५१७ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २१ बिहीबार, ०९:३६ बजे

देउडा छोडेर दोहोरी गाउन थाले सुदूरपश्चिमेली गायक

Image

धनगढी । सुदूूरपश्चिमेलीको देउडा गीत पछिल्लो समयमा लोप हुँदै गएको छ ।

युवापुस्ताको देउडाप्रतिको विकर्षण र देउडा स्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि गीत लोप हुँदै गएको हो । बजारमा आधुनिक, लोक गीत संगीतका साथै पश्चिमा गीत संगीतले जरो गाडेपछि देउडा गीत विस्तारै हराउँदै जान थालेको गायक नरेन्द्र रावलले बताए । कुनै बेला डाडाँपाखा र गाउँबस्तीमा घन्किने देउडा भाका पश्चिमा गीतसंगीतका कारण एकाएक हराएको थालेको रावल बताउँछन् ।

‘देउडा गीत गाउँदा लगाएको लगानी समेत उठ्न छोड्यो,’ उनले भने, ‘त्यसैले देउडा गाउने कलाकार अहिले दोहोरी गाउन थालेका छन् ।’ युवा पुस्तामा देउडाप्रतिको विकर्षणले देउडा भाकाहरू अचेल सुनिन छाडेको रावलले बताए ।  

देउडा संस्कृतिको जग सुदूर तथा मध्यपश्चिम भएपनि पश्चिमा गीतसंगीतको प्रभावले देउडा भाका कम सुनिन थालेको देउडाका जानकार पदम धामी बताउँछन् । सुदूर तथा मध्यपश्चिमका जिल्लामा कुनै बेला देउडाको रौनक नै बेग्लै हुने गरेको अनुभव धामीको रहेको छ । देउडा गीतको संरक्षण र सम्वद्र्धन गर्न सबैले लाग्नुपर्ने उनले बताए ।

बजार लोक, पप, आधुनिक गीत संगीतको कब्जामा रहेको देउडा गायक दीपेन्द्र दाहालको भनाई छ । ‘सहर बजारमा त पश्चिमा गीत संगीतले बजार लिएको छ,’ देउडा गायक दाहालले भने, ‘आफ्नो मौलिकताप्रति कमै मात्रैलाई चासो देखिएका कारण पनि देउडा गीत लोप हुँदै गएको छ ।’ धेरै युवायुवती आधुनिकताका पछाडि दौडिएकाले गीतले बजार पाउन नसकको दाहालको वुझाई छ ।

यस्तै, सुदूरपश्चिमका समाजमा आधुनिक गीत संगीतको विस्तारसँगै देउडाका स्रोता पनि घटेका छन् । ‘केही वर्ष अघिसम्म मात्रै पनि देउडाको माग बजारमा हुने गथ्र्यो । तर, हिजो आज देउडा गीतको माग गर्नेको संख्या न्यून रहेको छ,’ क्यासेट व्यवसायी विजय बमले भने ।


About Author
-मानसखण्ड

सम्बन्धित