१७७ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १७ , १०:०५ बजे

टिकट वितरणको असन्तुष्टि जायज हो

Image

– रामकुमार ज्ञवाली
केन्द्रीय सदस्य, नेकपा एमाले
निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरिरहेको छ । राजनीतिक दलहरू जनमत आफ्नो पक्षमा पार्न प्रचारप्रसारमा सक्रिय रहेका छन् । कञ्चनपुर जिल्लामा नेकपा एमाले निर्वाचनका लागि उम्मेदवार तोकेर प्रचारप्रसार गर्नेमा अगाडि रहेको छ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा गरिरहेको तयारीमा स्थानीयदेखि केन्द्रीय नेतासम्म सक्रिय छन् । तीमध्येका एक हुन्, नेकपा एमालेको केन्द्रीय सदस्य रामकुमार ज्ञवाली । २०३६ सालदेखि सक्रिय राजनीतिमा रहेका ज्ञवाली २०५१ सालमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । एमाले पार्टीभित्र सक्रिय र महत्वपूर्ण भूमिकामा रहेका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीसँग पत्रकार जनकसिंह विष्टले गरेको कुराकानीको सम्पादित अंश :


विभिन्न चरणमा भइरहेका स्थानीय तह निर्वाचनमा नेकपा एमालेको सहभागिता कस्तो रहेको छ ?
– स्वभाभिक रुपमा स्थानीय तहको चुनावको सम्बन्धमा नेकपा एमालेले सुरुदेखि नै आवाज उठाउँदै आएको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री हुँदा नै स्थानीय तहको बारेमा कुराकानी गर्‍यौ । त्यसको व्यवस्थापन गर्‍यौ, स्थानीय तह पुनःसंरचना आयोग बनाएर त्यसलाई अगाडि बढायौ र अहिले पछिल्लो क्रममा यो सरकार गठन भइसकेपछि त्यही स्थानीय पुनःसंरचना आयोगले रिपोर्ट बनायो । त्यो रिपोर्टको आधारमा अहिले स्थानीय तहको चुनाव भएको छ र पहिलो चरणको स्थानीय तहको निर्वान बैशाख ३१ गते सकिएको छ । दोस्रो चरणको चुनावको तयारीमा छौं ।


पहिलो चरणको निर्वाचन शान्तिपूर्ण नै रह्यो भनिएको छ । दोस्रो चरणको निर्वाचनमा शान्तिसुरक्षाको अवस्था कस्तो पाउनुभएको छ ?
– पहिलो चरणमा सुन्दा सामान्य रह्यो भनिएको छ । तरपनि सरकारका तर्फबाट सरकार सम्वद्ध पार्टीले जुन खालको अवस्था सिर्जना गरे, जुन खालका गर्न नहुने अवान्छित क्रियाकलाप गरे त्यो त्यति धेरै प्रचारमा आएन । तर, अब दोस्रो तहको चुनावमा कही त्यस्तो हुने हो कि भन्ने आशंका बढिरहेको छ । किनभने, सरकारले अघिल्लो पटक चुनाव गर्न सकेन, गर्न चाहेन । यो मुलतः तराईसँग जोडिएका अरु प्रदेशहरू छन् । निर्वाचन आयोगले चुनावको नयाँ मिति घोषणा गरेको छ । त्यो चुनावमा के हुन्छ भनेर आकलन र अनुमान गरिँदैन । उतिबेला हुँदा नै देखिने हो । कसरी सरकार प्रस्तूत हुन्छ र कुन पार्टी के कसरी प्रस्तुत हुन्छन्, त्यसका आधारमा मात्र जानिन्छ ।


कञ्चनपुरमा एमालेले चुनावी चहलपहल तथा चुनावी तयारी के–कसरी अगाडि बढाएको छ ?
– हामीले पहिलो चरण चुनाव हुने बेलादेखि नै हाम्रा उम्मेदवारलाई तय गरिसक्यौं । उम्मेदवार तय गरिसकेपछि क्रमशः पूरै जिल्लाभरिमा घरदैलो कार्यक्रमको एक चरण सकिएको छ । अब दोस्रो चरणको घरदैलो र पर्चा पोस्टर छाप्ने काम, भेटघाट र छलफल गर्ने काम भइरहेका छन् । यसले अब गति लिइरहेको छ । अरु पार्टी आफ्नो उम्मेदवारको घोषणा गर्न नसकेको अवस्थामा हामी एक्लै दौडिरहेका थियौं । र, अब अरु पार्टीले पनि उम्मेदवार घोषण गरिसकेपछि यो प्रतिस्पर्धाका रुपमा जान्छ ।


कञ्चनपुरमा एमालेले सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको हो या कुनै तहमा अझैं टुंगो लगाउन बाँकी छ ?
– करिब–करिब टुंगो लागिसकेको छ । हामीले पहिला नै घोषणा गरेका उम्मेदवारहरू नै त्यसमा लागिरहेका छन् । केही सामान्य, कहिले काही तँ अन्य पार्टीले प्रतिस्पर्धी कस्तो खालको उम्मेदवार दिन्छन्, त्यसका आधारमा पनि कुन ठाउँमा कस्तो दिने भन्ने हुन्छ । १–२ पदबाहेक अरुमा त्यस्तो देखिँदैन । हामीले पहिला नै घोषण गरिसक्यौं, ती उम्मेदवारहरू नै यथावत् रहेका छन् ।


जुन ठाउँमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन, त्यो ठाउँमा उम्मेदवार छनौटमा विवाद आएको भन्ने छ नि ?
– ठूलो पार्टी भएको हुनाले, २० वर्षपछि चुनाव हुन लागेकाले थुप्रै आकांक्षीहरू हुनुहुन्छ । आकांक्षी बढी हुनुलाई अन्यथा लिन मिल्दैन । किनभने, यो बहुदलीय प्रतिस्पर्धामा अगाडि बढेको पार्टी लामो समयसम्म हामी प्रतिस्पर्धामा गयौं । २० वर्षपछि हुन गइरहेको चुुनावमा अनुमान गर्न सकिन्छ, त्यतिबेला २०५४ सालमा २० वर्ष पुगेको व्यक्ति अहिले प्रौढ हुने अवस्थामा पुगिसक्यो भने स्वभाभिक रुपमा त्यो अन्तरालमा, लामो समयसम्म चुनाव नहुँदाखेरी सामान्य रुपमा विवाद हुनु स्वभाविक हो । त्यसलाई अस्वभाविक मान्नुभएन । तर, हामीले त्यसलाई व्यवस्थापन गरिसकेका छौं । त्यो व्यवस्थापनका आधारमा हाम्रा पार्टीका नेता कार्यकर्ताहरू त्यसमा लागेका छन् ।


कञ्चनपुरको कुन नगरपालिका र कुन गाउँपालिकामा एमालेको अवस्था कस्तो छ ?
– सबै गाउँपालिका र नगरपालिकामा हाम्रो स्थिति राम्रो छ ।


कुन आधारमा कञ्चनपुरका सबै नगरपालिका र गाउँपालिकामा राम्रो छ भन्नुभयो ?
– पार्टी संगठन र विगतमा हामीले चुनाव लडेका र जितेका मतका आधारमा ।


एमालेले टिकट वितरण गर्दा त्रुटि गरेको चर्चा सुन्छि, त्यो असन्तुष्टिका बिचमा पनि हामी जित्न सक्छौं भन्ने दावी गर्न सकिन्छ ?
– प्रतिस्पर्धी साथीहरूले असन्तुष्टि जनाउनु अन्यथा होइन । यो चुनाव मात्र चुनाव होइन, यसपछि थुप्रै चुनाव भइरहेका छन् । यो स्थानीय तहको चुनावपछि प्रदेशको चुनाव हुन्छ । प्रदेश चुनावपछि २०७४ माघसम्म संसदको चुनाव हुनुपर्छ । त्यसो भएको हुनाले पनि हामीले हाम्रो पार्टीका असन्तुष्ट रहेका कतिपय (आमरुपमा त्यस्तो छैन) एकाध रुपमा असन्तुष्टि भए पनि अरु ठाउँमा त्यस्तो देखिँदैन । नदेखिएको ठाउँमा कसैले जवर्जस्ती छ भन्यो भने त्यसलाई कसरी विश्वास गर्ने ? गुम्सिरहेको छ भने त्यो बुझ्न सकिँदैन । तर, वास्तवमा हामी यो कुरासँग असन्तष्ट छु भन्ने साथीलाई विभिन्न कोणबाट, विभिन्न नेताबाट, हामी आफैंबाट पनि छलफल गरेर त्यस टुंगोमा पुगेका छौं । त्यसकारण पनि हाम्रो यो जिल्लामा स्थिति राम्रो छ । जिल्लामा मात्र नभएर समग्र महाकाली अञ्चलमा स्थिति अनुकुल बनेको छ ।


पहिलो चरणको चुनावमा एमाले पहिलो स्थानमा देखिएको छ । दोस्रो चरणमा एमालेलाई जनताले किन भोट दिने ?
– नेकपा एमाले यो देशको सच्चा पहरेदार शक्ति हो । यो देशभक्त पार्टी हो । देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने पार्टी हो । राष्ट्रको स्वाधिनताको रक्षा नेकपा एमालेले गर्छ भन्ने कुरा जनतामा विश्वास भएको छ । त्यो हामीले भनिरहनुपर्ने कुरा होइन, अहिले ठूला–ठूला शहरहरूमा राम्रो मतले जित भएको छ । हारै भए पनि अत्यन्त झिनो मतको अन्तरले हार भएको छ । त्यहाँका सचेत नागरिक नेकपा एमालेप्रति आकर्षित भएका छन् । नेकपा एमालेले जनताको पक्षमा काम गर्छ । राष्ट्रको स्वाधिनताको पक्षमा काम गर्छ । स्वाधिनतालाई जोगाउने काम गर्छ । मुलुकको विकासको कामलाई अगाडि बढाउँछ भन्ने विश्वासले नै जनताले मतदान गरेका छन् । पहिलो चरणको भन्दा दोस्रो चरणमा राम्रो मत आउँछ ।


एमाले कञ्चनपुरमा के–कस्ता चुनावी एजेन्डा लिएर गाउँगाउँ गएको छ ?
– पार्टीको आफ्नो घोषणापत्र, धारणा, विचारहरू छन् । त्यसमा पनि अहिले गाउँघरमा जाँदाखेरी जनताले हामी गाउँघरमा कार्यक्रम गर्दाखेरी वृद्धवृद्धा, एकल महिलाले हामीलाई यो रकम थोरै भयो, घर छैन खेत छैन, अनेक–अनेक समस्याहरू नेकपा एमालेप्रति आश्वस्त जनताहरूले त्यो कुरा हामीसँग गर्नुहुन्छ । कयौ ठाउँमा हामीलाई नचिन्ने सूर्य चिन्ह देख्दा पनि त्यहाँका बृद्धवृद्धाले हामीलाई सम्मान गर्ने पार्टी कुन हो हामी बुझ्छौं, तपाई ढुक्क हुनुहोस् भन्ने गर्छन् । त्यसैगरी, विकास निर्माण कार्यमा पनि एउटा जागरण नेकपा एमालेले गरेको थियो । नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा विकास निर्माणको जागरण अभियान सञ्चालन भएको थियो । पछिल्लो समयमा आउँदा नेकपा एमाले नेतृत्व गरेका जति पनि सरकार छन्, ति सरकारबाट जनताको पक्षमा राम्रै काम भएका छन् । योभन्दा अघिल्लो सरकार पार्टीका अध्यक्ष केपी ओली हुँदा पनि जनतामा विकासको जागरण पैदा गरेको थियो । त्यसैले पनि जनताका बिचमा अरु धेरै कुरा लगेर जानुपर्छ भन्ने लागेको छैन । जनता आफैं सजग र सचेत भएर हाम्रो पार्टीप्रति आर्कषित भएका छन् ।


कञ्चनपुरको पुरानो भीमदत्त नगरपालिकामा जितको सम्भावना कति छ ?
– हाम्रो जितको सम्भावना मुलतः पार्टी संगठनको व्यवस्थापन, नेकपा एमालेप्रति सर्वसाधारण जनताको आकर्षण हो । त्यसलाईं हामीले जनताको बिचमा, वृद्धवृद्धाको बिचमा, दलित जनजातिको बिचमा, अल्पसंख्यकको बिचमा र राष्ट्रसेवकको बिचमा लगेर गइरहेका छौं र उहाँहरूबाट माया प्राप्त भइरहेको छ । जसरी विद्यार्थी परीक्षाको तयारी गर्छ, त्यसरी नै हामी परीक्षाको तयारी गरिरहेका छौं ।


महाकाली अञ्चलका ४ जिल्लामा एमाले कति स्थानमा अगाडि आउँछ ?
– ठ्याक्कै यति स्थानमा अगाडि आउँछ नभने पनि समग्रमा हेर्दा महाकाली अञ्चल दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा स्थिति अत्यन्त अनुकूल र सकारात्मक छ । मैले पनि महाकाली अञ्चलका कतिपय जिल्लामा यो बेलामा भ्रमण गर्ने मौका पाए । ती ठाउँमा हामीले विगतमा पनि जितेका इतिहासहरू छन् । सरकारका गलत खालका गतिविधिलाई भन्डाफोर गरेर जनतालाई मतदान गर्नका लागि राम्रो अवस्था सिर्जना गर्न सक्यो भने हामी बहुमतमा आउँछौं ।


प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सत्ता समिकरण सुरु हुने देखिएको छ । देउवा नेतृत्वको सरकारमा नेकपा एमालेको सहभागिता देखिन्छ या प्रतिपक्षको भूमिकामा रहन्छ ?
– अहिले यो वर्तमान सरकार चुनावभरि परिवर्तन गर्नुपर्ने आवश्यकता थिएन । किनभने, जुन सरकारको पालामा निर्वाचनको घोषण गरिएको थियो, त्यो सरकारले दोस्रो चरणको निर्वाचन गर्न पाउने अधिकार हो । तर, सत्ता गठबन्धनको लिप्सासँग अत्यन्त मरिहत्ये गर्ने प्रवृत्ति कांग्रेस पार्टीमा देखिन्छ र त्यसमा पनि अहिले आएर कांग्रेसको नेतृत्व गरिरहेका कांग्रेसका सभापति शेरबहादुर देउवामा सत्ता आशक्ति देखिन्छ । त्यसले उहाँहरू मरिहत्ये गरेको देखिन्छ । तर, एक्लै पार्टीको कसैको पनि बहुमत छैन भने एक्लै सरकार बनाउन सक्दैन । कुनै पनि पार्टीसँग जोडिएर बनाउने हो, त्यसमा नेकपा एमालेले पनि मैदान खाली गर्छ भन्ने कसैले सोचेको छ भने त्यो हुन सक्दैन । किनभने, नेकपा एमाले जनताप्रति जिम्मेवार पार्टी हो । जनताले मन पराएको पार्टी हो । नेपाली जनताले मन पराउँदै पराउँदै पनि बाध्यतावश छुट्नुपरेको अवस्था हो । त्यसलाई पुनः नेकपा एमालेको नेतृत्वमा बन्न सक्छ । हामी त्यतिकै मैदान खाली गर्दैनौ । किनभने, मैदान खाली गरेर एकलौटी कांग्रेसलाई दिने, माओवादी केन्द्रलाई दिने यो कुरा कदापी हुन सक्दैन ।


एमाले नेतृत्वमा सरकार गठन गर्न एमालेसँग पनि बहुमत छैन ? कसरी एमाले नेतृत्वको सरकार सम्भव हुन्छ ?
– असम्भव भन्ने कुरा केही पनि हुँदैन । किनभने, अघिल्लो सविधानसभापछि हाम्रो पार्टी तेस्रो स्थानमा थियो । संसदमा तेस्रो स्थानमा थियो । तर, त्यतिबेला हाम्रो पार्टीले २–२ पटक सरकारको नेतृत्व गरेको छ । कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल त्यतिबेला प्रधानमन्त्री हुनुभयो । अहिले तेस्रो नम्बरको पार्टीलाई नेपाली कांग्रेसले सघायो । नेकपा एमालेको संसदमा जुन स्थिति छ, कांग्रेसभन्दा १५ देखि २० सिटले मात्र पछाडि छ । अरु पार्टी मिलेर नै बनाउने हो । कांग्रेस पनि एक्लै बनाउने होइन, उसले पनि मओवादी केन्द्रसँग मिलेर मात्र पनि बनाउन सक्दैन । त्यसो भएको हुनाले नेकपा एमालेको नेतृत्वमा भोलि कांग्रेस पनि आउन सक्छ, माओवादी पनि आउन सक्छ । अन्य पार्टी पनि आउन सक्छन् ।


अन्त्यमा केही भन्नैपर्ने कुरा छुट्यो कि ?
– अहिलेको सरकारको बारेमा एउटा कुरा गर्न चाहन्छु– यस्तो असंवैधानिक, यस्तो कुटनीतिक मर्यादा उल्लंघन गरेको यस्तो नालायक सरकार अस्ती मात्रै सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा र दलाई लामाको फोटो लगाएर राखेको छ भन्ने समाचार माध्यममा आएको छ । हामी फ्रि तिब्बतको पक्षमा छैनौं र दलाई लामा फ्रि तिब्बतको पक्षमा भएका मान्छे हुन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन् । यो नेपाली कांग्रेसका सभापति अघिल्लो पटक यो सरकार बन्ने बेलामा तिब्बत गएर, भारतमा गएर तिब्बतका निर्वासित नेता दलाई लामासँग भेट गरेर आए । त्यसको परिणाम अहिले आएर अस्ती मात्रै सगरमाथाको चुचुरोमा दलाई लामाका तस्बिरहरू र दलाई लामाको झण्डा पुग्यो भन्ने देखिएको छ । मैले यो कुरा किन उठाएको भने यो सरकार नालायक सरकार हो । राष्ट्रयता, स्वाधिनताको पक्षमा, पञ्चशीलताको पक्षमा अडिएको जुन एउटा स्थिति छ, हाम्रो देश नेपालको खिलाप हुने गरी अहिले यो सरकार चलिरहेको छ । त्यसैले पनि यो गठबन्धन वास्तवमा टिकिरहनु हुँदैन । फेरि पनि माओवादी र कांग्रेस गठबन्धनको सरकार हुनु हुँदैन भन्ने जोड दिन चाहन्छु । यसमा नेकपा एमालेले नेतृत्व गर्नुपर्छ ।


About Author
-मानसखण्ड