११९१३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २४ , ०८:२७ बजे

देउवा प्रधानमन्त्री हुनासाथ सुदूरपश्चिममा पुलिसराजको प्रयास !

Image

महेन्द्रनगर । अदालतले दिएको आदेशको पालन नगर्ने कञ्चनपुरका एक प्रधानाध्यापकले शक्तिको आडमा पीडित पक्षलाई प्रहरीको कठघरमा उभ्याउने प्रयास गरेका छन् ।


अखबारमा प्रकाशित समाचार फेसबुकमा शेयर गरेपछि शेयर गर्नेविरुद्ध साइबर अपराध कानुन अन्तर्गत पक्राउ गर्न प्रहरी नै परिचालित भएको छ ।


भीमदत्त नगरमा रहेको जानकी कन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जुला भट्टले शक्तिको आडमा पीडितलाई प्रहरी नियन्त्रणमा राख्ने प्रयास गरेको आरोप लागेको छ । प्रधानाध्यापक भट्टले सोही विद्यालयमा यसअघि अध्यापन गराएका तर पारिश्रमिक नपाएका शिक्षक ऋतुराज भट्टको नाममा प्रहरीमा उजुरी दिँदै दम्भ देखाएको आरोप पीडित पक्षको छ । ऋतुराजले जानकी कन्या माध्यमिक विद्यालयमा २०६८ देखि २०७१ सम्म निजी स्रोतमा अध्यापन गराएका थिए । अध्यापन बापतको ६२ हजार २ सय २० रुपैयाँ पारिश्रमिक नपाएको अवस्थामा उल्टै उनीविरुद्ध जिल्ला प्रशासनमा मानहानी उजुरी परेको छ ।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालका अञ्जुलाले ऋतुराजविरुद्ध मानहामी उजुरी दिएकी हुन् । फेसबुकमा अनावश्यक शव्द लेखेर ऋतुराजले आफ्नो मानहानी गरेको दाबीसहित अञ्जुलाले निवेदन दिएको प्रजिअ खनालले जनाए ।


२ दिन पहिले निवेदन प्राप्त भएको बताउदै खनालले सोही आधारमा सत्यतथ्य कुरा बुझेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको जनाए ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, डीएसपी भीमप्रसाद दाहालले दुबै पक्षलाई बोलाएर छलफल गरिने बताए ।


शिक्षक ऋतुराज भने आफूले कसैलाई गाली बेइज्जत नगरेको दाबी गरेका छन् । जेठ ३ गते दैनिक मानसखण्डमा ‘प्रधानाध्यापक तथा जिशिअकी श्रीमतीको यत्रो अटेरी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारको कटिङ गरेर आफूले फेसबुकमा राखेको तर गालीगलौज नगरेको दाबी गरे ।


ऋतुराजले पारिश्रमिक नपाएपछि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट निवेदन दिएका थिए । रिट निवेदनमाथि ६ महिना अघि नै सुनुवाई गर्दै अदालतले पारिश्रमिक उपलब्ध गराउन परमादेश जारी गरेको थियो ।


तर, विद्यालयले पारिश्रमिक उपलब्ध गराउनुको साटो रकम फिर्ता गर्न भन्दै ऋतुराजलाई पत्राचार गरेपछि उनले वैशाख २७ गते अदालतमाथिको अपहेलना भएको भन्दै रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय यज्ञप्रसाद बियाल र केशवराज जोशीको संयुक्त इजलाशले विपक्षीलाई लिखित जवाफ पेश गर्न भनेको थियो । अदालतले मागेको जवाफको समय सीमा सकिन अगाबै प्रहरीले भट्टलाई पक्राउ गर्न खोजेको हो ।


प्रजिअ खनालले भने रिट निवेदनको बारेमा अनविज्ञता प्रकट गरे । ‘अदालतको विषयमा कुनै जानकारी छैन । निवेदनका आधारमा छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई भनिएको हो,’ उनले भने ।

जानकी कन्या विद्यालयकी प्रधानाध्यापक भट्ट जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टकी श्रीमती हुन् ।