१३३५५ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २७ , १०:०४ बजे

धन्य देउवा सरकार : पुनर्वासबाट नेपाली सर्भे टोली रातारात टाप !

Image

२०२८ सालयता भारतले दुई नक्कली पिलर बनाएर ५ सय मिटर नेपाली भूभागमा कब्जा गरिरहेको नयाँ तथ्य उजागर भएपछि नेपाल सरकारले टोली फिर्ता बोलायो ।



पुनर्वास । गोविन्द गौतम सहिद भएपछि सुरु गरिएको पुनर्वासको आनन्द बजार क्षेत्र आसपासको सीमा सर्भेको काममा अचानक नाटकीय विराम लागेको छ । दुई महिनादेखि भारतीय समकक्षी टोलीसँग काम गरिरहेको नेपाली सर्भे टोलीले शुक्रबार राति अचानक पुनर्वास छोडेको छ ।


नेपाली टोलीका प्रमुख निर्मल आचार्यले ‘बर्खा लागेकाले माथिबाट फिर्ता आउन आदेश आएको’ बताएका छन् । तर, अचानक मध्य रातमा टोली फरार हुनुको कारण बारे भने उनले बताउन चाहेनन् । आचार्यसँग शुक्रबार साँझ मात्रै मानसखण्डले कुराकानी गरेको थियो । सो कुराकानीका क्रममा उनले फिर्ता जाने बारे कुनै जानकारी दिएका थिएनन् । सिंगो टोली नै राति भाडामा लिएको घर छोडेर गएको सो घर नजिकका वासिन्दाले बताएका छन् ।


नयाँ तथ्य उजागर
पुनर्वास क्षेत्रमा संयुक्त सर्भेका क्रममा नयाँ तथ्य उजागर भएको छ । नेपाली टोलीका प्राविधिक काशी चौधरीका अनुसार आनन्द बजार सीमामा रहेका सीमा स्तम्भ नम्बर १९९ र २०० नक्कली पाइउका छन् । भारतीय पक्षले ती स्तम्भलाई सक्कली दावी गरे पनि प्रमाणका आधारमा ती स्तम्भ नक्कली भएका र २०२८ सालतिर भारतले एकतर्फी रुपमा गाडेको हुन सक्ने चौधरीको अनुमान छ ।


नेपाली टोलीका प्रमुख आचार्यले पनि ती दुई स्तम्भ ‘बर्डर पिलर’ नभएको र ‘रिफरेन्स पिलर’ हुन सक्ने बताए । बर्डर पिलरलाई खास सीमास्तम्भ मानिन्छ भने सीमास्तम्भ पहिचान गर्न सघाउने सहायक स्तम्भलाई रिफरेन्स पिलर भनिन्छ ।


चौधरीका अनुसार यसपटकको सर्भेका क्रममा भारतले नेपालतर्फ ५ सय मिटर सीमा मिचेको पाइएको छ । ‘खास सीमा अनुसार भारतको बसही बजानर पनि नेपालकै भूभागमा पर्ने देखियो’ चौधरीले भने । तर, टोली प्रमुख आचार्यले भने, ‘पछि जहाँ स्तम्भ गाडिन्छ त्यही हुन्छ ।’


किन भाग्यो टोली ?
भारतले नेपालतर्फ ठूलो भूभाग कब्जा गरेको पाइएपछि दुबै देशका नापी टोलीबीच केही दिनयता विवाद भइरहेको थियो । नेपाली टोलीको स्रोतका अनुसार भारतीय पक्षले वास्तविक सीमा रेखामा पिलर गाड्न मानिरहेको थिएन ।


विवाद चलिरहँदा अचानक नेपाली टोलीलाई फिर्ता बोलाइएको हो । मध्यरातमा टोली फिर्ता हुनुले पनि आशंका जन्माएको छ ।

फोटो : भारतले कब्जा गरेको भूभाग (माथि) र गोविन्द गौतम सहिद बनेको ठाउँ ।

 


About Author
-मानसखण्ड