४७८ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २२ , १८:३० बजे

यार्सागुम्बामा मनपरी गर्न नपाइने भएपछि...

Image

दार्चुला । यार्सागुम्बा जडिबुटी संकलन, खरिदबिक्री र ब्यापार प्रक्रियामा कडाइ गरिएपछि ब्यापारीले विरोध गरेका छन् । यार्सागुम्बा संकलनदेखि जिल्लाबाहिर निर्यात गरिएको स्पष्ट विवरण राख्न खोजिएपछि विगतका वर्षमा मनपरी गरिरहेका ब्यापारी आत्तिएका छन् ।


जडिबुटी संकलनको निगरानी लगायतका काम गर्न दार्चुलामा २०६७ सालमा स्थापना भएको अपिनाम्पा संरक्षण क्षेत्रलाई ब्यापारीले झमेला पार्न खोजेका छन् । संरक्षण क्षेत्र विगतमा समेत विभिन्न झमेलामा पर्दै आएको छ । सुरुमा अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन, त्यसपछि कर्मचारी अभाव र परिपूर्ति, यार्सागुम्बा संकलन पूर्जी व्यवस्थापन, गत वर्षको परिचयपत्र वितरणबाट भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने, संरक्षण क्षेत्र व्यवस्थापनका लागि जारी भएको निर्देशिका कार्यान्वयन, संरक्षण क्षेत्र खुल्ने र यार्सागुम्बा लगायतका जडिबुटी दोहन प्रक्रिया, चोरीशिकारी नियन्त्रणजस्ता विभिन्न समस्या भोग्दै आएको अपिनाम्पा संरक्षण क्षेत्रले पछिल्लो समय जटिबुटी व्यवसायी संघसँगको अर्को झमेला खेपिरहेको छ ।


जडिबुटी व्यवसायी आक्रोशित
पछिल्लो समय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जेठ ११ गतेदेखि २१ गतेसम्म १० दिनका लागि यार्सागुम्बा संकलन गर्ने व्यवसायीका लागि विभिन्न मापदण्ड तोकेर जारी गरेको सूचनाविरुद्ध आईतबार नेपाल जडिबुटी व्यवसायी संघ दार्चुलाले सूचना सच्याइनुपर्ने माग राख्दै अपिनाम्पा संरक्षण क्षेत्र र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।


यार्सागुम्बा संकलन गर्दा १ व्यक्तिले ६९ दशमलव ३ ग्राम यार्सागुम्बा संकलन गर्न पाउने, कुन ठाउँ र व्यक्तिबाट यार्सा खरिद गरेको हो सोको विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले १० दिने सूचना जारी गरेपछि व्यवसायीले विरोध गरेका हुन् ।


समाधानका लागि लगत्तै बैठक बस्ने
बाध्यकारी अवस्थाको सामाधान खोज्न जिल्ला प्रशासन कार्यालय पुगेको जटिबुटी व्यवसायी संघ र उद्योग वाणिज्य संघको टोलीलाई प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले सम्भवतः सोमबार नै बैठक बसेर समाधान निकाल्ने आश्वासन दिएका छन् । जिल्लामा बस्दा व्यवस्थित गर्न नसकेको अपिनाम्पा संरक्षण क्षेत्रका विविध विषय रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले कानुन विपरीत नहुने गरी सबैको हितमा बसेरै समाधान खोजिने बताए ।


निर्देशिका कार्यान्वयन गर्दा समस्या
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चालू आर्थिक वर्षमा विभागबाट जारी भएको निर्देशिका कार्यान्वयन गर्न खोज्दा विभिन्न पक्षलाई समस्या परेको बताए । चालू आर्थिक वर्षका लागि ६ सय ९३ केजी यार्सागुम्बा मात्रै अपिनाम्पा संरक्षण क्षेत्रबाट संकलन गर्न अनुमति भएकाले यस वर्ष झण्डै १० हजार संकलनकर्ता वनमा जाने र तिनीहरूबाट संकलित यार्सागुम्बा खरिद गर्दा औसतमा १ व्यापारीलाई ६९ दशमलव ३ ग्राम पर्न आएको उनले बताए ।
साथै, यार्सा गुम्बाको वैधानिकताका लागि संकलन अनुमति लिएको परिचयपत्रको सबै विवरण खुलाउनुपर्ने, कुन वन वा ठाउँबाट संकलन गरिएको यार्सागुम्बा हो त्यसको पनि जानकारी दिनुपर्ने निर्देशिकाले तोकेको बताइएको छ ।


परिचयपत्र वितरण गत वर्षको भन्दा आधाले घट्यो
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाबाट जारी गरिने यार्सागुम्बा संकलन परिचयपत्र गत वर्षभन्दा आधाले घटेको छ । गत वर्ष झण्डै ८ हजार परिचयपत्र वितरण भएकोमा यस वर्ष हालसम्म झण्डै साढे ४ हजार परिचय मात्रै कार्यालयबाट जारी भएको छ ।


गत वर्ष अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बाटै वितरण गरिएको परिचयपत्र वितरणबाट उठेको हिसावकिताव हालसम्म पनि सार्वजनिक नभएको भन्दै यस वर्ष स्थानीयले परिचयपत्र नलिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।


झण्डै ४ लाख बढी राजश्व संकलन
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सा संकलनकर्ताका लागि जारी गरेको परिचयपत्र वितरणवाफत हालसम्म ४ लाख २६ हजार ५ सय रुपैयाँ बढी राजश्व संकलन गरेको छ । बैशाख २५ गतेबाट परिचयपत्र वितरण गर्न थालेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले हालसम्म साढे ४ सयभन्दा बढी परिचयपत्र वितरण गरेको जनाएको छ ।


अझैं परिचय पत्र वितरण पक्रिया जारी रहेको पनि कार्यालयले जनाएको छ । अपिनाम्पा संरक्षण क्षेत्रभित्रका संकलकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ, जिल्लाभित्रका संकलकलाई प्रतिव्यक्ति २ हजार रुपैयाँ र जिल्ला बाहिरका संकलकलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ परिचयपत्र दस्तुर तोकेको कार्यालयले जनाएको छ ।


परिचयपत्र बिना संकलन गरिएको यार्सा अवैधानिक
यस वर्ष अधिकाशंले परिचयपत्र बिना नै यार्सा संकलन गरिरहेका छन् । विभागले परिचयपत्र लगायत संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार संकलन गरेको यार्सा बिक्री गर्दा कुन वनबाट संकलन गरिएको हो, कति मात्रामा संकलन गर्ने भन्ने कुरा प्रमाणित गर्नुपर्ने भएकाले परिचयपत्र बिना संकलन गरिएको यार्सा स्वतः अवैधानिक हुने कार्यालयले जनाएको छ ।


About Author
-मानसखण्ड