२९९ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २२ , ११:४९ बजे

रुस्लान अत्तरिया कप महिला क्रिकेट सुरु

Image

धनगढी । अत्तरियामा बिहीबारदेखि देशकै सर्वाधिक धनराशिको ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

युनाइटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली एफिएफले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा विभागीय टोली एपीएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले पराजित गरेको हो । अत्तरियास्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनायो । टोलीलाई सम्मानजनक योगफलसम्म डोहोर्‍याउनका लागि सरस्वती चौधरी र मेन्सी चौधरीको प्रदर्शन उत्कृष्ट रह्यो । दुबै जनाले पाँचौं विकेटका लागि ४३ रनको अविजित पारी खेले ।

साझेदारीमा सरस्वतीले अविजित २१ र मेन्सीले अविजित १९ रन बनाइन् । टोलीका लागि रितु जैनले १९ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले १४ रनको योगदान दिइन् । एपीएफका लागि करुणा भण्डारीले मात्रै १ विकेट लिइन् । ३ जना खेलाडी रनआउट भए । ९४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको एपीएफले १५.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जितमा ज्योति पाण्डेय अर्धशतकीय पारी खेल्दै ५३ रन बनाउन सफल भइन् । त्यस्तै, करुणाले अविजित १८ रन बनाइन् । करुणा र ज्योतिले चौथो विकेटका लागि ६६ रनको साझेदारी गरे । मिलन क्रिकेट एकेडेमीका लागि संगीता राईले २ विकेट लिइन् । खेलको ‘म्यान अफ द ओमेन’ हुँदै एपीएफकी ज्योतिले ३ हजार रुपैयाँ हात पारिन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा राइजिङ क्रिकेट वुमन काठमाडौं र कैलाली जिल्ला क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा एपीएफ र कञ्चनपुर ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । करिब २५ लाख रुपैयाँ खर्च हुने टी–२० को विजेताले उपाधिसहित २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ हात पार्ने छन् । ‘प्लेयर अफ दि सिरिज’लाई २५ हजार रुपैयाँ तथा वेस्ट ब्याटिङ पर्फर्मेन्स, बेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १०/१० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिने ६ वटै टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छन् । समूह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राइजिङ क्रिकेट वुमन काठमाडौं र बारा क्रिकेट एकेडेमी छन् । रासस


About Author
-मानसखण्ड