२८९ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख ०३ , १०:३५ बजे

एउटा वियोगान्त गीत, जसले प्रेमिकालाई आत्महत्या गरायो

Image

 काठमाडौं । गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन् । सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला झस्काइरहन्छ । मुटु असह्य हुने गरी रेटिरहन्छ ।

खोटाङबाट काठमाडौं आएर राईले गीत–संगीतमा राम्रो नाम कमाए । घर–गृहस्थीमा आफ्नै संसार सृष्टि गरेर अघि बढे । तर, एक समयमा पत्रमित्र साथी हुुँदै प्रेमिका बनेकी पात्रले उनलाई उही तरुनो बेलामा पुर्‍याइदिइन् ।
बैंसमा प्रेमको भुङ्ग्रोमा परेर छटपटाएका गीतकार राईले सफल गीत र असफल प्रेमको दुःखान्त किस्सा अनलाइनखबरलाई यसरी सुनाएः

 

सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो । रेडियो नेपालबाट गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए कस्तो हुन्थ्यो भन्ने रहर पलाउँथ्यो । त्यसबेला लेखक–कवि बन्छु भन्ने एक मनमा पनि थिएन ।

०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । गायक बन्छु भन्ने सोच मनभरि थियो । गायक बन्नलाई सुर–तालको अनेक ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो । बरु कवि–लेखकहरूसँग सरसंगति बढ्दै जाँदा गीत र कविता लेख्न थालेँ ।

‘म मरेको पल’ २० वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ ।

०४० सालताका साथीभाइसँग सम्पर्क गर्ने माध्यम चिठीपत्र नै थियो । मोबाइल फोन त परको कुरा, ल्यान्डलाइन फोन पनि सहज भइसकेको थिएन । त्यो बेला पत्रमित्रताकै जमाना थियो ।

म पूर्व–पश्चिमका नयाँ–नयाँ साथीसँग पत्रमित्रता निकै गर्थें । गोरखापत्र संस्थानबाट छापिने युवामञ्च पत्रिकामा पत्रमित्र बन्नका लागि शिक्षा, उमेर, रुचि र सम्पर्क ठेगानासहित फोटोहरूको सूची नै छापिएर आउँथ्यो ।

त्यसै क्रममा पत्रमित्र स्तम्भमा चितवन टाँडी ठेगाना भएकी अस्मिता थापा (क्षेत्री) नाम गरेकी केटीलाई देखेँ । उनको रुचि पनि साहित्य र संगीत देखेपछि विचार मिल्ने देखेँ । चिठी पठाएँ ।

चिठी आदानप्रदान बढ्दै गएर हामी राम्रो पत्रमित्र भयौं । चिठी आदानप्रदानको क्रम दुई–तीन वर्ष चल्यो । म त्यसबेला ल क्याम्पसमा पढ्दै थिएँ । उनी चितवनमा आईएड सकेर बीएड पढ्न राजधानीमै आइन् । हाम्रो भेट भयो । झन् घनिष्ट साथी भयौं ।

त्यतिबेला म वानेश्वरमा दिदीको घरमा बस्थेँ । अस्मिता चाहिँ बागबजारमा डेरा लिएर बस्थिन् । हाम्रो घनिष्टता बढेसँगै उनी बेलाबेला वानेश्वर आउन थालिन् । मेरो दिदीसँग पनि उनको राम्रो घुलमिल भयो । बिस्तारै परिवारकै सदस्य जस्तो भइन् । कुनैबेला त हप्ता–दस दिनसम्म पनि हाम्रैमा बस्थिन् ।

दिदी र हाम्रै छिमेकमा बस्ने दिदीकी मितिनीले उनलाई हाम्रो भाइसँग विवाह गर्नुपर्छ है भनेर जिस्क्याउँदा रहेछन् । अस्मिता लजाउँदै त्यसै मक्ख पर्दिरहिछन् । म त आफ्नै तालमा बहकिएर हिँड्ने अल्लारे पाराको थिएँ । उनलाई विशुद्ध साथी मात्र ठानेकाले त्यस्तो केही सोचेकै थिइनँ । दिदीहरूको कारण हाम्रो चर्चा झ्यांगिन थालेपछि एकदिन मैले उनलाई सोधेँ, ‘के हो कुरा, हामी साँच्चै विवाह गर्न सक्छौं त ?’ उनले घरमा सोध्नुपर्छ भन्ने जवाफ दिइन् ।

सम्बन्धबारे आपसमा कुरा भएपछि हामी डेटिङ जान थाल्यौं । तर, अचेलको जस्तो दुईजना मात्र होइन । डेटिङ जाँदा कहिले उनको साथी, कहिले मेरा साथीहरू साथै हुन्थे ।

त्यो ०४३–४४ सालतिर अन्तरजातीय विवाहका लागि हाम्रो समाज आजको जस्तो उदार थिएन । उनी फेरि सेनाको कर्णेलकी छोरी रहिछन् । पछि उनी चितवन (घर) गइन् । उनले विवाहका लागि घरबाट अनुमति मिलेन भन्ने खबर पठाइन् । अनि मलाई लाग्यो, यो त खासमा प्रेम नै होइन रहेछ ।

सुरुमा साथी मात्र सम्झेर त्यति ख्याल नगर्दा मलाई वास्तै थिएन । तर, हामीबीच बिहेबारीसम्मको कुरा हुन थालेपछि म त प्रेम मानेर एकोहोरिन थालिसकेको थिएँ । भर्खर २४ वर्षको पट्ठो थिएँ । दुखेको मन पोख्दै मैले उनलाई अन्तिम चिठी लेखेँ–

प्रिय अस्मिता,
अशेष प्यार ।
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू ।

– तिम्रो वीरेन ।

चिठीको जवाफ आएन । सम्बन्धको धागो त्यत्तिकै चुँडियो । चिठीका ती पंक्तिलाई पछि मैले गीतको रूपमा लेखेँ । गीत ०४५/४६ सालतिर सुरेश अधिकारीको स्वर र संगीतमा रेकर्ड भएर रेडियोमा बज्न थाल्यो । रेडियो नेपालको फर्मायशी कार्यक्रममा निकै बजिरहन्थ्यो ।

अकस्मात् एक दिन नेपाल टेलिभिजनमा अस्मिताले बागबजारमा झुन्डिएर आत्महत्या गरेको खबर आयो । ०४७ सालको घटना हो यो । मैले गीतमा आफू मर्ने कुरा लेखेको थिएँ, उनको मृत्युको खबर सुन्नुपर्‍यो  ! आत्महत्या गर्दा उनले आफ्नो लुगाभित्र मैले लेखेका चिठी, मसँग खिचाएका फोटोहरू राखेको भेटिएछ । उनले ‘यो जुनीमा त तिम्रो हुन सकिनँ, अर्को जुनीमा हुने वाचाका साथ बिदा’ भन्ने आशयसहितको आफ्नो अन्तिम चिठी पनि छाडेकी रहिछन् ।

रेडियोमा ‘म मरेको पल’ गीत बज्ने क्रममा उनले पनि सुनेकी रहिछन् । गीत सुनेर व्यग्र भए पनि परिवार नमानेकाले फर्किएर आउने हिम्मत गर्न नसकेको र आफू अरु कसैको हुन नसक्ने देखेपछि आत्महत्या गरेको कुरा पनि उनले चिठीमा लेखेकी थिइन् ।

खासमा उनी पनि मलाई अति नै प्रेम गर्थिन् । तर, आफ्नो परिवार र समाजसँग जुध्न सकिनन् । बीचमा उनले घर–परिवारमा के–कस्तो अवस्थाको सामना गर्नुप¥यो, फोन सम्पर्कको माध्यम नभएकाले मैले बुझ्न पनि पाइनँ ।

उनको मृत्युपछि निकै विरही भएर काठमाडौंका सडकहरूमा भौंतारिएँ । उनी नमरेकी भए हाम्रो विवाह हुन पनि सक्थ्यो होला, समयको लेखा न हो । मैले लेखेका सयौं गीतका पाठक र श्रोता बन्थिन् । केटीहरूप्रतिको मेरो उदासीनताका कारण मैले समयमै उनको प्रेम चिन्न सकिनँ ।

‘लभ ट्राजेडी’ को पराकाष्ठा हो यो गीत । रेडियो नेपालको गीतिकथामा हरिभक्त कटुवालले लेखेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ पछि यो गीत बढी बज्थ्यो । यसमा गर्व लाग्छ । रेकर्ड भएका मेरा चार सयजति गीतमा यही गीतले मलाई बढी चिनाएको छ ।

०५१ सालमा मैले भोजपुरकी तारा राईसँग बिहे गरेँ । उनी कवि/गीतकार भूपाल राईकी दिदीकी छोरी हुन् । भोजपुरमा जाँदा उनीमाथि आँखा परेपछि मागी बिहे नै भएको हो । बिहेपछि श्रीमतीलाई मेरो विगतको प्रेम भन्दै अस्मिताको कुरा सुनाएको थिएँ । त्यसैले श्रीमती सामान्य ठाकठुक परेको बेला अझै पनि ‘आखिरमा म त कान्छी पो रै’छु’ भनेर गुनासो जस्तो गर्छिन् ।

म भने विगतको प्रेम र दुःखद घटना सम्झेर भक्कानिन्छु ।

  • गीत: म मरेको पल

म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ, ढलाइदिन सक्छौ
आश्वासनको वाचा बदलिदिन सक्थ्यौ, भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिँजडा कैदी छ यो मन
म मरेको पल …

व्यथालाई समेटी विस्मृतिमा भुल्छु, उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रम्छु, तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने’नि के भो
म मरेको पल …

रचना : वीरेन्द्र राई
स्वर/संगीत : सुरेश अधिकारी


About Author
-मानसखण्ड