५०८ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ११ , १०:३२ बजे

डीसीए अन्तर विद्यालय क्रिकेट : क्यास्पियन र लिटिल फ्लावर विजयी

Image

धनगढी । धनगढीमा सुरु भएको डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा क्यास्पियन एकेडेमी र लिटिल फ्लावर इङ्गलिस बोर्डिङ स्कूलले विजयी सुरुवात गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा मालिका स्कूललाई ८ विकेटले पाखा लगाउँदै क्यास्पियन एकेडेमी दोस्रो चरणमा प्रवेश गरेको हो । धनगढीको फाप्ला खेल मैदानमा भएको पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको मालिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २४ रन बनायो । मालिका स्कूलका लागि प्रशान्त पौडेलले २८, सागर पार्कीले २५ तथा विजय खातीले २४ रनको योगदान दिए । बलिङमा क्यास्पियन एकेडेमीका रौनक भण्डारीले ३ तथा शशांक महराले २ विकेट लिए ।

१ सय २५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको क्यास्पियन एकेडेमीले १३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । क्यास्पियनका लागि कप्तान युक्रेन चन्दले अविजित रहँदै ५८ रनको अर्धशतकीय पारी खेले । प्रकाश पाठकले १९ रनको योगदान दिए । मालिकाका विजय खाती र सम्राट नेपालीले १/१ विकेट लिए । खेलमा क्यास्पियन एकेडेमीका कप्तान चन्द ‘म्यान अफ द म्याच’ घोषित भए ।

दोस्रो खेलमा लिटिल फ्लावर स्कूलले द गार्डन स्कूललाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको लिटिलले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । लिटिलका लागि मनोज कठायतले ४२, चेतन विष्टले २९ र रमेश रावतले १७ रन बनाए । गार्डनरका विराज खड्काले २ तथा तरुन सिंह र प्रकाश कुँवरले १/१ विकेट लिए ।

१ सय ५० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको गार्डनरले १६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । गार्डनरलाई सस्तैमा समेट्ने क्रममा प्रेम बम र मनिल थापाले २÷२ विकेट लिए । विद्यालय स्तरबाटै परिपक्व खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताइएको छ । २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धनगढीका २९ विद्यालयको सहभागिता रहको प्रतियोगिताका संयोजक विजय कार्कीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्वितीय हुनेलाई १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।


About Author
-मानसखण्ड