८६२ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख ०४ , ०९:१८ बजे

फेरि रोकियो महाकालीको पानी : चैते धानको अनुदान नै खर्च भएन

Image


चैतेधान रोप्ने समयमा हरेक वर्ष महाकालीको पानी नपाउँदा कृषक हतोत्साही, अनुदानको रकम खर्च भएन


महेन्द्रनगर । महाकाली सिँचाईको नहर पुगेका कञ्चनपुर विभिन्न क्षेत्रमा नहरमा नियमित पानी नहुँदा चैते धानखेती गर्ने किसान मारमा परेका छन् ।

नहरमा नियमित पानी नहुँदा भीमदत्त नगरपालिका–१६ वसन्तपुर र बेदकोट नगरपालिका–९ सुन्दरपरका किसानले चैतेधान रोप्न पाएका छैनन् । सामान्ययता चैतेधान फागुन अन्तिम सातादेखि चैत मसान्तसम्म रोपिन्छ । तर, नियमित नहरमा पानी नभएका कारण किसानले रोपाई गर्न पाएका छैनन् ।

महाकाली–पथरैया–मोहना सिँचाई व्यवस्थापन कार्यालयले सिँंचाइको लागि समयमै पानी पुर्‍याउन नसक्दा रोपाइँ गर्न ढिलाई भएको हो । कार्यालयले पालोपालो अर्थात् ३–४ दिनको फरकमा नहरमा पानी छोड्दा चैतेधान रोप्न ढिलाई भइरहेको वसन्तपुरका किसान टेकबहादुर वलीले बताए । पानी नहुँदा बीउ समेत सुक्न थालेको उनले दुखेसो पोखे । सिँचाईको सुविधा नहुँदा पछिल्लो समयमा किसानले चैतेधान लगाउन छोड्न थालेको वलीको अनुभव छ ।

सुन्दरपुरमा पनि प्रत्येक हप्ताको आईतबार, सोमबार र मंगलबार मात्र नहरमा पानी आउने गरेको छ । नहरमा आलोपालो पानी आउँदा रोपाइँ गर्न ढिलाई भइरहेको सुन्दरपुरका किसान अर्जुनबहादुर चन्दले बताए । सिँचाई व्यवस्थापन कार्यालयका इन्जिनियर मोहनराम टेलर गर्मीयाममा सिँचाईको समस्या हुने गरेको स्वीकार गरे । ‘सबै ठाउँमा सिँचाई व्यवस्था गर्नुपर्ने भएकाले ३–४ दिनको फरकमा बिहान ६ देखि बेलुका ५ बजेसम्म पानी छोडिएको छ,’ उनले भने । नहरमा नै पानी कम भएकाले समस्या भएको टेलर बताउँछन् ।

चैतेधानको अनुदानमध्ये १६ लाख फ्रिज जाँदै
कञ्चनपुरमा चैतेधान खेती गर्ने किसानका लागि आएको अनुदानको बजेटको १६ लाख रुपैयाँ फ्रिज जाने भएको छ । धानमा आत्मनिर्भर बनाउने भन्दै सरकारले चैतेधान खेती गर्ने किसानलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ । तर, कञ्चनपुरमा चैतेधान खेती गर्ने किसानको संख्या न्यून हुँदा १६ लाख रुपैयाँ फ्रिज जान लागेको हो ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बाली संरक्षण अधिकृत नवराज जोशीका अनुसार २० लाख रुपैयाँ अनुदान रकममध्ये ४ लाख रुपैयाँ मात्र किसानलाई वितरण गरिने छ । कञ्चनपुरमा ४ सय हेक्टर क्षेत्रफलमा चैतेधान खेतीका लागि अनुदान रकम आएपनि ८० हेक्टर जमिनमा चैतेधान खेती गरिँदै आएको छ । ‘चैते धानखेती गर्ने किसानलाई प्रतिहेक्टर ५ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था छ,’ उनले भने ।

१० क्वीन्टल मकैको बीउ वितरण
कृषि कार्यालय कञ्चनपुरले १० क्वीन्टल मकैको बीऊ वितरण गरेको छ । बाली विकास अधिकृत जोशीका अनुसार २ सय किसानलाई १० क्वीन्टल अरुण–२३ जातको मकैको बीउ वितरण गरिएको हो ।
बीउ ५० हेक्टर जमिनमा लगाउने पुग्ने अनुमान गरिएको छ । हिउँदे तरकारी लगाइसकेपछि खाली रहने जमिनको सदुपयोग तथा परीक्षण प्रदर्शनको बीउ वितरण गरिएको जोशीले बताए ।