७०१९ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ३१ , १०:०६ बजे

एक हप्ता नपुग्दै यो हाल : देश डुबाउने भए ठेकेदारले !

Image

महेन्द्रनगर । डिभिजन सडक कार्यालय महेन्द्रनगरको लापरवाहीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीमा सडक कालोपत्रेको काम गुणस्तरहीन भइरहेको छ ।


ऐरी र ओदालीको बीचमा पर्ने ८ सय मिटर सडकमा मापदण्ड विपरीत कालोपत्रेको काम भइरहेकोबारे स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत ध्यान नदिएको आरोप लगाइएको छ । सडकमा कालोपत्रे गर्ने काम भइरहेकै बेला उप्किएको छ । ऐरीका स्थानीय सुरजसिंह सावदले कालोपत्रे गरिएको सडक मापदण्ड विपरीत तथा कमजोर बनेको आरोप लगाए । सडक कालोपत्रको काम रातिको समयमा भएको उनले दावी गरे ।

ऐरीकै अर्का स्थानीय रमेशदत्त जोशीले पनि सडकमा कमसल सामग्री प्रयोग भएको बताए । स्थानीयले डिभिजन सडक कार्यालयकबाट फिल्डमा आएका एक इन्जिनियरलाई सडकमा मापदण्ड विपरीत काम भइरहेको तथा सडकमा खाल्डाखुल्डी परेको बारेमा जानकारी गराएका थिए । इन्जिनियरले ठेकेदारलाई बिग्रिएको स्थानमा मर्मत गर्न निर्देशन दिएको जोशीले बताए । सडक उप्किएको स्थानमा कालोपत्रे भएको ६÷७ दिन मात्र पुगेको भएपनि पूर्ण रुपमा काम सम्पन्न भएको छैन ।कालोपत्रे गरिएको ४÷६ दिनमै सडक भत्केको भन्दै आक्रोशित भएका ऐरीकै गौरीदत्त भट्टले गुणस्तरहीन कामको जनताले विरोध गरेपनि ठेकदारले नमानेको बताए । स्थानीयका व्यापक विरोध र गुनासाका बीच सडक निर्माणको काम भने मापदण्ड विपरीत भइरहेको छ । डिभिजन सडक कार्यालय महेन्द्रनगरसँग ठेक्का सम्झौता भई रश्मी विल्डर्सले सो सडकमा काम गरिरहेको हो । डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर खगेन्द्रबहादुर शाहीले २२ लाख रुपैयाँमा रश्मी विल्र्डससँग ठेक्का सम्भौता भएको जानकारी दिए ।

सडक मापदण्ड विपरीत कालोपत्रे भएको गुनासोको आधारमा ऐरी पुगेका शाहीले सडकमा आवश्यक सामग्री नपुगेको देखिएको स्वीकार गरेका छन् । पत्रकार टोलीसँग कुरा गर्दै उनले सडकमा केही कमीकमजोरी देखिएको बताए । ‘सडक जस्तो हुनुपर्ने हो अर्थात् निर्माणमा प्रयोग गरिने गुणस्तरीय सामग्री नभएको हुनाले अलिकति गुणस्तर त्यति राम्रो देखिएन,’ उनले भने । बेलाबेलामा सडकको अनुगमन गरेको भन्दै इन्जिनियर शाहीले कामको चाप अनुसार प्राविधिक पनि नपुग्ने गरेको बताए ।


निर्माण व्यवसायी काम गर्ने क्रममा रहेको भन्दै उनले त्रुटि भएको ठाउँमा तुरुन्त सच्याइने बताए । निर्माण व्यवसायीले भने सडक कालोपत्रेको काम गुणस्तरीय नै भएको दाबी गरेका छन् । रश्मी विल्डर्सका सञ्चालक शक्ति पन्तले आफ्नो कम्पनीको काम गर्दा गुणस्तरीयतालाई ख्याल गरेर नै काम गर्ने दावी गरिन् । निर्माण व्यवसायी आफैंमा प्राविधिक नहुने भन्दै उनले अन्तबाटै सामग्री ल्याएर व्यवस्थापन गरिने बताइन् ।

सामग्रीको बारेमा गुनासो उठेको बताउँदै पन्तले निर्माण सामग्री धनगढीबाट ल्याइएको र डिभिजन सडक कार्यालयका इन्जिनियर समेतले प्राविधिक दृष्टिकोण ठिक रहेको भनेको दावी गरिन् । कालोपत्रे सडक आफैं नउप्किएको दावी गर्दै पन्तले सडक खनिएको बताइन् । तर, स्थानीयले भने सडक खनिएको नभएर सवारीसाधन चलाउँदा भत्किएको बताएका छन् ।