२१९ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १२ , ०९:२८ बजे

अन्तर विद्यालय क्रिकेट : ग्ली एकेडेमी र इमरेड एकेडेमीको जित

Image

धनगढी । धनगढीमा जारी डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले पराजित गर्दै ग्ली एकेडेमी दोस्रो चरणमा प्रवेश गरेको हो । धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको ग्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १६ रन बनायो । ग्लीका पदम बोहराले ५२ रनको अर्धशतकीय पारी खेले भने विशाल भट्टले १३ रन बनाए ।

ग्ली एकेडेमीका ५ जना व्याट्सम्यान रन आउट भएका थिए भने ज्ञान निकेतनले ३८ अतिरिक्त रन दिएको थियो । ज्ञान निकेतनका विक्रम खत्रीले १ विकेट लिए । १ सय १७ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको ज्ञान निकेतन १६ दशमलव २ ओभरमा ९६ रनमा समेटिएको हो । ज्ञानका आदित्य शाहले ११ रन र पारस देउवाले १० रन बनाउनुबाहेक अरु खेलाडीको प्रर्दशन निराशाजनक रह्यो । ज्ञानलाई सस्तैमा समेट्ने क्रममा ग्लीका पदम बोहराले ५ तथा सविन जोशीले २ विकेट लिए । ५२ रनको अर्धशतकीय पारी खेलेका ग्लीका पदम बोहरा ‘म्यान अफ द म्याच’ घोषित भए ।

बिहीबारकै दोस्रो खेलमा इमरेड एकेडेमीले मयुर स्कूललाई ८ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको इमरेडले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १६ रन बनायो । इमरेडका कप्तान रोहित सिंहले अविजित ४१, हिमासु चन्दले १६, विवेक बयलकोटी १० रन बनाए । मयुरका दिपेश रावल र साहिल कायस्थले १/१ विकेट लिए । १ सय १७ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको मयुर १७ दशमलव ३ ओभरमा १ सय ८ रनमा समेटिएको हो । मयुरका दीपेन्द्र शर्माले ३५, जंग साउँद र रोशन रावतले १७/१७ रन बनाए ।

बलिङमा इमरेडका भूपेश ओझा, अजय महरा र सुनील भण्डारीले २/२ विकेट लिए । ४१ रनको पारी खेलेका इमरेडका रोहित सिंह ‘म्यान अफ द म्याच’ घोषित भए ।


About Author
-मानसखण्ड