३५० पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २३ , १२:४० बजे

सुखडमा टेलिकम टावरको खराबीले ग्राहक हैरान

Image

सुखड  । कैलालीको सुखडमा नेपाल टेलिकमको टावरमा खराबी आउँदा उपभोक्ता मारमा परेका छन् ।


टेलिकमको टावरमा बारम्बार आइरहने खराबीले ल्याडलाइन, सीडीएमए, जीएसएम, एडीएसएलसँगै इन्टरनेटका उपभोक्ता मारमा परेका हुन् । बेलाबेलामा नेटवर्क जाने समस्याका कारण फोन नै नलाग्ने गरेको स्थानीय उपभोक्ताको भनाई छ । टेलिकमको सुखडस्थित टावरमा विगत १ वर्षदेखि समस्या आएपछि सरकारी निकायले उदासिनता देखाएको घोडाघोडी नगरपालिका–१ सुखडका दुर्गा गौतमले बताए ।


टावरमा खराबी आउँदा थ्रिजी र एडीएसएल सेवा बन्द भएको र कम्यूटर इन्स्टिच्यूट तथा साइबर सञ्चालकले समस्या भोग्नुपरेको सञ्चालकले बताएका छन् । टावरमा खराबी आएकाले सेवा उपभोग गर्नबाट वञ्चित भएको पारस गौतमले बताए । नेपाल टेलिकमका सुखड क्षेत्रका उपभोक्ताले वर्षौदेखि समस्या भोग्दै आएको र पटक–पटक सुधारको लागि आग्रह गर्दा पनि कर्मचारीले वेवास्ता गर्ने गरेकाले जगेन्द्र रानामगरले बताए ।


टेलिकमको सुखडमा रहेको टावरमा लामो समयदेखि समस्या आएर इन्टरनेट र फोनले राम्रोसँग काम नगर्दा व्यापारमा घाटा लागेको एसके कम्प्यूटर प्रशिक्षण केन्द्रका सञ्चालक सीताराम चौधरीले बताए । घोडाघोडी नगरपालिकाका सामाजिक शाखाका उपेन्द्र गिरी सुखडमा फोन सेवा बन्द हुदाँ सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयले समेत समस्या भोग्नुपरेको बताउँछन् ।


नेपाल टेलिकम अत्तरियाका वरिष्ठ इन्जिनियर निरञ्जन घिमिरे नेटवर्क सुधारको लागि पहल भइरहेको बताउँछन् । नेपाल टेलिकम धनगढीका प्रमुख राजेन्द्र श्रेष्ठ सुखड क्षेत्रको नेटवर्क समस्या बारेमा आफूलाई कुनै जानकारी नभएको जिकिर गर्छन् ।

 


About Author
-मानसखण्ड