१९०३३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १० , ०९:५६ बजे

प्रजातन्त्रको परिपक्वता र रञ्जु दर्शनाको उदय

Image

२०६४ सालको चुनाव ताका म ४ कक्षामा पढ्थे । सुदूरपश्चिम बैतडीको कुरा हो । हाम्रोतिर मतदानलाई ‘भोट हाल्नु’ भन्ने गरिन्छ । खासै थाहा थिएन । तर, केही रुखवाला र केही सुर्यवाला पर्चा स्कूलमा र पसलमा पनि चिप्काएको देखिन्थ्यो । चैत्र २८ गते चुनाव भयो । केमा भोट हाल्नुभयो ? भन्दा आमा हजुरआमाहरू भन्नुहुन्थ्यो, ‘हँ लाटा हामी त एमालेका मान्छे पो त । फेरि घामै नलागे वा सुर्य भगवानै नदेखिए के होला ? तर, स्कूलको गेटैमा माउवादी रैछन् । हामीलाई भोट दिए नदिएको हामी हेरिराख्छौं भनेपछि आधाआधा गरियो । १ सुर्यमा, १ उनीहरूलाई ।’

सकारात्मक कुरा के भने गाउँमा ‘भोट हालेर के हुन्छ ?’ भन्ने थाहा नभएपनि भोट हाल्ने उत्साह अझैं छ । निर्वाचन मात्रैले पनि प्रजातन्त्रको आधाउधि परिभाषा दिएको छ । चुनावमा मात्रै भए पनि देशको भाग्य कोर्ने प्रतिनिधिको दर्शनभेट गाउँले पाएको छ । अहिले २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा पनि मतदातामा असन्तुष्टि छ र उत्साह छ । नयाँपन खोजीरहेको छ देश । तर, त्यो अवसर यथास्थितिका दलहरूले दिन अझैं सताब्दी लगाउँछन् । अधिकांश उम्मेदवार २० वर्ष पहिलेका पदाधिकारी नै हुनुले विडम्बनापूर्ण अवस्था देखाउँछ ।

२०७० सालको चुनावताका म १० कक्षामा पढ्दा यो पालि त केतलीमा हाल्नुपर्छ भन्थे । केतली पहिले पनि स्वतन्त्र उम्मेदवारी लडिसकेका लख्खाभाईको पार्टी अखण्ड सुदूरपश्चिमको चुनाव चिन्ह थियो । मेरो नयाँ आउनुपर्छ, युवा आउनुपर्छ भन्ने सोचले म उनीप्रति प्रभावित थिए । चुनावी परिणाम आएको दिन आमाले भन्नुभयो, ‘लौ हाम्रो भोट हा¥यो । न सुर्य जित्यो न केतली ।’ म सान्त्वना दिँदै भन्थे चुनाव चिन्ह र पार्टी हेरेर हैन राम्रो मान्छेलाई भोट दिनुपर्छ अर्को पाली । अर्को पाली पनि युवा, प्रजातान्त्रिक र सक्षम उम्मेदवारलाई जिताउनुपर्छ भनेर भन्थे । मैले प्रजातन्त्रको कुरा गर्दा तँ त रुख पार्टीको रहेछस् भन्थे । तर, म प्रजातन्त्र शब्दको अर्थ उनीहरूलाई बुझाउन असमर्थ छु । किनकि, मैले प्रजातन्त्र अनुभूत गर्न पाएकै छैन । न त मेरो गाउँले प्रजातन्त्र प्राप्तिपछि केही नयाँपन पाएको छ ।

सकारात्मक कुरा के भने गाउँमा ‘भोट हालेर के हुन्छ ?’ भन्ने थाहा नभएपनि भोट हाल्ने उत्साह अझैं छ । निर्वाचन मात्रैले पनि प्रजातन्त्रको आधाउधि परिभाषा दिएको छ । चुनावमा मात्रै भए पनि देशको भाग्य कोर्ने प्रतिनिधिको दर्शनभेट गाउँले पाएको छ । अहिले २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा पनि मतदातामा असन्तुष्टि छ र उत्साह छ । नयाँपन खोजीरहेको छ देश । तर, त्यो अवसर यथास्थितिका दलहरूले दिन अझैं सताब्दी लगाउँछन् । अधिकांश उम्मेदवार २० वर्ष पहिलेका पदाधिकारी नै हुनुले विडम्बनापूर्ण अवस्था देखाउँछ ।

२०५४ सालमा म जन्मेदेखि पहिलो पटक देश स्थानीय चुनावमा होमिएको छ । ३ वटा प्रदेशमा बैशाख ३१ गते स्थानीय चुनाव भइसकेको छ भने अन्य ४ प्रदेशमा जेठ ३१ गते चुनाव हुने मिति तोकिएको छ । २०५४ सालमा चुनाव हुँदा १८ वर्ष नपुगेका कति नागरिक होलान्, जसले आफ्नो उमेर ३८ वर्षभन्दा बढी हुँदा बल्ल स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान गर्न पाइरहेका छन् । यो चुनावमा म पनि मतदान गर्छु होला पहिलो पटक । मेरो देशको कानुनले मेरो नेतृत्वको त परिकल्पना नै गरेको छैन । मलाई उमेर नपुगेकै कारण राज्यले नेतृत्व ग्रहण गर्न मानेको छैन । तर, मेरो मत भने ‘बहुमुल्य’ मानेर ग्रहण गर्दछ । चुनावमा मैले मताधिकारको उपयोग गर्नैपर्छ र म सहभागी हुँदैछु ।

महंगो हुँदाहुँदै पनि प्रजातन्त्रको सुन्दर पक्ष भनेकै जनसहभागितामा आधारित शासन प्रणाली हो । तर, देशको आधा बढी प्रतिशत जनसंख्या युवा वर्गको सहभागिता न्यून हुन्छ । देशको खास उमेर समूह निर्णय प्रक्रियाभन्दा बाहिर रहँदा कसरी प्रजातन्त्रको मिठास रहन्छ ? युवा समूहलाइ ‘अपरिपक्व’ मानिने हाम्रो मनस्तिथिले हाम्रो प्रजातन्त्र नै अपरिपक्वतामा रुमल्लिरहेको बुझ्न धेरै ढिला भइसकेको छ । थोरै मात्र सकारात्मक र नयाँपिढीका युवाहरू सिद्धान्तले ध्रुवीकृत छन् । प्रजातन्त्रको मर्म ध्रुवीकरण र अंकगणित मात्र नभएर समाधान, सुधार र विकल्पसँग पनि जोडिन जान्छ । यही प्रमाणित गर्न तम्सिएकी एक युवा नेतृ हुन् रन्जु दर्शना ।

विवेकशील नेपाली पार्टीमा सम्भवतः नेपालकै सबैभन्दा कान्छी केन्द्रीय सदस्यको परिचय पाएको १ वर्षमै उनले नेपाली इतिहासकै सबैभन्दा कान्छी उम्मेदवारको रुपमा मैदान उत्रिनुपर्ने अवस्था आयो । विरोधी र आलोचकले यसलाइ पार्टीको लोकप्रियताको लागि फालिएको ‘तुरुप’को संज्ञा दिए । उनको बौद्धिक परिपक्वता र स्पष्ट भीजनले अत्तालिएपछि उनीमाथि गैरजिम्मेवार र नियोजित प्रहार पनि सुरु भए । ४ वर्षदेखिको सामाजिक, राजनीतिक जीवनमा दर्जनौं पटक हेडलाइन बनेकी रञ्जुलाई लोकप्रियताका लागि उनको उमेरको प्रयोग गरेको आरोप पनि छ, जुन विगतमा उनले प्रमाणित गरिसकेको कार्यकुशलता र नेतृत्वले गलत सावित गरिदिएको छ ।

सधैं युवालाई प्रयोग मात्रै गर्ने र महिलालाई उपाध्यक्ष र कोषाध्यक्षमै सीमित राख्ने प्रचलनमा एक युवा नेतृलाई महानगरको नेतृत्व सम्हाल्न योग्य ठानेर उम्मेदवार बनाउँदा चर्चा हुनु र निर्णय प्रक्रियामा कपाल फुलेकै हुनुपर्छ भन्ने अमुक वर्ग आश्चर्यमा पर्नु स्वभाविक हो । एक सहयात्रीका नजरमा चर्चामा रहेका उमेर र लिङ्ग रञ्जुको योग्यताका मापक हुन् जस्तो मैले देखेको छैन । विवेकशील नेपालीले उनलाई यी मापक देखेर उम्मेदवार बनाएको पनि हैन । उनलाई दलले अंगीकार गरेको खुला उम्मेदवार नीतिमार्फत् प्रतिस्पर्धीमध्ये उत्कृष्ट र सक्षम देखिएपछि उनलाई यो अवसर दिइएको हो । उनले आफ्नो क्षमता विगतमा ठूल्ठुला सामाजिक आन्दोलनको नेतृत्व गरेर या भूकम्पमा सयौं स्वयंसेवक र लाखौंको सहयोग व्यवस्थापन गरेर पुष्टि गरेकी छिन । रञ्जुमा साहस, विनम्रता र निष्ठा छ । उनमा साहस र विनम्रता जोडिएका विषय हुन् भन्ने पनि थाहा छ ।

एक सहयात्रीको रुपमा म भन्न सक्छु रन्जुको खुबी सबैसँग समन्वय र सहकार्य गर्ने सक्ने, दक्षता, विज्ञता समयानुकूल प्रयोगमा ल्याउन सक्ने समन्वयकारी भूमिका खेल्ने परिणाममुखी नेतृत्वको हो । यस अर्थमा रन्जुमा नेतृत्व गुण पर्याप्त रहेको पुष्टि भइसकेको छ । कहिलेकाहीँ नियतिले नेतृत्व चुन्छ । तर, मेयरको विश्वसनीय उम्मेदवारका रूपमा उनले आफ्नो योग्यता प्रस्तुत गरिरहेकी छन् र आउने दिनमा अझैं देखिँदै जानेछ । रन्जुको नेतृत्वलाई काठमाडौं महानगरले तेस्रो शक्तिका रुपमा स्वीकार गरेको छ । काठमाडौंले रन्जुजस्ता किशोर नेतृत्वलाई स्वीकार्ने लक्षण हो यो ।

रञ्जुको पुस्ताले आमाबुवाको पुस्ताबाट आलोचना र निरर्थक प्रचारवाजी हैन साथ, समर्थन र रचनात्मक सहयोग खोजेको छ । सुरुमा राजनीति र विस्तारै समाज र देशबाट वितृष्णा महसुस गरेर पलायन भइरहेका र डिप्रेसनमा रहेका युवामा रञ्जुले आशा भरिदिएकी छिन्, उत्साह छरिदिएकी छिन् । कयौं विरक्त र निराश अवकास प्राप्त र ज्येष्ठ नागरिकलाई सपना र भरोसा बन्न पुगेकी छिन् । उनको उदयले काठमाडौंलाई मात्रै हैन, साँच्चै पृथक र सुधारमुखी समाधानमुखी नेतृत्व नयाँपुस्ताबाट आउन सुरु हुनेछ । उनले प्रतिनिधित्व गर्ने दलले यही धारणा राख्दछ । यो उदय एक सामान्य उदय नभएर यो देशका आधा बढी जनसंख्या भएका नयाँ पुस्ताको जीत हुनेछ ।

विवेकशील नेपाली पार्टीको नियोजित र प्रचारशैलीका लागि मात्रै रन्जुको उम्मेदवारी थिएन । उम्मेदवारको क्षमता नेतृत्व गर्न सक्ने र कर्मचारी व्यवस्थापन गर्न सक्ने तथा समन्वय गर्न सक्ने क्षमता भएकाले उनलाई र उनीजस्तै धेरैलाई अगाडि ल्याउने भगीरथ प्रयत्न हो यो । राजनीतिक भाषामा विवेकशील नेपालीको यो अभियान एक क्रमभंगता हो । विवेकशील नेपालीको प्रयासले र प्राविधिक रुपमा रञ्जुले पाएको मतले प्रजातन्त्र परिपक्वताको पथमा लम्किरहेको स्पष्ट सन्देश दिएको छ । यो वैकल्पिक उदयका लागि काठमाडौंका मतादाता र रन्जुको टीम दुबै तयार थिए ।

अब पालो दोस्रो चरणको छ, जहाँ सुदूरपश्चिम पनि परेको छ । चलिरहेको लुटतन्त्रलाई धक्का दिन नयाँपिँढीको जवाफदेही नेतृत्व महानगरमा मात्र हैन, गाउँपालिकाका वडा–वडामा आवश्यक छ । आँटे सकिँदो रहेछ, आँट्न पो गाह्रो रहेछ ।
(लेखक विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन् ।)


About Author
-मानसखण्ड

सम्बन्धित