१७७ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २७ बुधबार, ०९:११ बजे

अत्तरिया महिला क्रिकेटको उपाधि काठमाडौंलाई

Image

१ सय ७ रन बनाएकी पूूजा उत्कृष्ट घोषित

धनगढी  । कैलालीको अत्तरियामा सञ्चालित रुस्लान अत्तरिया कपको उपाधि राइजिङ्ग क्रिकेट वुमन काठमाडौंले हात पारेको छ ।

मंगलबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई पराजित गर्दै काठमाडौंले उपाधि हात पारेको हो । उपाधिसँगै काठमाडौंले नगद २ लाख रुपैयाँ र ट्रफी हात पार्दा एपीएफले १ लाख रुपैयाँमै चित्त बुझाएको छ । अत्तरियास्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । काठमाडौंका पूूजानिमा भाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाइन् ।

सहनाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१ तथा नेरी थापा र आरती विडारीले १३÷१३ रन बनाए । एपीएफकी सरिता मगरले ३ र करुणा भण्डारीले २ विकेट हात पारिन् । १ सय ५३ रनको विजय लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपीएफकी ज्योति पाण्डेले ४२ बल खेल्दै ५ चौकाको मद्दतले ४८ रन बनाए पनि टीमलाई हारबाट जोगाउन सकिनन् । त्यस्तै, करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न काठमाडौंकी पूूजानिमा भाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन् । प्रतियोगितामा १ सय ७ रन बनाउन सफल पूूजा उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २५ हजार रुपैयाँ हात पारिन् । काठमाडौंकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भइन् भने एपीएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ठ ब्याट् वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।


About Author
-मानसखण्ड