१३७ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १० , ०९:४९ बजे

जीप दुर्घटनामा १४ जना घाइते, ३ गम्भीर

Image

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उनले बताए । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ ।

बैतडीको खोड्पेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से१ज २४५ नम्बरको जीप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो । जीप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ । रासस


About Author
-मानसखण्ड