृद्धिसँगै आयमूूलक र सीपमूलक शिक्षाको व्यवस्था गर्नेछौं । स्वास्थ्यमा सहज पहुँचका लागि स्वास्थ्य केन्द्रको स्थापना गर्ने, कृषिको विकासका लागि सिँचाइको व्यवस्था, मलखाद तथा बीउबिजनको उपलब्धतामा जोड, आरक्षपीडित जनतालाई तुरुन्त राहत दिने मेरो एजेण्डा रहेका छन् । नगरपालिकाको जमिनलाई व्यवस्थापन गर्ने र जनताको जनजीवन उकास्नका लागि हाम्रो पहल हुनेछ ।


पर्यटकीय क्षेत्रमा तपाईको योजना के छ ?
– यहाँ एसियाकै लामो झोलुङ्गे पुल रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुल हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । हामीले यो क्षेत्रलाई व्यवस्थित गर्न जुरुरी छ । पुलको संरक्षणका लागि नगरपालिका अन्तर्गत छुट्टै संरक्षण समिति बनाउने छांै । पुल नजिकै क्षेत्रको सामुदायिक वनमा रहेको ताललाई व्यवस्थापन गरेर माछापालनका साथै बीचमा पुलको व्यवस्था गरेर पार्क निर्माण गर्ने छौं । वडा नम्बर ४ र ६ मा रहेको तालमा माछापालन गर्ने ताल व्यवस्थित गरेर तालमा डुङ्गा चलाएर पर्यटकीय स्थल बनाउने योजना छ । र, यस क्षेत्रमा रहेका तालतलैया, मठमन्दिर व्यवस्थापन, पर्यटकको आगमनमा वृद्धि गर्न बजार व्यवस्थित तथा आधुुनिकरण गर्ने र पर्यटन विकास समिति नै स्थापना गरिने छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो संकल्प हो । पर्यटनको विकास गर्न सक्यो भने यो क्षेत्रको आर्थिक रुपले पनि सबल बन्ने छ ।


युवा क्षेत्रमा के योजना छ ?
– पक्कै पनि यहाँ धेरै युवा बेरोजगार छन् । बेरोजगारीको समस्या समाधानको लागि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने छौं । त्यस्तै युवालाई कृषि, व्यापार र पशुपालनमा प्रोत्साहन गरिने छ । र, आयमूलक, सीपमूूलक कार्यमा जोड दिने छौं ।


महाकाली नगरवासीका समस्या समाधानका लागि तपाईको प्रयास के रहन्छ ?
– यहाँका जनताका थुप्रै समस्या छन् । यहाँका प्रमुख समस्या भनेको महाकाली र जोगबुढा नदीको कटान समस्या हो । सबै ठाउँमा बाटोघाटो निर्माण हुन सकेको छैन भने विद्युतको पहुँच पनि छैन । स्वास्थ्य, शिक्षा लागयतका विविध समस्या छन् । त्यसका साथै यहाँका जनताले चलनभोग गरेको जमिनको लालपूूर्जा पाएका छैनन् ।  महाकाली र जोगबुढा नदीको कटान नियन्त्रणका लागि गुरुयोजना बनाउने र महाकाली नदीलाई पक्की बाँधका लागि स्थानीय तह, प्रदेश र संघबाट पहल गरिने छ । हरेक टोल बस्तीमा विद्युत् पु¥याउनुपर्ने छ । टोलटोलमा कालोपत्रे सडकको आवश्यकता छ । चलनभोग गरेको जमिनलाई लालपूर्जा वितरण गर्नुपर्ने लगायतका थुप्रै नगरवासीका समस्यालाई समाधान गर्नुपर्ने छ । म नेतृत्वमा पुगेमा अवश्य पनि प्रतिवद्धता पूरा गर्नेछु ।


जित्ने आधारहरू के–के छन् ?
– समग्रमा हाम्रो पार्टीको एजेण्डा नै मेरो जितको आधार हो । मेरो व्यक्तिगत छवी र योजना पनि अर्को आधार हो । समानुपातिक प्रतिनिधित्व, समावेशी, धर्मनिरपेक्ष, गणतन्त्र लगायत स्थानीय तह र सिंहदरबारका अधिकार गाउँ, नगरमा ल्याउने एजेण्डा माओवादी केन्द्रको हो । जुन आज पूरा भएको छ । जनताले अधिकार पाएका छन् । पार्टीको मुल नारा र एजेण्डाकै कारण हामी जित्ने छौं ।


पार्टीले तपाईलाई विश्वास गर्नुको कारण ?
– स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा देखाउनुु वा दाबी गर्नु स्वभाविक हो । करिब २७ वर्षे राजनीतिक जीवन पश्चात् नगरको प्रमुख पदको उम्मेदवार बनेको छु । पार्टीले विश्वास गरेको छ । विगत लामो समयदेखि पार्टीमा मेरो योगदान र यहाँको समाजको लागि विभिन्न रुपमा काम गरेको जनविश्वासले नै म अगाडि सरेको हुँ । 

महाकाली भारतसँग सीमा जोडिएको नगरपालिका हो । भारतीय पक्षबाट पटक–पटक दुव्र्यवहार हुने गरेको छ । कसरी समाधान गर्नुहुन्छ  ?
– वास्तवमा महाकाली नगर क्षेत्र भारतको उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिएको छ । समय–समयमा यहाँका जनताले भारतीय पक्षको दुव्र्यवहार खेप्दै आएका छन् । यो गम्भीर समस्याका रुपमा रहेको छ । समस्या समाधानका लागि संघ र प्रदेशसँग समन्वय गरेर छिमेकी राष्ट्रसँग समाधानको पहल गरिने छ ।

तपाईको मुख्य प्रतिस्पर्धी को ?
– अहिलेको मुख्य प्रतिपस्र्धी भनेको नेपाली कांग्रेस नै हो । तर, माओवादी केन्द्रको जित सुनिश्चत छ ।

निर्वाचित भएमा पहिलो प्राथमितकता के रहने छ ?
– महाकाली नगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूमिहीनलाई परिचयपत्र वितरण गर्नेछु । यहाँका कतिपय जनता भूूमिहीन छन्, उनीहरूको समस्या समाधानका लागि पहलकदमी रहने छ । परिचयपत्रका आधारमा आवासको व्यवस्था गरिने छ । त्यसलगत्तै लालपूूर्जा नभएका जग्गाधनीलाई लालपूर्जा वितरणको लागि पहल गरिने छ । महाकाली, जोगबुढा नदी व्यवस्थापनका लागि कार्यक्रम अघि बढाइने छ । समग्रमा महाकाली नगरपालिकालाई सुन्दर, समृद्ध र पर्र्यटकीय नगरीका रुपमा विकास गर्ने मेरो लक्ष्य रहेको छ ।