४७०४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २७ , १७:०४ बजे

मध्यरातमा सीमा सर्भे टोलीले पुनर्वास छाड्दा र त्यसपछि के भयो ?

Image

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित आनन्दबजार छेउछाउको करिव साढे चार किलोमिटर सीमा सर्भे गरी सीमास्तम्भ खडा गर्ने जिम्मेवारी लिएर आएको नापी विभागको टोली शुक्रबार राति अचानक भागेपछि मामिला रहस्यमय बन्दै गइरहेको छ । आधिकारिक निकाय यस सम्बन्धमा मौन देखिएका छन् ।


शुक्रबार बेलुका लामो समयसम्म मानसखण्डसँग फोन वार्ता गरेका सर्भे टोलीका प्रमुख निर्मल आचार्यले आफूहरु फर्किन लागेको संकेतसम्म दिएनन् । शनिबार विहानसम्म पुनर्वासबाट बाहिरिसकेका आचार्यले माथिको आदेशले फर्किएको भन्दै थप केही बताउन चाहेनन् ।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल पनि यस विषयमा केही बोल्न चाहदैनन् । उनले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।


शुक्रबार राति १२ बजे भाडामा बस्दै आईरहेको घर खाली गरी सामान लिएर जान लागेको टोलीलाई आनन्दबजारका स्थानीयले रोकेर केरकार गरेपछि टोली प्रमुख आचार्यले बर्र्खा लागेकाले फर्कन लागेको बताएका एक स्थानीय वासिन्दाको भनाई छ ।


आनन्द बजारको घटनापछि सीमा समस्या सुल्झाउन नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले विगत २ महिनादेखि संयुक्तरुपमा काम गरिरहेको थियो । काम गरिरहेको उक्त टोलीसँग पटक–पटक जानकारी लिन खोज्दा प्राविधिक कारणाले केही भन्न नसकिने बताउदैँ आएको थियो ।


गत चैत महिनामा पुनर्वास पुगेको सर्भे टोलीले सबै राजनैतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवि, समाजसेवी लगायतसँगको छलफलमा काम सकेर मात्र जाने बताएको थियो ।


नेपाल–भारत सीमास्तम्भ नम्बर ७६८ अर्थात् साविकको १९८ नम्बर सीमास्तम्भदेखि हालको ७७१ नम्बर सीमास्तम्भ अर्थात २०१ नम्बर स्तम्भसम्मको वीचमा पर्ने अर्थात १९९ र २०० नम्बर सीमास्तम्भलाई अहिलेसम्म मुख्य स्तम्भ मानिदै आएको थियो । तर, ती मुख्य स्तम्भ नभएको खुलासा भएको नेपाली टोलीका प्रमुख प्रमुख निर्मल आचार्यले शुक्रबार बताएका थिए ।


टोलीका प्राविधिक कासीलाल चौधरीले सबैभन्दा पहिले १९९ र २०० नम्बरको पिल्लर वास्तविक सीमास्तम्भ नभएको रहस्य खोलेका हुन । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले प्राविधिक चौधरीसँग जनतालाई सूचनाको हकबाट बन्चित गरी रहस्यमय तरिकाले काम गर्न नपाइने भन्दै सूचना मागेपछि केही दिनअघि चौधरीले सो रहस्य खोलेका थिए ।


टोली प्रमुख आचार्यले ती दुई स्तम्भ ‘बर्डर पिलर’ नभएको र ‘रिफरेन्स पिलर’ हुन सक्ने बताए । बर्डर पिलरलाई खास सीमास्तम्भ मानिन्छ भने सीमास्तम्भ पहिचान गर्न सघाउने सहायक स्तम्भलाई रिफरेन्स पिलर भनिन्छ । यसअघिसम्म भारतले ती दुई स्तम्भलाई नै बर्डर पिलर भन्दै आईरहेको थियो ।


प्राविधिक चौधरीले एक सातादेखि भारतीय टोलीले भारत तर्फ सर्वे गर्न नमानेको रहस्य समेत खोलेका थिए । उनका अनुसार स्ट्रीप म्यापका आधारमा अहिलेको सीमारेखा करिव ५सय मिटर भारततर्फ सर्ने देखिएपछि भारतले काम रोकेको थियो । काम रोकेर भारतीय टोलीले नेपाली टोलीलाई वार्तामा बोलाइरहेको थियो । स्रोतका अनुसार नेपाल सरकारले वार्ताको आदेश दिएको थिएन ।


नेपाली टोली फर्किए पनि भारतीय टोली अझै बसहीमा रहेको जानकारी प्राप्त भएको छ ।


About Author
-मानसखण्ड